२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

रसुवा भन्सारः दश महिनामा लक्ष्यको तुलनामा आधा पनि राजस्व उठेन

रसुवा भन्सार कार्यालय । तस्बिरः हिमनाथ/नागरिक

चालु आर्थिक वर्ष २०७७/७८ को दश महिना बितिसक्दा समेत रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको छैन। कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यातमा कडाइ गरिएसँगै राजस्व संकलन प्रभावित बनेको हो। २०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ।  

२०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो। पछि एकतर्फी रूपमा नाका सञ्चालनमा आयो। तर पछिल्ला दिनमा नाकामा कारोबार निकै घटेको छ। दैनिक ८ वटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन्। यो पर्याप्त छैन।  

कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब २४ करोड ३३ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा साउनदेखि वैशाख मसान्तसम्ममा २ अर्ब ८५ करोड ६४ लाख ३१ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ। यो लक्ष्यको ४९.१ प्रतिशत हो।  

कार्यालयको तथ्यांक अनुसार जेठ र असार महिनामा ४ अर्ब ३८ करोड ६८ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गर्नुपर्छ। हाल रसुवागढी नाकाबाट भइरहेको आयातको दर हेर्दा लक्ष्य पूरा गर्नसक्ने अवस्था छैन।  

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण डेड वर्षदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको छ। नाकाबाट न्यून सामग्री आउने र आएका सामग्री पनि भन्सार छुट हुने खालका आउँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। ‘पहिले दिनमा सयवटाभन्दा बढी गाडीमा सामग्री आउथ्यो’, उनले भने, ‘अहिले दैनिक सातवटा चिनियाँ गाडीले सामग्री ल्याउँछन्।’  

कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन पनि प्रभावित भएको हो। कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार राजस्व संकलन गरेको थियो।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: २ जेष्ठ २०७८ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App