१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भक्तपुर नगरपालिकाको बजेट १ अर्ब ९३ करोड २० लाखः ४ महिनाको व्यवसाय कर छुट, शिक्षामा १६.३२ प्रतिशत

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को अनुमानित बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको दशौं नगरसभामा उपप्रमुख रजनी जोशीले नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको आन्तरिक स्रोतसमेत गरी आ.व. २०७८÷७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैयाँको बजेट प्रस्तुत गरिन्।

विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार रुपैयाँ (५७.०५ प्रतिशत) र पुँजीगततर्फ रु. ८२ करोड ९७ लाख (४२.९४ प्रतिशत) विनियोजन गरेको छ।  

बजेट वक्तव्यमा कोरोना भाइरस (कोभिड १९) रोगको महामारीको प्रतिकूल अवस्थाका कारण नगरपालिकाले प्रक्षेपण गरे अनुरुप कर अनुमान गरेकोभन्दा कम मात्र उठेको अवस्थामा हरेक क्षेत्रमा मितव्ययीता अपनाई यस आर्थिक वर्षको बजेट निर्माण गरेको उल्लेख छ। साथै कोभिड महामारीको कारण स्थानीय पर्यटन व्यवसायमा नकारात्मक असर परेको अवस्थालाई मध्यनजर गरी आ.व. २०७८।०७९ को सुरु ४ महिनाको व्यवसाय कर छुट दिने व्यवस्था गरेको छ।

वक्तव्यमा ख्वपः अस्पतालको भवन यसै आर्थिक वर्षमा निर्माणको काम पूरा गर्न २० करोड रुपैयाँ विनियोजन गरेको छ । साथै ख्वप अस्पताल र स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन गर्न ३ करोड विनियोजन गरेको छ।

वडास्तरका योजनाहरू संचालन गर्न विगत वर्षझैं आ.व. २०७८/७९ मा पनि प्रतिवडा रु. ५० लाखको दरले जम्मा ५ करोड रुपैयाँ र सडक बोर्ड अन्तर्गतका योजनाहरू सञ्चालन गर्न रु. १ करोड विनियोजन गरेको छ।

बजेट वक्तव्यमा भक्तपुरको ऐतिहासिक न्हु पुखु (रानी पोखरी) र जलेश्वर मन्दिरसहितको भाज्या पुखु पुनः निर्माण कार्यको लागि २ करोड रुपैयाँ, सिद्ध पोखरीको उत्तरतिरको गुह्येश्वरी पाटी पुनः निर्माणका लागि ३० लाख, भनपा वडा नं. ६ स्थित अँचा पोखरी परिसरमा आदर निकेतन संचालनको लागि ५० लाख रुपैयाँ, शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि ६५ लाख, बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न आ.व. का लागि २ करोड ६३ लाख रुपैयाँ र भनपा वडा नं. ८ स्थित लिवाली कभर्ड हल निर्माण कार्यका लागि ३५ लाख रुपैया विनियोजन गरेको छ।  

निर्माणाधीन बाराही पुल यसै वर्ष सम्पन्न गर्ने गरी २ करोड ९४ लाख रुपैयाँ, नगरको फोहर मैला व्यवस्थापन कार्यका लागि ३ करोड ३२ लाख, नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि १ करोड ७० लाख, सुधारिएको शव दाह गृह निर्माणको लागि २५ लाख, खोला सुधार, पर्ती जग्गा संरक्षण तथा सिमांकन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्य लगायतका लागि ४० लाख, ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्टुडियो निर्माणका लागि १० लाख, नगरपालिकाका कर्मचारीहरुको स्वास्थ्य उपचारको लागि १० लाख, भनपा ८ लिबालीमा चिस्यान केन्द्र निर्माण गर्न तथा भनपा ५ मा तरकारी बजार निर्माण गर्न २ करोड ६४ लाख रुपैया विनियोजन गरेको छ।

क्यान्सर, मुटु, मृगौला तथा मस्तिष्कघात जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी विरामीहरूलाई प्रतिव्यक्ति रु. १०,०००।– का दरले सहयोग गर्दै आएकोमा आ.व. २०७८/७९ मा पाँच किसिमको दीर्घरोग क्यान्सर, मुटु, मृगौला तथा मस्तिष्कघात तथा स्पाइनल इन्ज्युरी भएका रोगीहरूलाई प्रति बिरामीलाई रु. ५,००० वृद्धि गरी अबदेखि रु. १५,००० दिने भएको छ।

नगरपालिकाले शैक्षिक ऋण वितरणको लागि रु. २ करोड, पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा र काठमा लाग्ने खर्च र झिंगटीमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ । यसको लागि पनि आवश्यक बजेट विनियोजन गरेको छ।  

विनियोजित बजेटमा शिक्षा क्षेत्रमा कूल बजेटको १६.३२ प्रतिशत छ्ट्याएको छ। त्यस्तै स्वास्थ्य क्षेत्रमा १३.५६ प्रतिशत, सम्पदा संरक्षण तथाविकास निर्माणमा २.७३ प्रतिशत, नवनिर्माण तथा पुनःनिर्माणमा २०.७० प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४.०४ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६.१४ प्रतिशत, युवा तथा खेलकुदको क्षेत्रमा २.४५ प्रतिशत, कृषि क्षेत्रमा १.५२ प्रतिशत र नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि २१.९८ प्रतिशत विनियोजन गरिएको छ।  

साथै नगरभित्रका सामुदायिक विद्यालयहरूमा वालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूको कार्य मूल्यांकन गरी प्रति व्यक्ति प्रतिमहिना रु.४०००।– का दरले थप पारिश्रमिक तथा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत पूर्व प्रावि तहका विद्यार्थीहरूलाई दिवा खाजावापत अनुदान रकम नगरपालिकाको आप्नै स्रोतबाट व्यहोर्ने बन्दोबस्त¬लाई यथावत राखेको छ।

प्रकाशित: १० असार २०७८ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App