५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बेलगाम सेयर बजार, नेप्से २९०० माथि

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायतका निकायले सेयर बजारलाई प्रभावित हुने गरी नीति अघि सारे पनि सेयर बजार परिसूचक नेप्से बेलगाम बढिरहेको छ। निरन्तर सेयर वृद्धि भइरहँदा साताको पहिलो कारोबार आइतबार नेप्से ५०.१३ अंकले बढेर २९०६.८९ बिन्दुमा पुगेको छ। जुन अहिलेसम्मकै उच्च बिन्दु हो। यसअघि नेप्सेले गत साताको अन्तिम कारोबार बिहीबार नयाँ रेकर्ड बनाएको थियो।  

यसदिन सेन्सेटिभ, फ्लोट इन्डेक्सले पनि नयाँ कीर्तिमान कायम गरेको छ। सेन्सेटिभ इन्डेक्स ७.८८ ले बढेर ५२०.९९ बिन्दुमा पुग्दा फ्लोट इन्डेक्स ४.११ ले बढेर २०१.३५ बिन्दुमा पुग्यो। तीन करोड ७४ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रूपैयाँ बराबरको कारोबार भयो। नेप्सेले नयाँ उचाइ कायम गर्दा महिला लघुवित्त, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक र रिडी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेवलमा कारोबार भयो। त्यस्तै नेपाल बंगलादेश बैंकको सेयर ९ प्रतिशतभन्दा धेरैले बढ्यो।  

बैंकिङ समूह बढ्दै  

यस दिन बैंकिङ, विकास बैंक, वित्त र अन्य उपसमूहले नयाँ रेकर्ड बनाए। १३ उपसमूहमध्ये बैंकिङ उपसमूहको परिसूचक ३.६६, विकास बैंकको २.३८ प्रतिशत र वित्तको १.४३ प्रतिशतले बढे। नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक एक अर्ब २१ करोड १४ लाख ५६ हजार रूपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भयो। एकै दिनमा कुनै पनि कम्पनीको सेयर खरिदबिक्री भएको रकममध्ये यो नै सबभन्दा धेरै हो। त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड ९० लाख रूपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भयो।  

पछिल्लो समयमा राष्ट्र बैंकको कडाइका बाबजुद नेप्से र कारोबार रकम लगातार बढिरहेको छ। कोरोना महामारी र निषेधाज्ञाकले अर्थतन्त्रको अवस्था कमजोर भएको बेला सेयर बजार वृद्धि हुनुपर्ने कुनै कारण नरहेको विज्ञहरू बताउँछन्। यो वर्ष सूचीकृत कम्पनीले वितरण गर्ने लाभांश पनि कम हुने अनुमान छ।  

कतिपय लगानीकर्ता बैंक तथा वित्तीय संस्थाले अहिले सेयर धितो राखेर ७० प्रतिशतसम्म कर्जा पाइने भएकाले लगानीकर्ताको चासो बढेको बताउँछन्। राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत केही दिनअघि सेयरधितो कर्जामा कडाइ गरेको थियो। एक सय २० दिनको औसत मूल्य र अहिलेको सेयर मूल्यमा जुन कम हुन्छ त्यसको ७० प्रतिशत सेयर धितो कर्जामा ऋण दिने व्यवस्था गरिएको थियो।  

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र केही ठूला खेलाडीले सेयर बजारलाई अस्वाभाविक रूपमा निरन्तर बढाइरहेको कतिपयको अनुमान छ। यस्तो अवस्थालाई रोक्न अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत एक वर्षभन्दा कमको लगानीलाई अल्पकालीन भन्दै सेयर किनेको एक वर्षभित्र बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर लगाउने घोषणा गरेका थिए ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App