२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवामा उत्पादन हुन थाल्यो चीज

कोभिड सङ्क्रमणको असरले उत्पादन कार्य बन्द रहेको रसुवाका चीज केन्द्र पुनः सञ्चालनमा आएको छ। उत्तरी क्षेत्रको लाङ्टाङ, गतलाङ, चन्दनबारी एवं धुञ्चेलेकमा रहेका चीज उत्पादन केन्द्र यही असार १ गतेबाट सञ्चालनमा ल्याएसँगै दुई हजार १२१ किलो चीज उत्पादन भएको छ।

चीज उत्पादनको काम गत वैशाख १ गतेदेखि नै सञ्चालनमा ल्याउनुपर्ने तयारी भए पनि कारोनाको असर एवं कोरोना सङ्क्रमणकै कारण धुञ्चे केन्द्रका प्रमुख जीतबहादुर जिरेलको निधन र स्थानीय प्रशासनको जारी निषेधाज्ञाले गर्दा उत्पादन कार्य अगाडि बढाउन दुई महिना ढिलाइ भएको बताइएको छ।  

आफ्ना सहकर्मीको निधनले त्रसित भएका चीज उत्पादन गर्ने कर्मचारीको त्रास क्रमशः घट्दै गएको र चौँरीगाईले धेरै दूध दिने समयसमेत भएकाले चीज तथा मखन उत्पादन कार्य तीव्ररूपमा अगाडि बढेको लाङ्टाङ केन्द्रका प्रमुख ग्याल्वो तामाङले बताए।

दुग्ध विकास संस्थानअन्तर्गत यहाँका चार चीज उत्पादन केन्द्रमा दूध आपूर्ति गर्ने चौँरीगाईको सङ्ख्या एक हजार ९०० रहेको छ। दैनिकरूपमा दुई हजार १५० लिटर दूध सङ्कलन हुने गरेको चीज केन्द्रका प्रमुखले जानकारी दिएका छन्। धुञ्चे केन्द्रका नयाँ प्रमुख रामबरस ठाकुर, गतलाङका क्षेत्रबहादुर तामाङ एवं चन्दनबारी केन्द्रका गोविन्द्रबहादुर गुरूङ रहेका छन्। दूध आपूर्ति गरेवापत फ्याटको हिसाबमा प्रतिलिटर १०० पाउने र ८७ किसान लाभान्वित भइरहेको बताइन्छ।

तीन महिना मात्र सञ्चालनमा ल्याउने दुग्ध विकास संस्थानको निर्देशनअनुरूप चन्दनबारी केन्द्रले सात हजार केजी चीज र एक हजार पाँच सय किलो मख्खन, लाङ्टाङ केन्द्रले छ हजार किलो चीज र दुई हजार किलो मख्खन उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको छ। यसैगरी धुञ्चे केन्द्रले आठ हजार किलो चीज र दुई हजार ४०० किलो मख्खन उत्पादनको लक्ष्य लिएको छ। गतलाङ केन्द्रले भने लक्ष्यबेगर चीज तथा मख्खन उत्पादन गरिरहेको कार्यरत केन्द्र प्रमुख तामाङले जानकारी दिए।

प्रकाशित: २४ असार २०७८ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App