७ वैशाख २०८१ शुक्रबार
अर्थ

चरालाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘थ्रेट’

विमानस्थललाई पनि चराको थ्रेट उस्तै छ

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल । तस्बिरः उमेश पुन÷नागरिक

विकासले विनास पनि सँगसँगै लिएर आउँछ । विकासकै कारण धेरैतिर विनास पनि भएका छन् । पछिल्लो समय सडक सञ्जाल बिस्तारको क्रममा जथाभावी खनिएको सडकले वर्षातमा पहिरोको जोखिम बढाएको छ । यस्तै ठुला विकासले पर्यावरणमा समेत गम्भीर असर पुर्याउने अध्ययनले देखाएको छ ।  

चारदशकको पर्खाइपछि पोखरा महानगरपालिका–१४ छिनेडाडाँमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधिन छ । विमानस्थलको निर्माण सकिन पनि थालेको छ । विमानस्थल निर्माण भएसँगै त्यहाँको पर्यावरण जोगाउन भने चुनौती थपिएको छ । विमानस्थल क्षेत्र कुनैबेला चराचुरुंगीको बासस्थान थियो । अहिले विमानस्थल निर्माले चराहरुको पुरानो बासस्थान साँघुरिदैं जादाँ चराचुरुंगी लोप हुने खतरा बढेको छ । अर्कोतिर चराकै कारण हवाई दुर्घटनाको जोखिम बढाएको विज्ञहरु बताउँछन ।  

चराबारे जानकार राख्नेहरुका अनुसार ४० वर्ष अघि छिनेडाँडा चराहरुको बासस्थल हो । खुला ठाँउ थियो । सिंचाईको नहर छ । नजिकै विजयपुर खोला छ । खोला र नहरमा बगेर आउने जीवजन्तु चराचुरुंगीको आहारा हुन्थ्यो । ठूला सिमलका रुखहरु थिए । अहिले पनि नहर छ । खोला छ । तर फाँट भने छैन । फाँटको आधाजसो भागमा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसहित पूर्वाधार बनेका छन । आधा जसो त घडेरीमा परिणत हुदैं घर बनेका छन् ।  

विमानस्थल निर्माणअघि बनाइएको बातावरणीय प्रभाव मूल्यांकनले छिनेडाँडा क्षेत्रमा विभिन्न संकटापन्न चराहरु पाईने भएपनि उल्लेख गरिएको छैन् । संकटापन्न चरामध्ये बढी गिद्धहरु छन् । ‘पाँचवर्षको अध्ययनमा पोखरा–१४ छिनेडाडाँमा १६४ प्रजातिका चराहरु पाईन्छन्,’ पंक्षी समाज पोखराका सचिव हेमन्त ढकालले भने, ‘बनिरहेको अन्तर्राष्ट्रिय विमानस्थल पहिला फाँट थियो । सिमलका रुखहरु थिए । ती सबै विनास भए । चराका बासस्थान नै हट्यो ।’ एउटा रुख काटेपछि दशवटा नयाँ विरुवा रोप्ने कथन छ । तर सरकारी कथन केवल कथनमै सीमित छ ।’  

उनका अनुसार छिनेडाँडामा देखिने ठेउवा चरा अहिले देखिदैन् । छिनेडाँडा वरिपरी ती चरा भेटिन्थे । विमानस्थल बनेसँगै चराहरुको बासस्थान अन्यत्र सार्नुपर्छ । चराहरुलाई अन्यत्र आकर्षण गर्नुपर्छ । अन्यथा दुर्घटनाको सम्भावना रहन्छ ।

‘चराकै कारण हवाई दुर्घटना हुन्छ । धपाउने हो । सम्भव नभए अन्तिम विकल्प गोली हानेर चरा मार्ने हो’ उनले भने, ‘विमानस्थल निर्माणसँगै चराचुरुंगी संरक्षण गर्न बासस्थान सार्ने तर्फ ध्यानदिनुपथ्र्यो, तर, त्यतातर्फ कसैले ध्यान दिएको देखिन्न ।’ 

