१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पासमा विचौलिया,भाडा तेब्बर असुली

फाइल तस्बिर

कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिएपछि बन्द गरिएको यातायात क्षेत्र सञ्चालनका लागि नेपाल सरकारले तत्काल कुनै निर्णय गरेको छैन। बाँकेमा स्थानीय प्रशासनले पनि आन्तरिकबाहेक बाह्य यातायात सञ्चालन खुला गरेको छैन तर बाँकेबाट निर्वाधरुपमा यात्रुबहाक गाडीहरु सञ्चालन भइरहेका छन्। ट्राफिक प्रहरीका अनुसार दैनिक एक सयभन्दा बढी यात्रुबहाक सवारीसाधन बाँकेबाट बाहिरिन्छन्।

अधिकांशसँग अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन अनुमति दिएको उल्लेख छ। केही गाडी धनीहरुले कहाँबाट, कसरी पास आउँछ थाहा नभएको बताउँछन्। विचौलियामार्फत पास आउने हुँदा आफूहरु अनविज्ञ भएको उनीहरुका भनाइ छ। पास लिन झन्झटिलो हुँदा गाडी धनी विचौलियासम्म पुग्छन्। विचौलियाले मिलोमतोमा सहजै पास उपलब्ध गराइदिने गरेका छन्। ‘नेपालगन्जबाट सुर्खेत जानलाई पास छ। यताबाट मान्छे लिएर जान्छु उताबाट आउँदा खाली फकिन्छुँ,’ एकजना फोर्स गाडीका चालकले भने, ‘पास कहाँबाट कसरी आयो थाहा छैन।’ 

विचौलियालाई पास उपलब्ध गराइदिएवापत पाँच हजार रूपैयाँ दिएको उनी बताउँछन्। अत्यावश्यक काम, विशेष काम, कामदार, बिरामीका लागि सम्बन्धित जिल्लाले सहमति दियो भने उक्त सहमतिअनुसार गाडी सञ्चालन गर्न अनुमति स्थानीय प्रशासनले पनि दिन्छ। अर्काे नेपाल–भारत सीमा जमुनाह नाकामा स्थापना गरिएको होल्डिङ सेन्टरले अलपत्र परेका नागरिकका लागि गन्तव्यमा जान अनुमति दिन्छ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता दीर्घराज उपाध्यायले जिल्ला प्रशासन कार्यालयले पास (अनुमतिपत्र) दिन छाडेको बताए। अहिले जिल्लामा आन्तरिक यातायात जोर बिजोर प्रणालीमा सञ्चालन गरेको भन्दै उनले भने, ‘सरकारले निर्णय नगर्दासम्म यातायात पूर्णरुपमा सञ्चालन हुन सक्दैन।’ अहिले सम्बन्धित जिल्लाले सहमति दिने र सोहीअनुसार गाडीले सञ्चालन अनुमति पाउने गरेको उनी बताउँछन्। विदेशबाट आएर अलपत्र परेको, बिरामी भएका नागरिकलाई चढ्नलाई मात्र गाडी सञ्चालनका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) श्यामकृष्ण अधिकारीले जनाए। ‘कोही भोकै छ। केही बिरामी छन्। 

सबैलाई रोकेर साध्यै छैन,’ उनी भन्छन्। सरकारले गाडी सञ्चालनका लागि अनुमति दिएको छैन। यस्तो अवस्थामा ठेलमठेल यात्रु हालेर यातायातका साधन सञ्चालन भइरहेका छन्। प्रहरी भने जरिवाना मात्र काट्ने। त्यस्ता गाडीलाई रोक्न सक्दैन किन ? भन्ने नागरिकको प्रश्नमा उनले भने, ‘अहिले मान्छेलाई कोरोनाभन्दा भोकको डर छ। मान्छेले आफैँ बुझे पनि हुने हो। मास्कसमेत लगाउँदैनन्। कतिलाई रोकेर साध्य छ।’ भर्खरै जिल्ला आएका बाँकेका प्रहरी प्रमुख अधिकारीले आफूले यहाँको विचौलिया रोक्ने प्रतिबद्धता जनाएका थिए। तर उनी आएको साता दिनमै गाडीको पासमा विचौलियाको चलखेल बढेको छ।

होल्डिङ सेन्टरमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानसहित दुईजना नेपाली सेना हुन्छन्। यातायात व्यवसायी पनि जमुना नाकामा सक्रिय हुने गरेका एकजना प्रहरी अधिकारीले जनाए। ‘यातायात व्यवसायीले पालैपालो पास दिनुहुन्छ,’ उनले भने, ‘सोहीअनुसार हामी इन्ट्री गर्छाैं।’ पहिला दैनिक ३० वटासम्म यातायातका साधन छुट्ने गरेका थिए। अहिले बिस्तारै निषेधाज्ञा खुकोलो बनेपछि यातायातका साधान सञ्चालनमा पनि वृद्धि भएको होल्डिङ सेन्टर जमुनाहका प्रहरी सहायक निरीक्षक पृथ्वी बुढाले बताए। 

उनका अनुसार अहिले दैनिक ५० वटासम्म यातायातका साधनले गाडी सञ्चालनका लागि प्रमाणित कागज लिन्छन्। उक्त प्रमाणिकरणका लागि यातायात व्यवसायीले होल्डिङ सेन्टरमा पैसा तिर्नु पर्दैन। यातायात व्यवसायी समिति, गाडी साहुँले बसपार्कबाट कुपन ल्याउँछन् सोही आधारमा होल्डिङ सेन्टरबाट प्रमाणित हुने उनको भनाइ छ।

महँगो भाडा

विचालियाको मिलोमतोमा पास पाएपछि यातायात व्यवसायीले यात्रुबाट तेब्बरभन्दा बढी भाडा असुल्ने गरेका छन्। नेपालगन्जबाट दाङ, सुर्खेत, धनगढीका लागि सात सयदेखि १५ सयसम्म भाडा असुल्ने गरेका छन्। यी जिल्लाका लागि यसभन्दा पहिला यातायात व्यवसायीले तीन सयदेखि पाँच सयसम्म भाडा लिने गरेका थिए। ‘जाँदा यात्रु लिएर जान्छौं। आउँदा खाली आउनुपर्छ,’ नेपालगन्जदेखि दाङ जाँदै गरेका एक गाडी चालकले भने, ‘त्यसमा पनि विचौलियालाई पासको पैसा दिनुपर्छ त्यसैले यात्रुबाट बढी पैसा लिन्छौं।’

नेपाल–भारत सीमा जमुनाह नाकास्थित होल्डिङ सेन्टरले यातायात व्यवसायीलाई दिएको अनुमतिपत्र। तस्बिरः गणेश/नागरिक

प्रकाशित: २० असार २०७८ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App