१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

उद्यमी ब्यवसायीकाे टिप्पणीः ग्यास सहुलियत घोषणा जनतालाई देखाउने 'ललिपप' मात्र

डेढ प्रतिशतभन्दा कम उपभोक्ता समेटिने

संघीय सरकारले बजेट वक्तव्यमार्फत निषेधाज्ञाको समयमा दिने भनिएको ‘२० प्रतिशत सहुलियत दरमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत खाना पकाउने ग्यास दिने’ घोषणा जनतालाई देखाउने ललिपप मात्र भएको एलपिजि ग्यास उद्यमी ब्यवसायीहरुले टिप्पणी गरेका छन् । सरकारको बजेट वक्तव्यलाई उदृत गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले बिहीवार एउटा सूचना जारी गरेपछि सहुलियतको लाभ पाउन सक्ने उपभोक्ता १.४४ प्रतिशत अर्थात डेढ प्रतिशतभन्दा पनि कम रहेको खुलेको छ ।  

देशका अरु साढे ९८ प्रतिशतभन्दा बढी ग्यास उपभोक्ता सर्वसधारणलाई यस घोषणाले कुनै फाइदा पुगेको छैन । कर्पोरेशनले पिठो, निची, नुन, भटमास तेल र खाना पकाउने ग्यासमा २० प्रतिशतको दरले छुट दिने जनाएको हो । ‘खाना पकाउने ग्यास काठमाडौं उपत्यकामा मात्र उपलब्ध रहेको र खालि सिलिण्डर एसटिसि ब्राण्डको नै सोधभर्ना गर्नुपर्ने’ सूचनामा उल्लेख छ । उक्त ब्राण्डको सिलिण्डर साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको स्वामित्व रहेको धादिङ्गको मेट्रो ग्यास उद्योगले बजारमा पुर्याउने गरेको छ । 

उक्त उद्योगले सिलिण्डरमा भर्नको लागि कोटा अनुसार मासिक ६ सय ४८ टन ग्यास पाउने गरेको छ । नेपाल आयल निगमको रेकर्ड अनुसार वैशाख महिनामा नेपालमा ४४ हजार ८ सय ७४ टन खाना पकाउने प्रयोजनको एलपिजी ग्यास भित्रिएको छ । यसरी उक्त कम्पनीले नेपालको समग्रमा एलपिजि ग्यास खपत गर्ने उपभोक्तामध्ये १.४४ प्रतिशत मात्रलाई सेवा दिने गरेको देखिन्छ ।  

नेपाल एलपिजि ग्यास उद्योग संघका अनुसार देशभरीमा चालु अवस्थामा रहेका ६१ ग्यास उद्योगमध्ये उक्त उद्योग एउटा हो, विषेश उपभोक्ता वर्गलाई लक्षित चाँहि होइन । ‘राज्यले सहुलियत दिनु राम्रो हो, तर करिब १ प्रतिशत सिलिण्डर भएको उद्योगलाई मात्र सहुलियको ग्यास वितरण गर्न दिने बाँकी अरु सबै उद्योगका गरी झण्डै ९९ प्रतिशत उपभोक्तालाई वास्ता नगर्नु न्यायसंगत भएन,’ संघका अध्यक्ष गोकुल भण्डारीले नागरिकलाई भने, ‘अखिर उपभोक्तासंग किन विभेद ?’ विषेश परिस्थितीको लागि घोषित सरकारी सुबिधाबाट नेपालका ९८.५५ प्रतिशत उपभोक्तालाई बञ्चित गरिएको छ । सुविधा पाएकाहरु पनि कुनै मापदण्डबाट नभई, यस कारणले पाउने भएका छन् कि उनीहरु संयोगले ‘एसटिसि’ ब्राण्डको सिलिण्डर प्रयोग गर्थे ।  

नेपाल आयल निगमले देशमा १३ सय ८० र १४ सय गरी ठाउँ अनुसार एक सिलिण्डर ग्यासको मूल्य तोकेको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको बिहीबारको सूचना अनुसार ‘एसटिसि’ ब्राण्डको सिलिण्डर प्रयोग गर्ने ग्राहक एक हजार १ सय २० रुपैयाँमा एक सिलिण्डर ग्यास पाउने भए । ‘कुरो सुविधा कति ठूलो वा सानो भन्ने होइन, सरकारले नै जनतालाई यसरी बिभेद गर्न मिल्दैन जस्तो लाग्छ,’ एक जना ग्यास उद्योग संचालकले भने, ‘खाना पकाउने ग्यासमा सहुलियत घोषणा जनतालाई देखाउने ललिपप मात्र भयो । यसबाट करिब ९९ सर्वसधारण जनतालाई कुनै लाभ पुग्ने देखिदैन ।’ उनको भनाईमा सरकारको बजेटको धेरै भाग ‘पब्लिसिटी स्टन्ट’ भएको भन्नेमा यो एउटा उदहारण मात्र हो ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले सरकारले बजेटमार्फत घोषणा गरे अनुसार साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आफ्नो उपभोक्तालाई २० सहुलियतमा अन्य सामग्रीसहित खाना पकाउने ग्यास पनि उपलब्ध गराउन लागेको बताए । कर्पोरेशनको उक्त उद्योग पनि अरु उद्योगकै हैसियतको रहेको उनले प्रष्ट्याए । 

कर्पोरेशनको सो ब्राण्डको उपभोगकर्ता खासगरी काठमाडौंमा भएको यहाँ मात्र यो सहुलियत भएको बुझिएको उनले बताए । ‘बजेट भाषणमैं घोषणा भए अनुसार यो सुविधा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले दिन लागेको हो,’ उपाध्यायले भने, ‘कर्पोरेशन आफैमा चाँहि सरकारकै संयन्त्रमा रहेको कुरा हो, यसमा हामीले के भन्न सक्छौं र ?’

प्रकाशित: २१ जेष्ठ २०७८ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App