१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषि पर्यटनका लागि माछा फार्म सञ्चालनको अवधारणा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि पर्यटनको विकासका लागि माछा फार्म सञ्चालनको अवधारणा ल्याएको छ. नगरपालिकाले कृषि पर्यटनको विस्तारका लागि खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने फाँटमा माछा फार्म सञ्चालन गर्ने योजना बनाएको हो।

हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको कुखुरेबेसीमा माछा फार्म सञ्चालनका लागि मत्स्य विकास केन्द्र बालाजुको प्राविधिक सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भइसकेको मेयर इवन राईले बताए। हलेसी आएका आन्तरिक तथा बाह्य पर्यटकलाई दूधकोसीको किनारमा रहेको कुखुरेबेसीमा पुर्याउने र उनीहरुको बसाई एक/दुई दिन लम्ब्याउने लक्ष्यका साथ नगरपालिकाले माछा फार्मको अवधारणा अघि सारेको जनाएको छ।

कृषि पर्यटनको विकासका लागि कुखुरेबेसीमा फैलिएको करिब ९२ रोपनी जग्गाभित्र रेष्टुरेन्ट, माछापोखरी, स्विमिङ पुल, रिसोर्ट, बगैंचा लगायतका आकर्षक संरचना निर्माण गरिने डिपीआरमा उल्लेख छ। कुखुरेबेसीमा माछापालनका लागि ठूला–ठूला ७ वटा पोखरी निर्माण गरिने छन्। सो स्थानमा पुग्ने व्यक्तिले आफै माछा मार्दै रमाइलो गर्ने व्यवस्था गरिने छ।

करिब ६ करोड ८ लाख ७७ हजार ३३५ रुपैयाँको बजेटमा आवश्यक संरचना निर्माण गरेपछि माछा फार्म भाडामा सञ्चालन गर्न दिइने मेयर राईले बताए। सो स्थानमा फुलबल, भलिबल लगायतका खेलकुदसम्बन्धी गतिविधिका लागि पनि संरचना तयार पारिने जनाइएको छ।  

कुखुरेबेसीको माछा फार्मको सम्भावना बलियो देखिएको मेयर राईले बताए। सो स्थानमा झोलुंगे पुल बन्न लागेकाले माछा फार्म योजना थप फलदायी हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २४ वैशाख २०७८ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App