११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

औद्योगिक पूर्वाधारको आधार साना उद्योग : सरोकारवाला

घरेलु महासंघ ३२ वर्षमा

नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरूले बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनीहरूले लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्ध बन्ने बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले अर्थतन्त्रको निर्माण र सञ्चालनमा सरकारको नीति निजी क्षेत्रसँग सहकार्य गर्ने भएको बताए। मुलुकको साधन स्रोतको अवस्थालाई हेरेर साना उद्योगका धेरै विषयलाई समेटेर लैजाने प्रयास गरेको भन्दै उनले भने, ‘आगामी दिनमा पनि यस्तो प्रयास रहिरहने छ।’

गत वर्ष कोभिड महामारी सुरु भएयता यस्ता उद्योगको महत्व झनै बढेको भन्दै सचिव पोखरेलले भने, ‘घरेलु उद्योग भनेको स्थानीय कच्चा पदार्थ र प्रविधिमा आधारित भएको, हामीले आफैंले सञ्चालन गर्न सकिने र लगभग बजार पनि हाम्रो आफ्नै भएको हुँदा यसको दिगोपना छ भन्ने बुझेका छौं।’

महासंघका अध्यक्ष श्याम गिरीले धेरै देशको अर्थतन्त्र भनेको स–साना उद्योगहरूको प्रवद्र्घनबाट सुरु भएको पाइएको भन्दै भने, ‘खासगरी एसियाकै दुई मुलुक ताइवान र जापानलाई हेर्‍यौं भने त्यहाँको मेरुदण्ड भनेकै त्यहाँका ग्रामीण तह र घरमै रहेका साना उद्योगलाई ठूला उद्योगसँग जोडेर आज सफल भएका छन्।’

अमेरिककाकै इतिहास हेर्ने हो भने ५० वर्षको दौरानमा अमेरिकाले साना उद्योगको प्रवद्र्घनबाट फड्को मारेको भन्दै उनले थपे, ‘विश्व अर्थतन्त्रको पाँच भागमध्ये डेढ भाग सम्हालेर बसेको अमेरिकाले हाम्रा जस्तै स–साना उद्योग एसएमईलाई नै प्राथमिकातामा राखेर त्यही नै अर्थतन्त्रको मेरुदण्ड हो भनेर अगाडि बढाएको छ।’

नेपाल अल्पविकसित राष्ट्रका रूपमा रूपान्तरित हुँदै गरेको अवस्थामा हामीले केही मापदण्ड पूरा गरेका छौं, तर आर्थिक हैसियत र पूर्वाधार विकास गर्‍यौं कि गरेनौं बुझ्न जरुरी रहेको उनले बताए। ‘त्यसैले यसलाई सरकारको मात्रै दायित्व नबुझेर हामी निजी क्षेत्रको पनि ग्रामीण अर्थतन्त्र र साना खालको उद्यम व्यवसाय खासगरी गरिबीको रेखामुनि रहेका र मध्यमवर्गीय परिवार संलग्न रहेको साना खालको कृषि उद्यम र साना खालको उद्यम व्यवसाय जसमा प्रत्यक्ष रूपमा पाँच लाख परिवार र अप्रत्यक्ष रूपमा अर्को १५ लाख परिवार यही क्षेत्रमा आश्रित छ,’ उनले भने।

अघिल्लो वर्ष महिला उद्यमी कोषलाई महिला उद्यमी कर्जाको रूपमा परिणत गर्ने र वाणिज्य बैंकमार्फत यसमा लगानी गर्ने भन्ने कार्यक्रम लागू गरे पनि लक्षित वर्गले सहजै प्राप्त गर्न नसकको भन्दै अध्यक्ष गिरीले भने, ‘हाम्रो नेटवर्कमा रहेका ११ हजार महिला उद्यमीमध्ये दुई चार सयभन्दा बढीले यो सुविधा प्राप्त गर्न सक्नुभएन। त्यसैगरी युवा उद्यमीको हकमा खासगरी शैक्षिक बेरोजगारलाई उद्यमी बनाउने सन्दर्भमा विशिष्ट जातिगत पहिचानसहित आफ्ना उद्यम प्रवद्र्घन गर्ने सन्दर्भमा र अन्य लघु घरेलु तथा साना उद्योगलाई प्रवद्र्घन गर्न अघिल्लो बजेटले व्यवस्था गर्दागर्दै पनि कतिपय कार्यान्वयन हुन सकेन।’

पुनर्कर्जाकै सन्दर्भमा कतिपय प्रावधानले गर्दा लघु घरेलु उद्योगीले नपाउने अवस्था सिर्जना भएको भन्दै आगामी मौद्रिक नीतिमार्फत व्यवस्था गर्न उद्योग मन्त्रालयले प्रयास गर्नुपर्नेमा उनको जोड थियो।

महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर सुरु गरेको महासंघ आज ७७ वटै जिल्ला तथा ३४१ वटा पालिका र सरकारको २६ वटा समितिमा पुगेको बताए।

उद्यमीका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उनले अहिले पाँच लाखको हाराहारीमा रहेका उद्योगीलाई सरकारले मान्यता दिएर हरेक समितिमा राखेको बताए।

‘अघिल्लो वर्ष सरकारले सदासयता देखाएको थियो, नीति तथा कार्यक्रम र बजेटमा महासंघले दिएका सुझावका आधारमा धेरै सम्बोधन गरेको थियो। तर कार्यान्वयन पक्ष एकदमै कमजोर भयो र त्यसकै निरन्तरता अहिलेको बजेटमा पनि दिइएको छ। अब कार्यान्वयनमा जोड दिनुपर्ने हाम्रो माग छ,’ वरिष्ठ उपाध्यक्ष सिंहले भने। महासंघ केन्द्रीय महिला उद्यमी समितिका सभापति अञ्जु उपाध्यायले साना उद्यमीको हकहित संरक्षण गर्न जन्मेको महासंघ आज हजारौं उद्यमी व्यवसायीलाई गोलबद्घ गर्दै अगाडि बढिरहेको बताइन्।

प्रकाशित: २५ जेष्ठ २०७८ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App