२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रुपन्देहीका १५ स्थानीय तहको बजेट १२ अर्ब बढी

प्राथमिकतामा स्वास्थ्य, कृषि र पूर्वाधार

कोभिड–१९ रोकथाम तथा नियन्त्रणसंगै स्वास्थ्य, कृषि र पूर्वाधारलाई विशेष जोड दिएर रुपन्देहीका १५ वटा स्थानीय तहले १२ अर्ब बढीको बजेट ल्याएका छन् । बुटवल उपमहानगरसहित ६ वटा नगरपालिका र ९ वटा गाउँपालिकाले १२ अर्ब २१ करोड ५० लाखको बजेट बिहीबार सार्वजनिक गरेका हुन् । जिल्लाको एउटा गाउँपालिकाले बजेट ल्याएको छैन ।

रुपन्देहीमा एउटा उपमहानगरसहित ६ वटा नगरपालिका र १० वटा गाउँपालिका हुन् । ओमसतिया गाउँपालिकाले बजेट ल्याउन सकेन । पालिकाका जनप्रतिनिधिहरु बीच बजेट बाँडफाँडमा विवाद भएपछि बजेट रोकिएको हो ।

सबैभन्दा धेरै बुटवल उपमहानगरको बजेट छ । उपमहानगरले २ अर्ब ५३ करोडको बजेट ल्याएको हो । कोभिड १९ को महामारीले निम्त्याएको जोखिम र विपतबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवन सहज र सुरक्षित बनाउनु बजेटको पहिलो प्राथमिकता भएको उपमेयर गुमादेवि आर्चायले बताइन् । बजेटले स्वास्थ्यसंगै सीप र स्वरोजगारको क्षेत्रलाई प्राथमिकता दिएको योजना तर्जुमा समितिका संयोजक समेत रहेकी उपमेयर आर्चायले बताइन् । स्थानीय सीप र प्रविधिमा आधारित रोजगारीका अवसरहरु सिर्जना हुने गरी बिभिन्न क्षेत्रलाई बजेट विनियोजन गरिएको उनले बताइन् ।  

स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको सिद्धार्थनगर नगरपालिकाले १ अर्ब १८ करोड ७९ लाख बजेट ल्याएको छ । ‘पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभुमि सिद्धार्थनगरको इच्छा भन्ने नारालाई सार्थक बनाउने उद्देश्य बजेटले लिएको उममेयर उमा काफ्लेले बताइन् । तिलोत्तमा नगरपालिकाले १ अर्ब ९८ करोड ७६ लाखको बजेट ल्याएको छ । तिलोत्तमाका उपमेयर जागेश्वरी चौधरीले कोभिड १९ ले निम्त्याएको असरलाई कम गर्दै नगरवासीको जिविकोपार्जनलाई सहज बनाउन स्वास्थ्य, रोजगारी सिर्जना, कृषि, शिक्षा, पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको बताइन् । देवदह नगरपालिकाले पनि कृषि, स्वास्थ्य रोजगारीलाई प्राथमिकतामा राखेर आगामी वर्षका लागि ९४ करोडको बजेट ल्याएको छ । सैनामैना नगरपालिकाले १ अर्ब २२ करोड र लुम्बिनी सांस्कृतिक नगरपालिकाले ८० करोडको बजेट ल्याएका छन् ।  

जिल्लाका ९ वटा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । गैडहवा गाउँपालिकाले ६६ करोड ८१ लाख, मायादेवि गाउँपालिकाले ६३ करोड ८७ लाख, कञ्चन गाउँपालिकाले ६३ करोड ३८ लाखको बजेट ल्याएका छन् । सम्मरीमाइ गाउँपालिकाले ५३ करोड ४१ लाख, सुद्धोधनले ५७ करोड ८२ लाख, सियारीले ५९ करोड ४८ लाख, मर्चवारीले ५३ करोड ३७ लाखको बजेट ल्याएका छन् । रोहिणी गाउँपालिकाले ५५ करोड ७२ लाख र कोटहीमाइ गाउँपालिकाले ४४ करोड ३४ लाखको बजेट ल्याएका छन् । कृषि, स्वास्थ्य शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको रोहीणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले बताए ।  

ओमसतियामा स्वार्थ बाझिँदा बजेट अन्यौलमा  

बजेट बाँडफाँडमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरु बीच कुरा नमिले पछि ओमसतिया गाउँपालिकाले भने बजेट ल्याउन सकेन । गाउँपालिकाका अध्यक्ष हिरा केवटले एकलौटी रुपमा कार्ययोजना बनाउने, योजना र बजेट बाँडफाँड गर्ने, आयव्यय पारदर्शी नभएको जस्ता आरोप लगाउँदै वडाध्यक्षहरुले नीति कार्यक्रम पास हुनै दिएका छैनन् । जसका कारण र बजेट पनि अनिश्चित बनेको हो । वडा नं. ६ का वडा अध्यक्ष शिवकुमार धवलले आफूहरुसंग छलफल नै नगरी गाउँपालिका अध्यक्षले स्वयच्छाचारी ढंगले कार्यक्रम र बजेट ल्याउन खोजिएकाले बहिष्कार गरेको बताए । 

गाउँपालिका अध्यक्ष केवटले भने वडाध्यक्षहरुले आफ्नै तजविजीमा योजना संचालन गर्ने गरी २ करोड बजेट छुट्याउनु पर्ने माग गरेपछि समस्या भएको बताएका छन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गते भित्र आगामी वर्षको बजेट सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नु पर्ने व्यवस्था छ ।

प्रकाशित: १३ असार २०७८ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App