१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘रासायनिक मलको अभाव र अपुगको गुनासो छैन’

वर्षायाम शुरु भईसकेको छ । किसान खेतमा ओर्लिसकेका छन् । आरी–फोहोटा रोप्न व्यस्त छन् । असारे चटारो शुरु भईसकेको छ । असारे चटारोसँगै किसानलाई रासायनिक मलको चिन्ता भने परेको छैन् । विभिन्न जिल्लामा रासायनिक मलको उपलब्धता नहुदाँ किसान आन्दोलन गर्न सडकमै उत्रिएका थिए । तर कास्कीमा भने रासायनिक मलको अभाव भने नभएको पोखरा महानगरपालिका कृषि महाशाखाले जनाएको छ ।  

पोखरा महानगरपालिकाले विभिन्न ५५ वटा कृषि सहकारी मार्फत मलको विक्री वितरण हुदैं आएको उल्लेख गरेको छ । ‘महानगरपालिकाले नै मूल्य तोकिदिएको छ । तोकिएको मूल्यमा सहकारीले किसानलाई विक्री वितरण गरेका छन्,’ कृषि महाशाखा प्रमुख मनहरी कडरियाले भने, ‘ठाँउ अनुसार मूल्य तय गरिएको छ ।’ बजार क्षेत्रमा केही सस्तो पर्छ । ढुवानी गर्नुपर्ने ठाँउमा भने केही बढी मूल्य तिर्नुपर्ने बाध्यता छ । ‘ढुवानीले गर्दा कास्कीका टाढाका ठाँउहरुमा मूल्य थोरै बढी पर्छ । किनभने त्यसमा ढुवानी खर्च जोडिन्छ,’ उनको भनाई थियो ।  

कास्कीमा वर्षेनी झन्डै दुईहजार मेट्रिक टन रासायनिक मल खपत हुने गरेको तथ्यांक छ । कृषि विज्ञ समेत रहेका कडरियाका अनुसार हाईब्रिड धानलाई बढी रासायनिक मल प्रयोग गर्नुपर्छ । किसानहरुबाट मल अभावको गुनासो कृषि महाशाखा समक्ष आईपुगेको छैन् । ‘अभाव र अपुग भएको गुनासो आएको छैन्,’ उनले भने, ‘रासायनिक मलको प्रयोग समेत कम हुदैं गएको छ ।’ किसानहरुले पछिल्लो समय घरेलु गाईभैंसीको मल(प्रांगारिक), जुतो, पिना, कुखुराको सुली लगायतको मल प्रयोग गर्ने गरेका छन् । किसानलाई कृषिमा अनुदान अन्तर्गत सहुलियतमा हाते ट्रयाक्टर वितरण गरिदैं आएको छ । तरकारी तथा फलफुल उत्पादन गर्ने किसानलाई प्लाष्टिक तथा असिना छेक्ने तारजाली अनुदान दिइएको छ ।  

कृषि महाशाखाले युरिया, पोटास र डिपिए मल किसानलाई उपलब्ध गराउँदै आएको छ । युरिया प्रतिकिलो २०–२१ रुपैयाँ तय गरिएको छ । डिपिएको मूल्य ५० रुपैयाँको सेरोफोरमा तय गरिएको उनले बताए । ‘तोकिएको मूल्यमा किसानलाई उपलब्ध हुन्छ,’उनले भने, ‘तर टाढा ढुवानी गर्नुपर्दा ढुवानी खर्च त्यसमा जोडिन्छ ।’ कृषि सहकारीले मल विक्री वितरणको लागि वर्षेनी आवेदन दिनेको संख्या बढ्दै गएको छ । महानगरले पनि आवश्यकता अनुसार किसानलाई सहजताको लागि आवेदन अनुसार कृषि सहकारीलाई मल विक्रीको लागि स्वीकृति दिदैं आएको छ ।  

कास्कीमा ताल किनारका फाँटहरुमा रोपाई भईसकेको छ । फेवाफाँट, बेगनास फाँट र रुपातालको तालबेसी फाँटमा रोपाई भईसकेको महानगरपालिकाले जनाएको छ । सिचाई सुविधा पुगेको क्षेत्रमा पनि धान रोपाई शुरु भईसकेको छ ।  तथ्यांक अनुसार १० प्रतिशत क्षेत्रफलमा रोपाई भईसकेको छ । कास्कीमा १२ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिदैं आएको तथ्यांक छ । पोखरामा ३३ हजार मे.टन धान उत्पादन भएको तथ्यांक कृषि महाशाखासँग छ । पोखरामा २०–२५ प्रतिशत क्षेत्र हाईब्रिड धानले ओगटेको छ । रैथाने जातका धानलाई प्रांगारिक मल नै सुहाउने कृषि विज्ञ बताउँछन् । पोखराको फाँटहरुमा पहेंले, अनदी, जेठबुढो, खोल्टोखोला, रमनी जस्ता धान उत्पादन हुदैं आएको छ ।  हाईब्रिड प्रतिहेक्टर ५ टनसम्म फल्ने गरेको तथ्यांक छ । स्थानीय जातको धान भने ३ टन प्रतिहेक्टर उत्पादन हुन्छ ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App