coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘सार्वजनिक यातायात नखोले चुप लागेर बस्दैनौं’

फाइल तस्बिर

यातायात व्यवसायीले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गरिएको निषेधाज्ञाले यातायात मजदुर भोकभोकै मर्ने अवस्था सिर्जना भएको भन्दै सार्वजनिक यातायात खुलाउन सरकारसँग माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत वैशाख १६ गतेदेखि गरिएको निषेधाज्ञाले सार्वजनिक यातायात क्षेत्र तहसनहस भएकाले तत्कालै स्वास्थ्य मापदण्ड अपनाएर खोल्न माग गरेका छन्।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयले असार ८ गतेदेखि उपत्यकामा तीनवटै जिल्लामा निषेधाज्ञा केही खुकुलो बनाएका छन्। जोरबिजोर प्रणालीमा निजी सवारी साधन गुडिसकेका छन्। बजार पनि विभिन्न बार तोकेर खुल्न थालेका छन्। यातायात व्यवसायीले बजार तथा निजी सवारी साधन खुलेसँगै सार्वजनिक यातायात समेत खुलाउनुपर्ने माग गरेका छन्। महासंघका महासचिव सरोज सिटौलाले निजी गाडीले धमाधम पैसा लिएर यात्रु ओसारे पनि कालो प्लेटका व्यवसायी मर्कामा परेको गुनासो गरे।  

‘प्राइभेट गाडी, बजार सबै खुलाउँदा कोरोना नलाग्ने, सार्वजनिक यातायातले मात्रै कोरोना सार्ने भन्ने हुँदैन,’ उनले भने, ‘जोरबिजोर प्रणालीले झनै कोरोना सार्ने भएकाले तत्कालै सार्वजनिक यातायात खुलाएर भोकभोकै मर्न लागेका मजदुरलाई जोगाउनेतर्फ अघि बढ्नुपर्ने बेला भएको छ।’  

महासचिव सिटौलाले स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात खोल्न ढिलो गर्न नहुने बताए। ‘प्राइभेट गाडीले खुरुखुरु मान्छे बोकेर हिँडिरहेको छन्। हामी भाडाका यातायात व्यवसायी कहिलेसम्म टुलुटुलु हेर्न सक्छौं र ! यो वा त्यो नाममा यात्रु बोकेर हिँडिरहेका छन्,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात नखुलाउने हो भने हामी सडकमा गाडी लिएर चलाउन बाध्य हुनेछौं।’  

महासचिव सिटौलाले काठमाडौंका प्रमुख जिल्ला अधिकारीले यातायात व्यवसायीलाई छलफल गर्न बोलाएको बताए। ‘सिडियो सापले मंगलबार छलफलको लागि बोलाउनुभएको थियो। तर बुधबार महासंघको बैठकको कारणले जान सकेनौं,’ उनले भने, ‘सम्भवतः बिहीबार सिडिओ सापसँग छलफल गरेर सार्वजनिक यातायात खुलाउन अनुरोध गर्नेछौं।’ महासंघले सरकारले तोकेको मापदण्डमा सार्वजनिक यातायात चलाउन तयार रहेको जनायो।

‘प्राइभेट गाडी खोल्ने, हवाई सेवा खोल्ने, सार्वजनिक यातायात मात्रै बन्द गर्ने कुरा कुनै पनि हालतमा न्यायोचित हुँदैन,’ उनले भने, ‘सकेसम्म प्रशासनसँग वार्ता गरेर नै खोल्छौं। त्यो नभएर जबर्जस्ती भए पनि सवारी साधन सडकमा ल्याएर चलाउनुको विकल्प छैन।’  

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले गत वैशाखयता ११ लाखभन्दा धेरै यातायात मजदुर भोकभोकै बस्नुपरेको बताए। ‘कोभिड १९ बाट सार्वजनिक यातायात सबैभन्दा धेरै प्रभावित बनेको छ,’ उनले भने, ‘राज्यको तर्फबाट सार्वजनिक यातायातलाई सधैं बेवास्ता भइरहेको छ।’ अध्यक्ष राईले सरकारले सबैभन्दा मारमा परेको यातायात मजदुरलाई राहत र अन्य सुविधामा पूर्णतया बेवास्ता गरेको आरोप लगाए। 

‘सरकारले यातायात मजदुरको स्वास्थ्य, सुरक्षा र भविष्यको ग्यारेन्टी गर्छ भने जतिखेर पनि सार्वजनिक यातायात चलाउन तयार छौं,’ उनले भने, ‘सरकारले ५० प्रतिशत मात्रै सिटमा यात्रु राख्ने प्रस्ताव राखेकोमा हाम्रो विरोध छैन। तर सरकारले भाडामा अनुदान वा अन्य छुटको व्यवस्था गर्नुपर्ने हुन्छ।’ 

प्रकाशित: १० असार २०७८ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App