१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नागढुंगा सुरुङमार्गमा आधा कामदारले साइट छाडे

निर्माणाधीन नागढुंगा सुरुङमार्गमा कार्यरत केही कामदारमा कोभिड–१९ देखिएसँगै कार्यरत आधा कामदार साइट छाडेर घर फर्किएका छन् । सुरुङमार्गमा कार्यरत ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरसहित ३३ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को दोस्रो लहर देखा नपर्दासम्म आयोजनामा ६ सय ५० भन्दा धेरै कामदार कार्यरत थिए । घरका सदस्य र आफन्तमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै करिब तीन सय कामदारले साइट छाडेर गएका हुन् ।  

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले कोभिड–१९ को दोस्रो लहरले सुरुङमार्ग आयोजनामा आशिंक प्रभाव देखिन थालेको बताए । ‘आयोजनामा कार्यरत ३३ जनामा कोरोना संक्रमण देखिएसँगै कामदारहरू त्रसित भएर साइट छाड्ने बढिरहेका छन्,’ उनले भने, ‘कामदारका घरका सदस्य र आफन्त संक्रमित भएर पनि साइट छाड्ने बढेका हुन् ।’  

आयोजना प्रमुख शाक्यले कार्यरतमध्ये ५० प्रतिशत कामदार कोभिड–१९ को मनोवैज्ञानिक त्रासको कारण साइट छाडेर घर गएको बताए । ‘अहिले संक्रमित ३२ जनाको साइटकै आइसोलेसनमा र एकजनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने ।

आयोजनाले साइटमा नै अक्सिजनसहितको मेडिकल सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजना प्रमुख शाक्यले केही कामदारले साइट छाडेर गए पनि अहिलेसम्म सुरुङमार्ग निर्माणको काम भने प्रभावित भइनसकेको दाबी गरे । ‘अहिले पनि सुरुङ निर्माणको काम जारी छ,’ उनले भने, ‘कोभिड महामारीको समय भएकाले कति बेला के हुन्छ भनेर पूर्वानुमान गर्न सकिँदैन । अहिले हामीले कामदारको सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर काम गराइरहेका छौंं ।’  

आयोजना प्रमुख शाक्यले कामदारको सुरक्षामा उच्चतम सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण देखिएको बताए । ‘निर्माण कम्पनीले क्याम्पभित्र कोभिड महामारी फैलिएको कारण मुख्य सुरुङको काम मात्रै नियमित गर्ने भनेको छ,’ उनले भने, ‘सुरुङ बाहेकका अन्य काम केही समयको लागि स्थगित गर्ने निर्णय गरेको छ ।’

आयोजनाका अनुसार कोरोना संक्रमण बढेसँगै काठमाडौंतर्फको पहुँचमार्ग, कल्भर्ट लगायतका काम भने प्रभावित भएको छ । अहिलेसम्म मुख्य सुरुङ ९७ मिटर खन्ने काम सकिएको छ । इभाक्युएसन टनेल (सुरुङ) तर्फ भने चार सय मिटर खन्ने काम भइसकेको छ । ‘निर्माण कम्पनीले क्याम्पभित्र कोभिड महामारी फैलिएको कारण मुख्य सुरुङको काम नियमित गर्ने भनेको छ,’ उनले भने, ‘सुरुङ बाहेकका अन्य काम भने केही समयको लागि स्थगित गर्ने निर्णय गरेको छ ।’ आयोजनाका अनुसार सुरुङ खन्ने र बाहिर खन्ने दुवैतर्फका कामदारमा कोभिड–१९ देखिएको छ । आयोजनाका अनुसार अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति १२ प्रतिशत भएको छ ।  

आयोजना प्रमुख शाक्यले कोभिड–१९ को असर कहिलेसम्म रहने यकिन नभएकाले काम प्रभावित हुने÷नहुने अहिले नै भन्न नसकिने बताए । ‘साइटमा कोभिड–१९ संक्रमण अझै बढ्यो भने त काम रोक्नुपर्ने बाध्यतात्मक परिस्थिति पनि आउन सक्छ,’ उनले भने, ‘साइटमा संक्रमण नबढेको खण्डमा मात्रै काम अघि बढ्छ । ठूलो जोखिम लिएर आयोजनाको काम अघि बढाउन सकिँदैन ।’

आयोजनाका अनुसार मुख्य सुरुङ ८.२÷१५ मिटरकोे हुनेछ  । आयोजनाको काम रात–दिन दुवै सिफ्टमा भइरहेको छ । आयोजनाले अहिले विस्फोटक पदार्थ प्रयोग गरेर खनिरहेको छ । यो सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको हो । यो सुरुङमार्ग मेलम्ची खानेपानी आयोजनाको जस्तै गरेर खनिनेछ । 

सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ । साढे ९ र चार मिटरका दुईवटा सुरुङ निर्माण गर्ने लक्ष्य छ । २.६८ किलोमिटर सुरुङ सन् २०२३ को अप्रिलसम्म सम्पन्न गर्ने लक्ष्य छ । धादिङ र काठमाडौंतर्फ ५–५ सय मिटर सडक, दुई फ्लाइओभर, सुरुङमार्ग र मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब खर्च हुनेछ । यो आयोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको छ । 

सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ । यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रुपैयाँ खर्च हुनेछ ।

प्रकाशित: ५ जेष्ठ २०७८ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App