७ वैशाख २०८१ शुक्रबार
अर्थ

राउटे समुदायले एकै पटक बुझे ३७ लाख भत्ता

भत्ता बुझ्दै राउटे मुखिया सूर्यनारायण शाही। तस्बिर: नगेन्द्र/नागरिक

जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायले एकै पटक ३७ लाख ४४ हजार रुपैयाँ भत्ता बुझेको छ। संघीय सरकारबाट मासिक रुपमा तीन हजार रुपैयाँ पाउँदै आएको यो समुदायलाई कर्णाली प्रदेश सरकारले थप दुई हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अघिल्लो वर्षको दशैंमा राउटे समुदायको बस्तीमै पुगेर दुई हजार रुपैयाँ भत्ता दिने घोषणा गरेका थिए । उनको घोषणा सात महिनापछि कार्यान्वयन भयो। संघीय सरकारबाट प्राप्त हुने भत्ता पनि चार महिनादेखि राउटे समुदायले पाएको थिएन्।  

प्रदेश सरकारको सात महिनाको दुई हजारका दरले १४ हजार र संघीय सरकारको चार महिनाको तीन हजारका दरले १२ हजार रुपैयाँ एक जना राउटेले प्राप्त गरे। ‘प्रदेश सरकारको सात महिनाको र संघीय सरकारको चार महिनाको जोड्दा प्रतिव्यक्ति २६ हजार रुपैयाँ भत्ता दियौं,’ दैलेखको गुराँस गाउँपालिका–८ का अध्यक्ष हुकुमबहादुर खत्रीले भने, ‘एक सय ४४ जना राउटेका लागि सामाजिक सुरक्षा भत्तावापत ३७ लाख ४४ हजार रुपैयाँ खर्च भयो।’

राउटे समुदाय मंगलबार सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बाट सल्यानको कालिमाटी गाउँपालिका–५ को काल्चेमा बसाई सरेको छ। बस्तीमै पुगेर दैलेखको गुराँस गाउँपालिकाले बुधबार भत्ता वितरण गरेको हो। एकमुष्ट प्रतिव्यक्ति २६ हजार भत्ता पाउँदा राउटे समुदाय खुसी छ। मुखिया सूर्यनारायण शाहीले भत्ता नपाउँदा आफ्नो बस्तीमा जनतालाई खानको समस्या भएको बताए। ‘महिना–महिना भत्ता आइदिए सहज हुन्थ्यो,’ उनले भने, ‘चार–पाँच महिनाको एकै पटक भत्ता वितरण हुँदा अरु समयमा खानको समस्या हुने गरेको छ।’ मुखिया शाहीले कोरोनाको बेला भइरहेको लकडाउनमा भत्ता नपाउँदा आफूहरु समस्यामा परेको बताए।  

काठका सामाग्रीहरु बनाएर गुजारा चलाउने यो समुदाय पछिल्लो समय सरकारले दिने सामाजिक सुरक्षा भत्तामा निर्भर हुने गरेको छ। नयाँ पुस्ताले परम्परागत सीप भूल्दै गएका छन् । यो समुदाय एकै ठाउँमा नबस्दैन। लेखपढ र खेतीपाती गर्दैन्। दुई दशक अघिसम्म पैसा छोए पाप लाग्छ भन्ने यो समुदाय अहिले पैसाका लागि मरिहत्ते गर्छ। फोटो खिच्दा पनि अहिले राउटे समुदायले पैसा माग्ने गरेको छ।

प्रकाशित: १० असार २०७८ ०६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App