संकटापन्न चरा संरक्षण गर्न सरकारले चासो देखाएपनि विमानस्थल निर्माणपछि निम्त्याउने असर र प्रभावलाई भने सरकारले ख्याल गर्न नसकेको ढकालले बताए । उनका अनुसार विशेष गरी गिद्धहरु बढी जोखिममा पर्छन् । डंगर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध संकटापन्न अवस्थामा छन् । ती गिद्धको बासस्थान नै विजयपुर खोला आसपास हो । एकैदिन ३५० को संख्यामा गिद्धको गणना गरिएको छ । पोखरामा पछिल्लो समय कालो चिल बढी देखिन्छ । कालो चिल बढी देखिनुको मुख्य कारण प्रदुषणको संकेत हो । हवाई उडानमा समेत यस्ता चराले जोखिम निम्त्याउने उनको बुझाई छ ।  

विमानको उडान र अवतरण पनि खोलाकै किनार नजिकैबाट हुन्छ । खोला किनारमा चराको बासस्थान बढी छ । विमानस्थल निर्माण गर्दादेखि नै समस्या धेरै देखिएको उनले बताए । ‘समस्या भएसँगै सुधार्नुपर्ने थियो । पाँच वर्षपछि योजना कार्यान्वयनमा नआए अर्को वर्ष फेरी बातावरणीय प्रभाव सम्बन्धी अध्ययन हुनुपर्छ । तर अध्ययन नभईकनै विमानस्थल निर्माण शुरु गरिएको उनले बताए । ‘भविश्यमा विमानस्थलकै कारण चरा र चराकै कारण विमानस्थल सञ्चालनमा अप्ठ्यारो पार्न सक्छ,’ पंक्षी समाजका सचिव ढकालले भने, ‘संरक्षण परियोजना एकातिर हुन्छ । अर्कोतिर विमानस्थलमा चरा देखिए धपाउन नभए मार्ने नै हो ।’  

छिनेडाँडा क्षेत्र चराचुरुंगी उड्ने पुरानो रुट हो । गिद्धहरु विशेष गरी छिनेडाडाँ, विरौटा र लाहाचोक क्षेत्रमा बढी पाईन्छन् । चराहरु छिनेडाँडाकै रुट भएर उड्दा भोलि विमानस्थल सञ्चालनपछि ती चराहरु नआउन सक्छन् ।

नेपाल चरासँग विमान दुर्घटना हुने उच्च जोखिमको देशमा गनिन्छ । सन १९९० देखि २०१३ को तथ्यांक अनुसार नेपालमा ६६ वटा दुर्घटना भएका छन् । चराहरु जहाजमा  ठोक्किँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ । ठुलो चराकै कारण मात्रै नभई साना चराले पनि दुर्घटना निम्त्याउँछ । विजयपुर तीरबाटै उडान हुन्छ । खोलाको खोँच नै चराको बासस्थान हुन् । जाडो याममा तातो बाफ आएपछि चराहरु उड्न शुरु गर्छन् । प्राय दुर्घटना उडान र अवतरणमै हुने गरेको छ । खासगरी उडान र अवतरणको समयमा बढी दुर्घटना हुने गरेको छ । ‘५ सय फिट तल ७३ प्रतिशत दुर्घटना भएको तथ्यांक छ,’ उनले भने, ‘२५ सय फिट मुनि ९४ प्रतिशत दुर्घटना भएको तथ्यांकले देखाउँछ ।’ गोमायु महाचिल छिनेडाँडाकै रुट भएर उडेको अध्ययनले देखाएको छ ।  

विमानस्थल बनाईरहँदा ल्याण्डफिल साईट हटाउनुपर्ने थियो । ल्याण्डफिल साईट मात्रै हटाएर नहुने भएकोले चरालाई समेत अन्यत्र आकर्षण गराईनुपर्ने उनको भनाई थियो । ‘एयरपोर्टको आसपासमा गुँड बनाएका चरा विस्थापित हुन्छन्,’ उनले भने, ‘ध्वनी प्रदुषणले चरा आउन छोड्छन् । कति चरा विस्थापित हुन्छन भने कति लोप हुन्छन् । त्यसको लागि अध्ययन गर्नैपर्छ ।’ उनका अनुसार माइग्रेसन चराहरु आउँदैनन् । फेरी नआउन सक्छन् । आगमन पनि कम हुन्छ । 

प्रकाशित: २५ असार २०७८ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App