२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सातामा ८३ अर्बको सेयर कारोबार

धितोपत्र बजारमा यस साता ८३ अर्ब बढीको कारोबार भएको छ। लगातार उकालो लागेर नयाँ–नयाँ कीर्तिमान कायम गरेको नेप्सेले झण्डै तीन हजार बिन्दुको यात्रासमेत तय गरेको थियो। निषेधाज्ञाका कारण आम मानिस घरभित्रै बसेका तथा कारोबारसमेत प्रविधिमैत्री भएका कारण पनि कारोबार रकमका साथसाथै नेप्सेमा समेत उच्च वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार नियमित राख्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ। लगानीका अन्य स्रोतमा समस्या आएको तथा कोरोनाले बजार तथा व्यवसायसमेत बन्द भएकाले सेयर बजार नयाँ उचाइमा पुगेको जानकारहरूको टिप्पणी छ। नेप्सेका अनुसार कारोबार भएका साताका पाँच दिन नै औसतमा १६ अर्बको कारोबार भएको छ।

लगानीका अन्य स्रोतमा समस्या आएको तथा कोरोनाले बजार तथा व्यवसायसमेत बन्द भएकाले सेयर बजार नयाँ उचाइमा पुगेको जानकारहरूको टिप्पणी छ।

नेप्सेका अनुसार कुल २२१ कम्पनीका १७ करोड पाँच लाख ९० हजार ६४३ कित्ता सेयर ८३ अर्ब १३ करोड ९२ लाख ५० हजार ७६७ मा किनबेच भयो। कारोबारका आधारमा पनि पछिल्ला दिनमा यो सबैभन्दा बढीको कारोबार हो। साताको पहिलो दिन नै नेप्सेले कीर्तिमान कायम गरेको थियो। कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाइरहेका बेला नै नेप्से परिसूचक २९०० को बिन्दुमा पुग्यो।

आइतबार नेप्से ५०.१३ बिन्दुले बढेर २९०६.८९ मा पुग्यो। त्यस दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.८८ ले सुधार भई ५२०.९९ मा पुग्यो। कूल २१७ कम्पनीको तीन करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ मूल्यमा खरिद बिक्री भए। कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको सेयर मूल्य उकालो लाग्दा ६ उपसमूहको सेयर भने ओरालो लाग्यो।  

साताको पहिलो दिन रेकर्ड बनाएको नेप्से सोमबार भने झिनो अंकले ओरालो लाग्यो। त्यसदिन ०.२१ बिन्दुले घटेर नेप्से दुई हजार ९०६.७० मा सीमित भयो। १२१ कम्पनीका तीन करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ मा कारोबार भयो।  

कारोबार हुने साताको तेस्रो दिन नेप्सेले नयाँ रेकर्ड बनायो। बजार पुँजीकरण पनि त्यस दिन ४१ खर्ब नाघ्यो भने सात कम्पनीको सेयरमा सर्किट लाग्यो। त्यस दिन मुलुकको कुल गार्हस्थ उत्पादनलाई सेयर बजारले पछाडि पार्दै कुल बजार पुँजीकरण ४१ खर्ब नौ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ बराबर पुग्यो। यो हालसम्मकै सबैभन्दा धेरै हो। सोही दिन नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण संकटमा परेकाले नेपालको धितोपत्र बजार विस्तारित भएको बताएका थियो।

सोमबारको तुलनामा मंगलबार बजार पुँजीकरण मात्रै ७४ अर्ब १९ करोड बढीले वृद्धि भएको थियो। मुलुकको कुल गार्हस्थ उत्पादन ४० खर्बको हाराहारीमा रहेको छ। त्यस दिन नेप्से परिसूचक ५३.४४ बिन्दुले वृद्धि भई दुई हजार ९६०.१४ मा पुग्यो। नेप्सेले कीर्तिमान कायम गर्दा ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.४७ बिन्दुले उकालो लागेर ५२८.१० मा पुग्यो। कुल २१८ कम्पनीको तीन करोड ५७ लाख ३७४ कित्ता सेयर १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० मूल्यमा खरिदबिक्री भए।

कारोबार भएका कूल १३ उपसमूहमध्ये त्यस दिन तीन उपसमूहको सेयर ओरालो लाग्दा १० उपसमूहको सेयर भने उकालो लाग्यो। कारोबार हुने साताको चौथो दिन नेप्से तीन हजार बिन्दुमा पुगेर १३.५६ बिन्दुले घटी दुई हजार ९४६.५८ मा ओर्लियो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ बिन्दुले घटेर ५२५.२८ मा झर्‍यो। कुल २२१ कम्पनीका तीन करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ मूल्यमा खरिदबिक्री भए।  

सेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले ओरालो लाग्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८० बिन्दुले घटेर दुई हजार ९४४.७८ मा ओर्लेको थियो। कारोबार भएका २२० कम्पनीका तीन करोड ५ लाख ५ हजार ६४४ कित्ता सेयर १६ अर्ब १० करोड चार लाख १२ हजार ४३६ मूल्यमा खरिदबिक्री भए। बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३९ खर्ब ३६ अर्ब ७४ करोड ३४ लाख २८ हजार ९९५ बराबर रहेको छ। अघिल्ला दिनको तुलनामा बजार पुँजीकरण घट्यो।  

यस साता पनि बजार पुँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी नै शीर्षस्थानमा रहेको छ। सो कम्पनीको बजार पूँजीकरण एक खर्ब ९२ अर्ब १५ करोड बराबर पुगेको छ। नेपाल पुनर्बिमा कम्पनीको एक खर्ब ८८ अर्ब ८० करोड बराबर रहेको छ। नबिल बैंकको एक खर्ब ७५ अर्ब ७८ करोड १२ लाख ६५ हजार ५३६ बराबर बजार पुँजीकरण छ। नेपाल पूर्वाधार बैंकको एक खर्ब आठ अर्ब २० करोड बराबर छ।

माथिल्लो तामाकोसीको भने ८१ अर्ब ६४ करोड ८९ लाख बराबरको बजार पुँजीकरण रहेको छ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App