२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

औद्योगिक क्षेत्रका ७० प्रतिशत उद्योग बन्द

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार वैशाख दोस्रो सातासम्म करिब ८१.२ प्रतिशत उद्योग, व्यवसाय पूर्ण रूपमा सञ्चालनमा थिए। राष्ट्र बैंकले २०७८ वैशाख ५ देखि १४ गतेसम्म गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनमा यस्तो देखिए पनि जेठ पहिलो सातामा आइपुग्दा कोभिडको कारण धेरै उद्योग बन्द भएका छन्।  

कोभिड–१९ का कारण मुलुकका १० औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका ७० प्रतिशत उद्योग बन्द भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा सुरु भएको थियो। त्यसपछि क्रमशः कोभिडको संक्रमण बढ्दै गएपछि अहिले मुलुकका ७४ जिल्लामा निषेधाज्ञा छ।  

वैशाख दोस्रो सातासम्म अध्ययन गरिएको भए पनि त्यसपछि कोरोना संक्रमण र कोभिडसम्बद्ध मृत्यु उच्च दरमा वृद्धि भएपछि उद्योग धमाधम बन्द भएका हुन्। औद्योगिक क्षेत्रमा रहेका ६ सय ९७ मध्ये २५÷३० प्रतिशत उद्योग मात्र सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निर्देशक दिलीप श्रेष्ठले बताए। ‘कामदारमा कोभिड देखिएको तथा आवतजावतमा समस्या भएका कारण ७०÷७५ प्रतिशत उद्योग बन्द भएका छन्,’ निर्देशक श्रेष्ठले भने, ‘कामदार पनि त्रसित भएकाले धेरै उद्योग सञ्चालन हुन सकेका छैनन्।’ औद्योगिक क्षेत्रमा पानी, दूध, खाद्यान्न, ग्यास बाहेकका प्रायः सबै उद्योग बन्द भएको श्रेष्ठले बताए।  

काठमाडौंको बालाजु, हेटौंडा, पाटन, पोखरा, बुटवल, नेपालगन्ज, धरान, भक्तपुर, गजेन्द्रनारायण सिंह र वीरेन्द्रनगर औद्योगिक क्षेत्र छन्। ती औद्योगिक क्षेत्रमा अत्यावश्यक बाहेक सबै उद्योग बन्द भएका हुन्। सरकारले व्यवस्थापन गरेका औद्योगिक क्षेत्रबाहेक अद्यौगिक करिडोरमा सञ्चालनमा रहेका उद्योग पनि राम्रोसँग सञ्चालन हुन सकेका छैनन्। केही उद्योगले निश्चित प्रतिशत कामदार राखेर सञ्चालन गरेका छन् भने केही पूर्ण रूपमा बन्द छन्।  

कोरोना महामारीको कारण ऋणात्मक भएको अर्थतन्त्र पूर्ण रूपमा पुनरुत्थान हुन नपाउँदै कोभिडको दोस्रो लहरले असर गरेको छ। गत वर्षको लकडाउनमा कच्चा पदार्थ लगायत कारण उद्योग सञ्चालनमा कठिनाइ भएकोमा यो वर्ष कामदार निकै त्रसित भएकाले सञ्चालन गर्न नसकेको नेपाल सिमेन्ट उत्पादक संघका महासचिव ताराप्रसाद पोखरेलले बताए।  

धेरै उद्योगका कामदारमा कोरोना पोजेटिभ देखिएकाले समस्या उत्पन्न भएको उनले बताए। ‘कामदार बिरामी भए उपचार गर्न अस्पतालमा बेड छैन,’ पोखरेलले भने, ‘सिमेन्ट उद्योगहरू पनि करिब ५० प्रतिशतमात्र सञ्चालन छन्।’ यो वर्ष उद्योगले कच्चा पदार्थ ल्याएर राखे पनि त्रासको कारण कामदार उद्योगमा बस्न नमानेको उनले बताए। राज्यको गैरजिम्मेवारीपनका कारण उद्योग चलाउन कठिन भएको उनले बताए। ‘जनता बिरामी भए उपचार गर्ने दायित्व राज्यको हो,’ उनले भने, ‘राज्यको लाचारीपनले उद्योग सञ्चालन गर्न कठिनाइ भयो।’ उद्योगले रोजगारी सिर्जना गर्ने, कर तिर्ने काम गरे पनि सरकारले आफ्नो दायित्व पूरा नगरेको आरोप लगाए।

अहिले मुलुकका ७४ जिल्लामा निषेधाज्ञा छ। प्रमुख औद्योगिक करिडोर बारा, पर्सा, हेटौंडा, पोखरा, भैरहवा, विराटनगर, सुनसरी, नेपालगन्ज लगायतमा पनि उद्योग सञ्चालनमा कठिनाइ भएको छ। कोरोनाको नयाँ भेरियन्टले उद्योग प्रभावित भएको नेपाल उद्योग परिसंघले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उद्योग प्रतिष्ठान सञ्चालन मापदण्ड, २०७७’ जारी गरेर सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गरी उद्योग सञ्चालन गर्न आग्रह गरेपछि उद्योग चलाउन कठिनाइ भएको उद्योगीले बताएका छन्।  

कोभिडले उद्योगमा मात्र नभएर व्यवसाय, पर्यटन, सेवा लगायत सबै क्षेत्रमा असर पारेको छ। कोभिडको पहिलो लहरको कारण गत वर्ष साना तथा घरेलु उद्योग बन्द भएका थिए। उद्योग मन्त्रालयले गरेको एक अध्ययनले कोभिडको समयमा बन्द भएका करिब ११ प्रतिशत उद्योग सधैंका लागि बन्द भएका छन्। मन्त्रालयले ‘कोभिड–१९ ले उद्योग क्षेत्रमा पारेको प्रभाव’का विषयमा अध्ययन गरेको थियो। मन्त्रालयले ३७ प्रकारका उद्योग, व्यवसायको अध्ययनमा यस्तो देखिएको थियो। हस्तकला, सिमेन्ट, स्टिल, गरगहना, रङरोगन, पेयपदार्थ, भाँडा वर्तन, तयारी पोसाक, परामर्शलगायत वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगको अध्ययन गरिएको हो।  

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा गत वर्षको लकडाउनका बेला ९६.७ प्रतिशत उद्योगको ७३.८ प्रतिशत औद्योगिक उत्पादन÷कारोबार घटेको थियो। २२.५ प्रतिशत श्रमिकले रोजगारी गुमाएका थिए। अन्य क्षेत्रको तुलनामा लघु, घरेलु, तथा साना उद्योगहरूले अधिकांश कामदार कटौती गरेका थिए।  

कोभिडले उद्योगको उत्पादन क्षमतामा पनि ह्रास आएको छ। उत्पादित वस्तुले बजार नपाएपछि उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। कोभिडको समयमा कामदार, कच्चा पदार्थको अभाव, उत्पादित वस्तुले बजार नपाउने समस्या छ। कोभिडको समयमा केही उद्योग सञ्चालन भए पनि घाटा बेहोर्नु परेको उद्योगी बताउँछन्। कोभिडले सानादेखि ठूला उद्योगमा कच्चा पदार्थको आयात, वस्तुको उत्पादन, बिक्रीमा असर परेको छ। 

प्रकाशित: ६ जेष्ठ २०७८ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App