१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सगरमाथा आरोहणः दोश्रो आधारशिविरमै रोकिए एक सय आरोही

दोश्रो शिविरलाई एडभान्स बेसक्याम्प भनिन्छ

बिहीबार दिउँसो हिमपातको बेलाको सगरमाथा आधारशिविर । तस्बिर सौजन्यः खिमलाल गौतम

विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणमा निस्केका स्वदेशी र विदेशी आरोही खराब मौसमका कारण बीचमै रोकिएका छन् । आरोही र उनीहरुका सहयोगी सहित झन्डै एकसयजना दोश्रो शिविरमा रोकिएको खटिएका सम्पर्क अधिकृतले जानकारी दिएका छन् । 

ती सम्पर्क अधिकृतका अनुसार विगत तीन दिनदेखि सगरमाथा क्षेत्रमा हिमपात भईरहेको छ । हिमपातका कारण दोश्रो आधारशिविरको ६४ सयदेखि ६५ सय मिटरको उचाइमा उनीहरु रोकिएका छन । कपितय आरोही चौथो शिविरसम्म पुगेपनि मौसममा आएको खराबीले फर्किएर दोश्रोमा बसेका छन् ।  

‘एकसयजना जति आरोही र उनीहरुका सहयोगी अहिले दोश्रो आधारशिविरमा रोकिएका छन,’ सम्पर्क अधिकृत खिमलाल गौतमले भने, ‘मौसममा खराबी आएकोले उनीहरु आरोहणमा जान सकेका छैनन ।’ आफै दुईपटकसम्म सगरमाथा आरोहण गरिसकेका गौतमका अनुसार सगरमाथाको दोश्रो शिविरलाई एडभान्स बेसक्याम्प पनि भनिन्छ । दोश्रो शिविरको बसाई उपयुक्त हुने भएकोले त्यही रोकिएको उनले बताए ।  

‘दोश्रो आधारशिविर भन्दा माथि कोही पनि छैनन् । भारी हिमपातले माथि बस्न सक्ने अवस्था रहन्न,’ उनले भने, ‘बसोबासको हिसाबले दोश्रो आधारशिविर निकै नै व्यवस्थित छ । पहिलो आधारशिविर ६ हजार मिटर उचाईको भएपनि त्यहाँ कमै बसोबास हुन्छ ।’ तेश्रो आधारशिविर भने ७१ सय देखि  ७३ सय मिटर उचाईसम्म पर्छ । तीव्र गतिको हावाले गर्दा तेश्रो शिविरमा बसाई नहुने उनले बताए ।

‘गत मंगलबार रातीदेखि हिमपात सुरु भएको हो,’ उनले भने । सम्पर्क अधिकृतका अनुसार कतिपय आरोहीले आरोहण समेत परित्याग गरेका छन । दोश्रो शिविरमा रोकिएका आरोहीको आरोहण भने अबको तीनदिनको मौसमले निर्धारण गर्ने गौतमको भनाई छ । त्यसबाहेक आधारशिविरमा आरोही र उनीहरुका सहयोगी गरेर करिब तीनसयजना रहेको पनि उनले बताए । दोश्रो शिविरमा रोकिएका कतिपय आरोहीले हेलिकप्टरको माग गरेपनि मौसम खराबी भएका कारण हेलिकप्टर पनि आउन नसकेको उनले बताए ।  ‘दोश्रो शिविरबाट पनि हेलिकप्टर माग गरेको जानकारी पाएका छौं । बेसक्याम्पबाटै पनि मागेका छन । हिडडुल गर्न केही कठिन भएकोले हेलिकप्टर मागिएको हो,’ उनले भने, ‘हेलिकप्टर आउने अवस्था पनि छैन ।’ 

हिमपातले रोकिएको आरोहण पुन सुचारु हुने अपेक्षा पर्वतारोहीलाई व्यवस्थापन गरेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले बताए । उनका अनुसार जुन पहिलो साताभित्र आरोहण पुरा गर्नुपर्ने भएकोले त्यो बेलासम्म मौसममा सुधार हुने र रोकिएका आरोही आरोहणमा जाने उनको अनुमान छ ।

‘हामीले नै करिब ५० जनाको आरोहण व्यवस्थापन गरेका हौ । उनीहरुमध्ये केही बेसक्याम्प र केही दोश्रो शिविरमा छन,’ शेर्पाले भने, ‘माथि जाने क्रममा रोकिएका हुने । कतिपय त दोश्रो शिविर भन्दा पनि माथि गएकोमा मौसममा खराबी आएपछि फर्केर दोश्रोमा रोकिएका छन् ।’  

रोकिएका आरोहीको आरोहण पुराहुने सम्भावना ५०–५० प्रतिशत हाराराहामीमा रहेको उनले बताए । अझै केहीदिन बाँकी रहेकोले पनि आरोहण पुरा हुनेमा आशावादी हुन सकिने उनले बताए । ‘अहिलेका लागि आरोहण स्थगित गरेका आरोही मौसममा सुधार आउनासाथ उक्लिने तयारी पनि छ,’ उनले भने, ‘लाखौं रकम खर्च गरेर आरोहणको चाहना लिएर आएका विदेशी आरोही हत्तपत्ति आरोहण रद्ध गर्न पनि चाहँदैन ।’

बंगालको खाडीमा न्यूनचापीय क्षेत्रमा विकसित भएको समुन्द्री आँधी ‘यास’ चक्रवातको असर गत मंगलबारदेखि नेपालमा पर्न थालेको थियो । जल तथा मौसम विज्ञान विभागले हिमाली क्षेत्रमा आरोहणमा रहेका आरोहीलाई यसअघि नै मौसममा बदली आउने भन्दै सचेत हुन आग्रह गरेको थियो । सगरमाथा आरोहणका लागि यो याममा ४०८ जना आरोहीले पर्यटन विभागबाट अनुमति लिएका थिए ।  

पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीका मौैसम विभागले मौसममा खराबी आउने जानकारी दिएपछि आरोहणका क्रममा रहेका आरोहीलाई पनि जानकारी गराएको बताए । ‘सबैजना आरोहीलाई जानकारी गरएका छौ । मौसमको तोकिएको अवधि शनिबारसम्म हो । त्यसपछि खुल्न सक्ने भएकोले अधिकांश आरोही त्यो बेलासम्मको पर्खाइमा रहन्छन,’ जिसीले भने, ‘मौसममा सुधार आउने भएकोले केहीदिन पर्खिन पनि भनेका छौ । तर, सुरक्षित हुन अनुरोध गरेका छौ ।’ उनका अनुसार आरोहणको अनुमति लिएको ७५ दिन भित्र आरोहण पुरा गर्नुपर्छ । विभागका अनुसार यो सिजनमा शेर्पासमेत गरेर झन्डै ३५० जनाले आरोहण पुरा गरेका छन ।

प्रकाशित: १३ जेष्ठ २०७८ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App