२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

बुधबार निषेधाज्ञायता कै सबैभन्दा धेरै उडान

कोरोना संक्रमण रोक्ने उद्देश्यले राजधानीमा निषेधाज्ञा जारी गरेपछि अन्तर्राष्ट्रियतर्फका नियमित उडान बन्द छन्। यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार १३ वटा उडान भएको विमानस्थल कार्यालयले जनाएको छ।  बुधबारका उडानहरू नियमित नभएर मेडिकल चार्टर्ड तथा उद्धार उडान रहेको विमानस्थल कार्यालयले जनाएको छ। 

विमानस्थल कार्यालयका अनुसार बुधबार नेपाल वायुसेवा निगम (एयरलाइन्स) ले सबैभन्दा बढी सात र हिमालय एयरलाइन्सले चार उडान भरेको छ। नेपाल एयरलाइन्सले चीनको बेइजिङ, सेन्जेनमा १–१ तथा साउदी अरेबियाका दमाममा दुई उडान र रियादमा एक उडान भरेको हो। भारतको नयाँ दिल्लीमा जारी एयर बबल उडान अन्तर्गतको नियमित एक उडान पनि भएको छ।

त्यस्तै, हिमालय एयरलाइन्सले चीनको कुनमिङमा तीन र दमाममा एक उडान भरेको छ। सिचुवान एयरले छेन्दुबाट कार्गो काठमाडौं ल्याउँदैछ भने एयर चार्टर्ड सर्भिसको काठमाडौं–दिल्ली उडान भएको छ। अन्तर्राष्ट्रियतर्फको उडान जेठ १७ सम्म बन्द रहे पनि सरकारले भारतमा भने हप्ताको दुई दिन नियमित उडान जारी राखेको छ। नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरूप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको हो। 

उक्त सम्झौताअनुरूप सातामा दुई उडान हुन्छ। नेपालमा रोकिएका भारतीय नागरिकलाई मध्यपूर्व पुर्‍याउन उडान जारी रहेपछि नेपालमा अलपत्र रहेका विदेशी नागरिकलाई पनि आफ्नो मुलुक फर्कन दिनुपर्ने माग उठेको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण बनाउन सरकारसँग माग गरेको हो।

नाट्टाका कार्यबाहक अध्यक्ष विनय बस्नेतले मंगलबार जारी गरेको विज्ञप्तिमा जारी निषेधाज्ञाका कारण विदेशी नागरिक नेपालमा अलपत्र परेको भन्दै स्वदेश फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिएको छ। ‘नेपाल आएका विदेशी पर्यटक आफ्नो भ्रमण सम्पन्न गरी आफ्नो गन्तव्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकको विवरण संकलन गरी यसै आधारमा आवश्यक गन्तव्यको पहिचान गरी कम्तीमा प्रत्येक साता दुई/तीनवटा नियमित उडान गर्नुपर्छ,’ बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। चार्टर उडानको भाडा ज्यादै महँगो भएको भन्दै नाट्टाले असन्तुष्टि जनाएको छ। नाट्टाले मे २५ देखि नियमित उडानका लागि अनुमति प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: ६ जेष्ठ २०७८ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App