१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

प्राथमिकतामा स्वास्थ्य, कृषि र पूर्वाधार

कोभिड–१९ रोकथाम तथा नियन्त्रणसँगै स्वास्थ्य, कृषि र पूर्वाधारलाइ विशेष जोड दिएर रूपन्देहीका १५ वटा स्थानीय तहले १२ अर्बभन्दा बढीको बजेट ल्याएका छन्। बुटवल उपमहानगर सहित ६ नगरपालिका र ९ गाउँपालिकाले १२ अर्ब २१ करोड ५० लाखको बजेट बिहीबार सार्वजनिक गरेका हुन्। जिल्लाको एउटा गाउँपालिकाले बजेट ल्याएको छैन।

रूपन्देहीमा एउटा उपमहानगरसहित ६ नगरपालिका र १० गाउँपालिका छन्। ओमसतिया गाउँपालिकाले बजेट ल्याउन सकेन। पालिकाका जनप्रतिनिधिबीच विवाद भएपछि बजेट रोकिएको हो।

सबैभन्दा धेरै बुटवल उपमहानगरको बजेट छ। उसले २ अर्ब ५३ करोडको बजेट ल्याएको हो। कोभिड १९ महामारीले निम्त्याएको जोखिम र विपतबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवन सहज र सुरक्षित बनाउनु बजेटको पहिलो प्राथमिकता भएको उपमेयर गुमादेवी आर्चायले बताइन्। बजेटले स्वास्थ्यसँगै सीप र स्वरोजगारको क्षेत्रलाई प्राथमिकता दिएको योजना तर्जुमा समितिका संयोजक समेत रहेकी उपमेयर आचार्यले बताइन्। स्थानीय सीप र प्रविधिमा आधारित रोजगारीका अवसर सिर्जना हुने गरी विभिन्न क्षेत्रलाई बजेट विनियोजन गरिएको उनले बताइन्।  

स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको सिद्धार्थनगर नगरपालिकाले १ अर्ब १८ करोड ७९ लाखको बजेट ल्याएको छ। ‘पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा नारा सार्थक बनाउने उद्देश्य बजेटले लिएको उममेयर उमा काफ्लेले बताइन्। तिलोत्तमा नगरपालिकाले १ अर्ब ९८ करोड ७६ लाखको बजेट ल्याएको छ। तिलोत्तमाका उपमेयर जागेश्वरी चौधरीले कोभिड १९ ले निम्त्याएको असर कम गर्दै नगरबासीको जीविकोपार्जनलाई सहज बनाउन स्वास्थ्य, रोजगारी सिर्जना, कृषि, शिक्षा, पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको बताइन्। देवदह नगरपालिकाले पनि कृषि, स्वास्थ्य रोजगारीलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि ९४ करोडको बजेट ल्याएको छ। सैनामैना नगरपालिकाले १ अर्ब २२ करोड र लुम्बिनी सांस्कृतिक नगरपालिकाले ८० करोडको बजेट ल्याएका छन्।  

जिल्लाका ९ वटा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएका छन्। गैडहवा गाउँपालिकाले ६६ करोड ८१ लाख, मायादेवी गाउँपालिकाले ६३ करोड ८७ लाख, कञ्चन गाउँपालिकाले ६३ करोड ३८ लाखको बजेट ल्याएका छन्। सम्मरीमाई गाउँपालिकाले ५३ करोड ४१ लाख, सुद्धोधनले ५७ करोड ८२ लाख, सियारीले ५९ करोड ४८ लाख र मर्चवारीले ५३ करोड ३७ लाखको बजेट ल्याएका छन्। रोहिणी गाउँपालिकाले ५५ करोड ७२ लाख र कोटहीमाई गाउँपालिकाले ४४ करोड ३४ लाखको बजेट ल्याएका छन्। कृषि, स्वास्थ्य शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले बताए। 

प्रकाशित: १५ असार २०७८ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App