coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरिया रोजगारी अन्योलमा

आम्दानीका हिसाबले आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाको रोजगारी अझै खुल्ने सुरसार छैन। १५ महिनादेखि कोरिया रोजगारी बन्द छ। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार अन्योलमा परेका छन्।

 पहिलो लहरको कोरोना महामारी फैलिएको बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन्। ‘सुरुमा कोरियामा कोरोना महामारी फैलिएको भन्दै नेपाली पक्षले भाषा परीक्षा उत्तीर्ण गरेकालाई पठाउन रोक्यो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्लो समयमा कोरियाले हामीकहाँ महामारी फैलिएकाले कामदार लिन ढिला गरिरहेको छ।’ तर भाषा परीक्षा उत्तीर्ण गरेकाहरूले भने सरकारले पहल नगर्दा कोरिया रोजगारी सुरु हुन नसकेको बताइरहेका छन्।  

भाषा परीक्षा उत्तीर्ण गरेकाहरू सरकारी निकायले अलिकति मेहनत गरे कामदार कोरिया पठाउन सक्ने बताउँछन्। ‘कोरियन रोजगारदाता भाषा परीक्षा उत्तीर्ण गरेकालाई लैजान इच्छुक छन्,’ भाषा परीक्षा उत्तीर्ण गरेका सागर प्रसाईले भने, ‘सरकार गम्भीर हुने हो भने कोरिया रोजगारी चाँडो सुचारु हुन्छ।’

भाषा परीक्षा उत्तीर्ण गरेको लामो समयसम्म कोरिया जान नपाएकाले सरकारका कारण ठूलो आर्थिक क्षति भइरहेको गुनासो गरेका छन्। कोरिया रोजगारीमा जानेहरूको न्यूनतमा मासिक पारिश्रमिक एक लाख ५० हजार रूपैयाँ हुन्छ। अधिकांशले ओभरटाइमको सुविधा पाउने भएकाले मासिक कमाइ तीन लाख रूपैयाँसम्म पुग्ने बताइन्छ।  

कोरिया जाने माग ट्रेन्डिङमा

यसैबीच, भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका युवाहरूले सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारलाई गराएको ध्यानाकर्षण ट्रेन्डिङमा परेको छ।  

कोरियाले अन्य मुलुकबाट कामदार लिइसक्दा पनि सरकारले समन्वय नगर्दा जान नपाएको भन्दै ती युवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विटमार्फत ध्यानाकर्षण गराएका थिए। अहिले उनीहरूको माग ट्विटरको ट्रेन्डिङमा परेको हो। कोरिया रोजगारी सुचारु गर्न सरकारले चासो नदेखाएपछि अभियान चलाएको प्रसाईले बताए।  

कोरिया जान नपाएका युवाले पटकपटक सरकारका मन्त्रीलगायत उच्च पदस्थलाई जानकारी गराउँदै आएका छन्। भाषा परीक्षा उत्तीर्ण गरको दुई वर्षसम्म रोस्टरमा नाम रहन्छ। यस अवधिमा रोजगारदाताको छनोटमा पर्न नसकेको खण्डमा कोरियामा रोजगारी पाइँदैन। त्यसपछि पुनः सुरुकै प्रक्रिया थाल्नुपर्छ। मन्त्रालयका अधिकारी भने महामारीका कारण ढिलाइ भएकाले दुईवर्षे प्रावधान हटाउन निरन्तर छलफल भइरहेको बताउँछन्।  

धेरै कामदार भएका मुलुकमा हवाई उडान हुने

यसैबीच, सरकारले धेरै नेपाली कामदार रहेका मुलुकमा बन्द हवाई उडान सुरु गर्ने भएको छ।  कोरोना व्यवस्थापन निर्देशक समितिले यस्तो निर्णय गरेको हो। सोही निर्णय अनुसार मलेसिया, संयुक्त अरब इमिरेट्स, टर्की, कतार, साउदी अरेबिया, जापान लगायत मुलुकमा हवाई उडान सुरु हुने बताइएको छ।  

मन्त्रालयका अधिकारीहरूले सम्भवतः अर्को सातादेखि ती मुलुकमा उडान सुरु हुने बताए। ती मुलुकबाट सातामा दुई हजारभन्दा बढी यात्रु नबढ्ने गरी हवाई उडान सुचारु गर्न दिइने समितिले निर्णय गरेको छ। ती मुलुकमा हुने हवाई उडान बन्द हुँदा अत्यावश्यक काममा घर फर्कनेलाई समेत समस्या परेको गुनासो रहँदै आएको थियो।  

साथै, रोजगारीको क्रममा रहेको बेला ती मुलुकमा निधन भएका श्रमिकको शव ल्याउन पनि कठिनाइ भइरहेको छ। गन्तव्य मुलुकमा रहेका नेपाली नियोगहरूले लामो समयसम्म हवाई उडान बन्द गर्न नहुने धारणा राख्दै आएका थिए।  

त्यस्तै, समितिले वैदेशिक रोजगारीबाट फर्कंदा होटल क्वारेन्टिनमा बस्न आर्थिक रूपले कठिन हुनेलाई १० दिनको खर्च सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ। वैदेशिक रोजगारीबाट फर्कनेहरू १५ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम छ। 

प्रकाशित: ४ असार २०७८ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App