१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरा महानगरभित्रबाट वर्षमा २ लाख ९१ हजार घनमिटर नदीजन्य बस्तु निकालिन्छ

महानगरभित्र ३३ वटा घाट

रामघाट

पोखरा महानगरपालिकाभित्र ठूला र साना ३३ वटा घाट छन् । ती खानी तथा घाट राजस्व उठाउने महानगरपालिकाको आन्तरिक स्रोत हुन् । खानी तथा घाट उत्खनन् गर्न टेण्डर आह्वान मार्फत महानगरपालिकाले वर्षेनी राजस्व उठाउँदै आएको छ । घाटहरुबाट महानगरले वार्षिक २० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गर्दैै आएको छ ।  

पोखरा महानगरका साना तथा ठूला नदी, खोला खोल्सा आम्दानीका स्रोत हुन् । वर्षेनी खोलानाला एवं नदीजन्य उत्खनन गरी महानगरपालिकाले आन्तरिक स्रोतको रुपमा परिचालन गर्दैै आएको छ । वर्षायामको केही महिना खानी तथा घाट बन्द हुन्छन् । बाढीकै कारण घाट तथा खानी सञ्चालनमा आउदैनन् । वर्षा कम हुने वित्तिकै महानगरपाकिाले घाटहरुलाई उत्खननको लागि टेण्डर आह्वान गर्दै उत्खननको जिम्मेवारी दिदैं आएको छ ।  

‘महानगरपालिकाभित्र ३३ वटा साना ठूला घाटहरु छन्,’ पोखरा महानगरपालिकाका वरिष्ठ कर अधिकृत गणेश पाण्डेले भने, ‘घाटहरु नै महानगरको आन्तरिक स्रोत हुन् ।’ ती घाटहरुलाई वर्षेनी महानगरपालिकाले टेण्डर आह्वान गर्दै उत्खननको जिम्मेवारी दिने गरेको उनले बताए । प्रत्येक दुई–दुई वर्षमा प्रारम्भिक वातावरणीय परीक्षण(आइइ) प्रतिवेदन गरिन्छ । प्रतिवेदनकै आधारमा महानगरपालिकाले टेण्डर आह्वान गरेर प्रतिवेदनले तोकेअनुसार उत्खनन गर्न दिदैं अएको छ । यद्यपी ठेकेदार कम्पनीले भने तोकिएको मापदण्ड भन्दा बढी नै उत्खनन गर्ने गरेका छन् ।  

नदीजन्य बस्तुको मुख्य स्रोत नै सेती नदी हो । नदीमा मिसिने साना खोलाहरु पनि नदीजन्य बस्तु उत्खनन हुदैं आएको छ । पानीको बहाव कमभएसँगै उत्खनन शुरु हुन्छ । महागनरपालिकाको तथ्यांक अनुसार एकवर्षमा २ लाख ९१ हजार घनमिटर ढुंगा, बालुवा तथा गिट्टी उत्खनन् गर्न सकिन्छ ।  क्षेत्रगत आधारमा सेती नदीले बनाएको सबैभन्दा ठूलो घाट रामघाट हो । रामघाटबाट वार्षिक ७७ हजार २८० घटमिटर नदीजन्य बस्तु उत्खनन योग्य रहेको महानगरको ठम्याई छ । सबैभन्दा कम उत्खनन गर्न सकिने सेती नदीकै रातोपहिरो घाट हो । रातोपहिरो घाटबाट केवल ६ सय २५ घनमिटर नदीजन्य बस्तु उत्खनन गर्न सकिने तथ्यांक छ ।  

लेखनाथ क्षेत्रमा मात्रै १२ वटा घाट छन् । पशुपति, पशुपति घुमाउरेघाट, मुसेटुडो सैनिक, शिशौघारी, लामगादी, चमेरे, गढीघाट, तल्लोपुँडी, उपल्लोपुँडी, रातोपहिरो खोरीघाट छन् । ती घाटहरुबाट ९३ हजार ६ सय ९५ घनमिटर नदीजन्य बस्तु उत्खनन गर्न सकिने तथ्यांक छ । पोखरा–१९ र २५ वडाको सीमामा नौवटा घाट छन् । दुवै वडामा सीमा पर्ने ढाव, मर्दीलस्ती दोभान, दशखेत, तुलसीतारा, पुरन्चौर ढोडिनी, रुद्रमहादेव, सहस्रधारा, गोस्ते लामाचौर घाट छन् । ती घाटहरुबाट ९९ हजार ८८७ दशमलव ५ घटमिटर उत्खनन गर्न सकिने तथ्यांक महानगरले देखाएको छ ।  

त्यस्तै पोखरा–२५ हेमजा र पोखरा–१६ बाटुलेचौर सीमामा तीनवटा घाट छन् । तल्लो गोस्ते घाट, गजरे घाट र याम्दी घाट हुन् । त्यसैगरी पोखरा–१ र १६ वडामा पर्ने एउटा लालटेन बजार घाट छ । पोखरा महानगरपालिका–१३ मा विजयपुर खोला घाट, २१ मा द्वार कस्यार घाट र पोखरा २५ हेमजामा सुईखेत घाट छन् । त्यस्तै पोखरा १४ र २१ सीमामा भेडिफाराम घाट पर्छ । पोखरा १३ र १४ मा गाँउखर्क ओखलढुंगा घाट छ । ३ र ११ वडाको सीमा नारायणस्थान घाट र पोखरा ९, १० र ११ को सीमालाई जोड्ने रामाघाट छ । रामघाट क्षेत्रफलको हिसाबले पनि सबैभन्दा ठूलो घाटको रुपमा रहेको छ । गतवर्ष यस घाटबाट महानगरपालिकाले ५ करोड ४८ लाख ६८ हजार ८ सय रुपैयाँमा नदीजन्य बस्तु उत्खनन गर्न टेण्डर आह्वान गरेको थियो । 

प्रकाशित: २२ असार २०७८ १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App