६ वैशाख २०८१ बिहीबार
अर्थ

किसानलाई रोपाइँ चटारो, सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ

मनसुन चाँडै भित्रनु र निषेधाज्ञाले फूर्सदिला किसानले चाँडै धानको ब्याड राखेका कारण अन्य वर्षको तुलनामा यसवर्ष सुदूरपश्चिम प्रदेशमा रोपाइँ चाँडै भएको छ। असार १५ रोपाइँ दिवसका दिनसम्म सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाइँ सकिएको प्रदेश कृषि निर्देशनालय दिपायलले जनाएको छ।  

‘मनसुन चाँडै भित्रनु र सिँचाइ सुविधा पनि विस्तार गरिएका कारण विगतका वर्षभन्दा यसवर्ष चाँडै रोपाइँ सुरु भएको छ,’ प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशीले भने, ‘सिँचाइ सुविधा विस्तार भएका कारण पनि किसानलाई यसवर्ष रोपाइँ गर्न सहजता भएको हो।’

सुदूरपश्चिम प्रदेशमा १ लाख ८५ हजार ८ सय ४७ हेक्टर जमिनमध्ये रोपाइँ हुँदै आएकोमा करिब ५० प्रतिशत जमिनमा रोपाइँ भइसकेको प्रदेश कृषि निर्देशनालय दिपायलले जानकारी दिएको छ।  

सुदूरपश्चिम प्रदेशमा धानको उर्वरभूमि मानिने कैलाली र कञ्चनपुरमा भने कम रोपाइँ भएको छ। अहिलेसम्म कञ्चनपुरमा सबैभन्दा कम ३५ प्रतिशत रोपाइँ भएको छ भने कैलालीमा ५५ प्रतिशत रोपाइँ भएको प्रदेश कृषि निर्देशनालयको तथ्याङ्कले बताउँछ।

कञ्चनपुरमा ४८ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म १६ हजार ९ सय ६६ दशमलव ३ हेक्टर जमिनमा  रोपाइँ गरिसकिएको छ। यस्तै कैलालीमा ७० हजार पाँच सय ३० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म ३८ हजार ७ सय ८६ हेक्टर जमिनमा रोपाइँ भएको छ। पहाडी जिल्ला दार्चुलामा सबैभन्दा बढी ६२ प्रतिशत रोपाइँ भएको प्रदेश कृषि निर्देशनालयको तथ्याङ्क रहेको छ।

४ हजार ४ सय ८० हेक्टर जमिनमा धान खेती हुने दार्चुलामा दुई हजार २४ हेक्टरमा रोपाइँ सकिएको छ। अछाम, बझाङ र बैतडीमा ४५/४५ प्रतिशत रोपाइँ भएको छ। अछाममा धान खेती हुने १६ हजार ५ सय ९० हेक्टरमा ७ हजार ४ सय ६५ दशमलव ५ हेक्टर, बझाङमा १२ हजार ७ सय ४ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा अहिलेसम्म ५ हजार ७ सय १६ दशमलव ८ हेक्टरमा रोपाइँ सकिएको छ  भने बैतडीमा धान खेती हुने ९ हजार हेक्टरमध्ये ४ हजार ५० हेक्टरमा रोपाइँ भएको कृषि निर्देशक जोशीले जानकारी दिए।

बाजुरामा अहिलेसम्म ५५ प्रतिशत रोपाइँ सकिएको छ। ७ हजार १ सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती हुने बाजुरामा ३ हजार ९ सय ४६ दशमलव ३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। यस्तै डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सकिएको तथ्याङ्कले देखाउँछ। डडेल्धुरामा ६ हजार १ सय ८८ हेक्टरमा धान खेती हुने गरेको छ, जसमध्ये अहिलेसम्म ३ हजार ७ सय १२ दशमलव ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। १० हजार ७ सय १५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको डोटीमा अहिलेसम्म ४५ हजार दशमलव ३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।  

कैलाली र कञ्चनपुर सिञ्चित क्षेत्रसँगै असिञ्चित क्षेत्रमा पनि असार नलाग्दै पानी परेका कारण धान रोपाइँ चाँडै भएको छ।  किसानले चाँडै बीउ राखेको र मनसुन चाँडै भित्रिएका कारण पनि रोपाइँ चाँडै भएको हो। मनसुन यही गतिमा भइरहेमा यस वर्ष अन्य वर्षको तुलनामा धान फसल राम्रो हुने कृषि विज्ञहरु बताउँछन्।

प्रकाशित: १५ असार २०७८ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App