४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दूध खपत ६० प्रतिशत घट्यो

कोभिड–१९ महामारीका कारण मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी हुँदा दूध खपत ६० प्रतिशत घटेको छ। निषेधाज्ञाले होटल, रेस्टुरेन्ट, सरकारी तथा निजी कार्यालय बन्द हुँदा दूधको बिक्री स्वाट्टै घटेको हो।  

नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालका अनुसार अहिले बजारमा विगतको तुलनामा ४० प्रतिशत मात्र दूध बिक्री भएको छ। ‘कोभिड–१९ को कारण दूध तथा दुग्ध पदार्थको बिक्रीमा ६० प्रतिशतले गिरावट आएको छ,’ महासचिव दाहालले भने, ‘दैनिक १० करोड रूपैयाँ बराबरको दूधले बजार पाउन सकेको छैन।’

सहरी क्षेत्रमा डेरा गरी बस्नेहरू गाउँ फर्किएका छन्। कोराना संक्रमण सर्न सक्ने आशंकामा सहरी क्षेत्रका बासिन्दा पनि दूध किन्न घरबाट कम निस्किएका छन्। व्यक्तिगत सुरक्षाको कारण पनि धेरै दूध पसल बन्द छन्। कतिपयले ग्राहक नआएकाले बन्द गरेका छन्।  

एसोसिएसनका अनुसार सामान्य अवस्थामा उपत्यकामा मात्र दैनिक सात लाख लिटर दूध बिक्री हुन्छ। निषेधाज्ञापछि अहिले करिब दैनिक दुई लाख ८० हजार लिटर मात्र बिक्री भएको छ। दैनिक चार लाख ९० हजार लिटर दूधले बजार पाएको छैन।

निषेधाज्ञाले मौज्दात धुलो दूध र बटर पनि बिक्री भएको छैन। दुग्धजन्य पदार्थ बिक्री नहुँदा निजी क्षेत्रका डेरी र दुग्ध विकास संस्थानमा करिब तीन अर्ब रूपैयाँको दूध तथा बटर भण्डारण थन्किएको एसोसिएसनले जनाएको छ। दुग्धजन्य बिक्री नभएपछि अधिकांश डेरी उद्योग बन्द हुने अवस्थामा पुगेको दाहालले बताए।

दूध बिक्री नभएर डेरीले दूध खरिद गर्न छाडेपछि किसान समस्यामा परेका छन्। किसानले उत्पादन गरेको दूध बिक्री नभएर बिदा गर्नुपरेको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले जनाएको छ। दूध बिक्री नहुँदा किसानलाई ठूलो घाटा भएको दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले बताए। ‘दूधको उचित व्यवस्थापन नहुँदा किसान समस्यामा परेका छन्,’ उनले भने, ‘पशुलाई आहारा खुवाउन समेत समस्या भएको छ।’ किसानले दूध दुहेर गाई र भैंसीलाई पनि खुवाएका छन्।

डेरी उद्योगले पनि दूध संकलन गरेर पाउडर नबनाएकाले मर्कामा परेको किसानको गुनासो छ। दूध नबिकेपछि उत्पादन घटाउन गाइभैंसीलाई परालमात्र खुवाउने गरेको किसान बताउँछन्। अहिले डेरी उद्योगले दूधबाट बनाउनले दुग्धजन्य परिकार पनि बनाएका छैनन्। अचेल घरायसी प्रयोगमा पनि सीमित उपभोक्ताले मात्र दूध प्रयोग गरेका छन्।  

दूध खपत नभएपछि पाउडर उत्पादन गर्ने प्लान्टले दूध खरिद गरेर पाउडर बनाउनुपर्ने भए पूर्ण रूपमा उद्योग सञ्चालन गरेका छैनन्। दूध तथा दुग्धजन्य वस्तुको बिक्री घटेपछि चितवन मिल्क लिमिटेडले उत्पादन बन्द गरेको छ। धुलो दूध र बटर बिक्री नभएपछि बन्द गरेको हो। चितवन मिल्कमा करिब आठ सय टन धुलो दूध र बटर मौज्दात रहेको जनाएको छ। दुग्ध विकास संस्थानले पनि दूध बिक्री नहुँदा किसानलाई रकम भुक्तानी दिन कठिन भएको जनाएको छ।

दुग्ध किसान र डेरी उद्योग समस्यामा परेको भन्दै राहातको प्याकेज ल्याउन सरकार समक्ष माग गरेका छन्। नेपाल डेरी एसोसिएसन र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराउँदै सहयोग मागेका हुन्।  

दूध बिक्री नभएपछि बैंक, सहकारीको ब्याज, किस्ता तिर्न र दाना, घाँस खुवाउन समस्या परेको संघका महासचिव आचार्यले बताए। दुग्ध सहकारी संस्थामार्फत किसानको खातामा जाने गरी राहत रकम उपलब्ध गराउन संघले कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याललाई ज्ञापनपत्र बुझाएको छ। किसानले बैंक तथा सहकारीबाट लिएको ऋणको ब्याज मिनाहा हुने व्यवस्था गर्न माग गरेको महासचिव आचार्यले बताए।

डेरी उद्योगीहरूको मनोबल उच्च राख्न तत्काल सरकारको तर्फबाट उचित कदम चाल्न आवश्यक रहेको एसोसिएसनका महासचिव दाहालले बताए। ‘ऋणको ब्याज मिनाहा एवं स्टक सामान बराबरको कर्जा उपलब्ध गराउन माग गरेका छौं,’ उनले भने, ‘आगामी बजेटमा विशेष राहत प्याकेज ल्याउन आवश्यक छ।’ यता कृषि तथा पशुपक्षी विकासमन्त्री अर्यालले कोभिड महामारीले कृषि क्षेत्रमा पारेको असर अध्ययन गर्न निर्देशन दिएकी छिन्। आइतबार मन्त्रालयमा विभागीय प्रमुखहरूलाई यस्तो निर्देशन दिएकी हुन्। ‘कृषकका समस्या समाधानमा ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘क्षति पुगेका कृषकलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्नुपर्छ।’

पशुपालनमा निजी, सहकारी क्षेत्रलाई आकर्षित गर्दै व्यवसायीकरण गरी उत्पादन बढाउने सरकारी लक्ष्य छ। सरकारले वार्षिक तीन अर्ब १३ करोड लिटर दूध उत्पादन गर्ने लक्ष्य लिएको छ। कोभिड महामारीले किसानको मनोबल खस्किँदा असर पर्ने देखिएको छ। कुल गार्हस्थ उत्पादनमा दूधको योगदान करिब नौ प्रतिशत छ। दूधको वार्षिक माग आठ प्रतिशतले वृद्धि हुने अनुमान छ। 

प्रकाशित: ३ जेष्ठ २०७८ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App