coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरोना महामारीमा किन बढिरहेको छ सेयर बजार ?

दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको तीन साता पूरा भइसकेको छ। महामारी सामान्य रूपमा नियन्त्रणतर्फ गइरहेको आभास भए पनि अझै ढुक्क हुने अवस्था छैन।  

निषेधाज्ञाका कारण अधिकांश आर्थिक गतिविधि ठप्पजस्तै भइरहेको बेला सेयर बजार भने निरन्तर बढ्दो छ। महामारीकैबीच आइतबार सेयर परिसूचक मापक नेप्सेले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको छ। यतिखेरै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर कात्तिकमा निर्वाचनको घोषणासमेत  गरेका छन्।  

प्रधानमन्त्रीको सोही निर्णयलाई लिएर विपक्षी राजनीतिक दलले विरोध समेत गरिरहेका छन्। एकातिर कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्पजस्तै भएको र अर्कोतर्फ राजनीतिक अन्योलता बढेको बेला नेप्सेले नयाँ रेकर्ड बनाउनुलाई धेरैले आश्चर्यको रूपमा लिएका छन्।  

साताको पहिलो दिन आइतबार नेप्से ३२.८१ अंक बढेर २८२० विन्दुमा पुग्यो। यो अहिलेसम्मकै उच्च विन्दु हो। यस दिन नेप्सेको उच्च विन्दुसँगै उच्च रकमको समेत कारोबार भएको छ। दुई करोड ५१ लख ६३ हजार कित्ता सेयरको खरिदबिक्री हुँदा ११ अर्ब ६९ करोड ५० लाख रूपैयाँ भन्दा बढीको सेयर कारोबार भयो।  

नेप्सेमा नयाँ उचाइसँगै १६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भयो।  त्यस्तै युनाइटेड इदी मार्दी, कालिका पावर, बरुण हाइड्रोपावर, सिनर्जी पावर तथा बेस्ट फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, आइसिएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सका सेयर पनि सकारात्मक सर्किट लेवलमा कारोबार भए।  

महामारीको बेला सेयर बजार उकालो लाग्नुमा लगानीकर्ताहरूका विभिन्न खाले तर्क छन्। कतिपय लगानीकर्ता निषेधाज्ञा कारण लगानीकर्तालाई घरमै बसेर सेयर करोबार गर्न सहयोग पुगेको बताउँछन्। त्यस्तै महामारीले गर्दा बैंक तथा वित्तीय संस्थालाई अन्य क्षेत्रमा लगानी क्षेत्रमा लगानी गर्न कठिन भएको हुँदा वित्तीय संस्थाले सेयरमा लगानी गरिरहेको कतिपयको तर्क छ।  

विज्ञहरू भने यतिखेर सेयर बजार वृद्धि हुनुपर्ने कुनै कारण नभएको तर्क गर्छन्। नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले यो वर्ष अघिल्लो वर्षको तुलनामा थोरै लाभांश दिने सम्भावना रहेकाले जथाभावी लगानी नगर्न साना लगानीकर्तालाई विज्ञको सल्लाह छ।  

गत वर्ष औसतमा १३ प्रतिशत लाभांश वितरण गरेका वाणिज्य बैंकहरूको खुद नाफा यो वर्ष पनि खासै बढ्न नसक्ने धेरैको अनुमान छ। विकास बैंकहरूको अवस्था पनि सुधार हुन सकेको छैन। कोरोना महामारी सुरु भएपछि बैंकहरूले पूर्ण रूपमा काम गर्न नपाएको गुनासो गर्दै आएका छन्। लाभांश प्राप्त गर्ने सम्भावना न्यून हुदाहुँदै पनि सेयर बजार बढ्नुको कारण ठूला लगानीकर्ताले अनावश्यक चलखेल गरेको हुनसक्ने कतिपय विज्ञको अनुमान छ।

‘यो बेला ठूला लगानीकर्ताले अनावश्यक प्रभाव पारी सेयर मूल्य बढाएर नाफा बुक गर्न खोजेका हुन सक्छन्,’ एक विज्ञले नागरिकसँग भने, ‘यस्तो बेला साना लगानीकर्ताले विचार गरेर मात्र सेयरमा लगानी गर्नुपर्छ।’ जथाभावी लगानी गरियो भने नाफा होइन कि लगानी नै डुब्ने खतरा रहेको उनको भनाइ छ। लगानी गर्दा विगत केही वर्षयताको प्रगतिलाई हेर्नुपर्ने विज्ञहरूको सल्लाह छ।  

एचआइडिसिएलले हकप्रद निष्कासन गर्ने  

यसैबीच, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले आइतबार उक्त कम्पनीलाई १ः१ अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो।  

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको ११ अर्ब रूपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले लामो समयदेखि हकप्रद निष्कासनका लागि तयारी गरिरहेको थियो। हकप्रद निष्कासनपछि कम्पनीको पुँजी २२ अर्ब रूपैयाँ पुग्नेछ। 

प्रकाशित: १० जेष्ठ २०७८ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App