८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोसीबाट असार २१ देखि बिजुली

बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट असार २१ देखि ७६ मेगावाट बिजुली उत्पादन हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले असार १३ देखि आयोजनाको पहिलो युनिटको परीक्षण गरिरहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा गएको टोलीले आइतबार र सोमबार आयोजनाको निर्माणस्थलको अनुगमन गरेर आगामी सोमबारदेखि विद्युत् उत्पदान गर्ने कार्यतालिका तय गरेको हो।  

टोलीले विद्युतगृहमा भइरहेको उपकरण परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यू खिम्ती सबस्टेसन लगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीसँग छलफल गरेको थियो। ‘विभिन्न समस्या झेल्दै आएको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन गर्ने अवस्थामा पुर्‍याएका  छौं, सम्पूर्ण परीक्षण अन्तिम चरणमा पुगेका छन्, अब कुनै प्राविधिक समस्या नआए सोमबार बिहान स्विच अन गरी पहिलो युनिबाट उत्पादन सुरु गर्छौं,’ कार्यकारी निर्देशक शाक्यले भने।  

जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायत सिभिल संरचनाहरू र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको सबै प्रकारको परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। विद्युतगृहमा पहिलो युनिटको परीक्षण भइरहेको छ। आयोजनाबाट उत्पादित बिजुली गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ। यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भई परीक्षण भइरहेको छ।  

७६ किलोमिटर खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ। माथिल्लो तामाकोसीको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिने छ। खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ। ‘सबस्टेसनको परीक्षणका लागि केही दिन लाग्ने देखिएकोले हाललाई वैकल्पिक व्यवस्था गरी आयोजनाको विद्युत् न्यू खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ’, शाक्यले भने, ‘यसका लागि आवश्यक प्रबन्ध गरिसकेका छौं।’  

सबस्टेसन निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत् न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ। सबस्टेसन १५ दिनभित्र सञ्जालनमा आउने छ।  

आयोजनाको साइट कार्यालय, आयोजना स्थलसम्मको पुहँच सडक, पुललगायत पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष ०६२/६३ मा र मुख्य संरचनाको निर्माण आर्थिक वर्ष ०६७/६८ मा सुरु भएको थियो। २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पन एवं बाढीपहिरोले पुर्‍याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो।  

लट २ को ठेक्का भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङले पाएको थियो। कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायत हाइड्रोमेकानिकल उपकरण उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।  

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रूपमा विश्वभर फैलिएको कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो।  

लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो । उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व, आयोजनामा खटिएका कर्मचारी, ठेकेदार कम्पनीहरू, स्थानीय बासिन्दाहरूलगायत सबैको अथक प्रयास र सहयोगमा आयोजना विद्युत उत्पादन गर्ने अवस्थामा पुगेको छ। आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रूपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो।  

प्रकाशित: १६ असार २०७८ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App