२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात

निषेधाज्ञा जारी गरेको मौका छोपी उपत्यकामा केही व्यापारीले अभावको बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढाएको गुनासोबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको जनाएको छ।महामारी नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिए पनि खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु नियमित रूपमा आयात भइरहेकाले कुनै समस्या नरहेको विभागको दाबी छ।  

आयातको अनुपात र आन्तरिक उत्पादन हेर्दा तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘निषेधाज्ञा भए पनि भन्सारबाट फास्ट ट्र्याकमा नियमित खाद्यान्न आयात भइरहेको छ,’ महानिर्देशक पौडेलले भने, ‘आन्तरिक उत्पादन पनि छ।’  

आन्तरिक उत्पादन सहित आयात गरिएको चामल, दाल, नुन, तेल, चिनी लगायत दैनिक उपभोग्य वस्तु पर्याप्त मौज्दात रहेको उनले बताए। ‘आयात रोकिए पनि तीन महिनालाई पुग्ने खाद्यान्न छ,’ महानिर्देशक पौडेलले भने, ‘निषेधाज्ञा भए पनि नियमित आयात भइरहेकाले आत्तिनुपर्ने अवस्था छैन ।’ बजारमा खाद्यान्न सहजै उपलब्ध हुने भएकाले उपभोक्ताले मौज्दात गर्नुपर्ने अवस्था नरहेको उनले बताए।

विभागका अनुसार चैत मसान्तसम्म चार लाख २२ हजार नौ सय १२ मेट्रिक टन चामल, दुई लाख तीन हजार चार सय ७१ मेट्रिक टन दाल, गेडागुडी, २३ हजार ६ सय १२ मेट्रिक टन पिठो, मैदा, चार लाख ६५ हजार दुई सय ८७ मेट्रिक टन खानेतेल आयात भएको छ। वैशाख र जेठमा पनि विगतकै अनुपातमा खाद्यान्न आयात भएको विभागका निर्देशक शिवराज सेढाईंले बताए। ‘गत वर्षको तुलनामा खाद्यान्न लगायत वस्तु आयात करिब १४ प्रतिशतले वृद्धि भएको छ,’ उनले भने, ‘आन्तरिक उत्पादन र गत वर्षको पनि मौज्दात थियो।’

खाद्यान्न अभाव हुन नदिन ढुवानीमा सहजीकरण गरिरहेको विभागले जनाएको छ। निषेधाज्ञाको बहानामा बजारमा हुन सक्ने कालोबजारी र मूल्य वृद्धिमा पनि सूक्ष्म रूपमा अनुगमन गरिरहेको विभागले जनाएको छ। विभागका अनुसार ३३ लाख ६६ हजार मेट्रिक टन चामल स्वदेशमा उत्पादन हुन्छ। दुई लाख ५१ हजार एक सय ८५ मेट्रिक टन दाल, गेडागुडी, दुई लाख ८० हजार पाँच सय ३० मेट्रिक टन खानेतेल उत्पादन भएको छ। निजी क्षेत्र र सरकारी स्वामित्वको संस्थानसँग पर्याप्त खाद्यान्न रहेको सेढाईंले बताए।  

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग १४ हजार ६४ मेटिक टन चामल छ। साल्ट टेड्रिङ कर्पोरेसनसँग एक लाख ४९ हजार एक सय २९ मेट्रिक टन नुन छ। त्यसैगरी, चिनी ५० हजार नौ सय १० मेट्रिक टन, गहुँ १२ हजार ६ सय ६ मेट्रिक टन मौज्दात रहको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

आवश्यक वस्तुको अभाव हुन नदिन निजी क्षेत्र मात्र नभएर सरकारी स्वामित्वको खाद्य व्यापार कम्पनीले पनि विभिन्न ठाउँमा बिक्री केन्द्र सञ्चालन गरेको छ। आपूर्तिमा समस्या हुन नदिन थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने बताउँछिन्। बिक्री केन्द्रमा बासमती जुम्ली, मार्सी चामल, कर्णालीको सिमी, खानेतेल, घिउ र सेनिटाइजर बिक्री हुन्छ। कम्पनीले उपत्यकाभित्र अनलाइनमार्फत खाद्यान्न निःशुल्क अर्डर गर्न सकिने व्यवस्था मिलाएको छ।  

प्राकृतिक विपत्ति, दैवी प्रकोप, सडक अवरोध भएको बेलाको लागि दैनिक उपभोग्य वस्तु, इन्धन औषधी पर्याप्त स्टक राख्नुपर्ने भए पनि नेपालमा पर्याप्त स्टक भएको पाइँदैन। मुलुकमा अत्यावश्यक सामग्री न्यूनतम तीन महिनालाई मौज्दात राख्नुपर्ने अन्तर्राष्ट्रिय प्रचलन छ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App