१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

व्यवसायमा ताल्चा

पोखराको न्यूरोडमा एक पसलमा लागेको ताला । तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणको त्रासका कारण गतवर्ष चैतदेखि गरिएको लकडाउनले महिनौंसम्म व्यवसायमा ताला लाग्यो । संक्रमणबीच लकडाउन खुकुलो हुँदै जाँदा व्यवसायको ढोका पनि खुल्दै गयो । पछिल्लो समय वैशाख पहिलो सातासम्म व्यवसायले झन्डै कोरोना अघिकै आकार लिइसकेको थियो । तर, अचानक कोरोनाको दोश्रो लहर फैलिँदा व्यवसायमा पुन ताला लागेको छ । दोश्रो पटक लागेको ताला अब कहिले खुल्छ भन्नेमा व्यवसायी नै अन्योलमा छन् ।  

कास्की प्रशासनले सोमबारदेखि लागु हुनेगरि पोखरामा अत्यावश्यक बाहेक सबैखाले व्यवसाय बन्द गर्न निर्देशन दिएसँगै यहाँको बजार पनि सुनसान छ । व्यवसायीले व्यवसायको ढोकामा बढेमानको ताल्चा मारेका छन । बजार पूर्ण ठप्प छ । प्रशासनले कोरोनाको चेनब्रेक गर्ने भन्दै बैशाख महिनाभर कास्कीमा निषेधाज्ञामा कडाई गरेसँगै बजार पूर्णरुपमा ठप्प बनेको हो । बजार ठप्प बनेपछि व्यवसायी भने चिन्तित छन् ।  

जसोतसो अघिल्लो वर्षको व्यापारको नोक्सान कम हुँदै जान थालेको बेला एकाएक दोश्रो लहरले पुन व्यवसायमा ताला लगाउनुपर्दा आर्थिक अवस्था चौपट भएको व्यवसायी बताउँछन् । ‘अब त व्यवसाय कहिले खुल्छ भन्ने भन्नै सकिन्न,’ पोखरा ट्रेडमलका व्यवसायी नवराज त्रिपाठी भन्छन, ‘अघिल्लो पटक तीनमहिना बढि समय बन्द  भएको व्यवसायले खुलेपछि केही आकार बढाउँदै गएको थियो । तर अब भने झनै सिथिल हुने अवस्था देखिएको छ ।’  

उनका अनुसार अघिल्लो वर्षको लकडाउन खुलेपछि व्यवसायले पनि पहिलेकै आकार लिन थालेको थियो । व्यवसायी अघिल्लो पटकको घाटा पूर्ति हुन थाल्दा उत्साही पनि थिए । तर, अब भने झनै अन्योल बनाएको उनले बताए । ‘बजारले गति लिईसकेको थियो । तर, दोश्रो लहरले व्यवसाय सहजै उठ्न गाह्रो छ,’ उनले भने । उनका अनुसार अघिल्लो पटकको घाटा सबै क्षेत्रमा करिब घट्दै गएको अवस्थामा अब भने सबैलाई सकस पर्ने संकेत देखिएको छ । ‘पोहोर भाडामा व्यवसाय गरेका व्यवसायीाई घरमुलिले पनि छुट दिएका थिए । तर, अब त्यो अवस्था पनि रहन्न,’ उनले भने, ‘घरभाडा छुट देउ भनेर भन्न पनि सकिन्न । घरमुलिले पनि दिन सक्ने अवस्था छैन ।’

व्यवसायी त्रिपाठीका टे«डमल भित्र तीनवटा पसल छन् । तीनवटै पसल बन्द गर्दा ठुलो आर्थिक भार बेहोर्नुपर्ने अवस्था निम्तिएको उनले बताए । ‘चीनबाट सामान आउन सहज थिएन । तैपनि व्यवसायीले नेपाली गार्मेन्टको उत्पादनले बजारको माग धानेका थिए,’ फेन्सी व्यवसायी संघ कास्कीका सचिव समेत रहेका त्रिपाठी भन्छन, ‘अब भने सबै क्षेत्र जोखिममा छ । व्यवसाय भन्दा पनि ज्यान जोगाउन मुस्किल हुने अवस्था देखिएको छ ।’

अर्का फेन्सी व्यवसायी मिनराज काफ्ले पनि व्यवसायको यो मन्दीले दीर्घकालिन असर पार्ने बताउँछन् । ‘कति महिना व्यवसाय बन्द गर्ने भन्ने निश्चित छैन । अब झनै मन्दी आउने पक्का छ । आगामि आर्थिक वर्षको बजेटमा सरकारले व्यवस्थापन गर्न सकेमा केही सहज होला, नत्र गाहे छ,’ काफ्लेले भने, ‘अहिलेसम्म रेमिट्यान्सले मात्र व्यापार घाटा धान्ने हो । आन्तरिक उत्पादन नबढ्ने हो भने आगामि दिन निकै नै चूनौतिपूर्ण बन्नेछन् । हामीजस्ता व्यवसायी अब बिस्थापित हुने चिन्तामा छौ ।’ उनका अनुसार कोरोना त्रासका कारण बीचमा धेरै सामान चीनबाट ल्याउन पनि सहज थिएन । चीनबाट सामान आयात गर्नुपर्ने अवस्थामा पनि सहजै ल्याउन सकिएको थिएन । त्यसले गर्दा व्यवसायीले बढी नोक्सान खेप्नुपरेको थियो ।  

‘धेरै नेपाली आयातकर्ता अप्ठेरोमा थिए । अब यही कारणले गर्दा झनै समस्या आउने देखिन्छ । अहिलेसम्म सामान छुटाउन सकस थियो,’ उनले भने, ‘पहिला पहिला व्यवसायी आफै गएर किन्ने गरेका थिए । तर, पछिल्लो समय व्यवसायीले आफुले नहेरी सामान ल्याउँनुपर्दा डम्पिङ हुने जोखिम पनि बढेको छ ।’ कोरोनाको पहिलो चरणको संक्रमण बीचमा खुलेको व्यवसाय झन्डै लयमा फर्किन थालेकोमा अब भने उठ्न मुस्किल रहेको उनले बताए ।  

पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल पनि व्यवसाय पहिलेकै आकारमा फर्किनै नपाई धरापमा परेको बताउँछन् । उनले व्यवसायी नै बिस्थापित हुने गरि अहिलेको अवस्था सिर्जना भएको बताए । ‘व्यवसाय त डामाडोल हुने अवस्था आएको छ । एकातिर मानवीय क्षति पनि बढिरहेको छ । अर्काेतिर व्यवसायमा भारी नोक्सान छ,’ पोखरेलले भने, ‘यस्तै अवस्था आएमा लुटपाटका घटना पनि बढ्न सक्छन ।’

कोरोना नियन्त्रणमा बेलैमा ध्यान नदिँदा यो अवस्था आएको उनले बताए । ‘एकवर्षको अवधिमा हामीले धेरै पूर्वाधार तयार पार्नुपर्ने हो । फुर्सदको त्यो समयलाई हामीले कामै नगरी गुजा¥यौ,’ पोखरेलले भने, ‘हामीले कोरोना नियन्त्रणका लागि प्रयास गर्न सकेनौ । पहिले पनि हामी सुत्यौ, पूर्वतयारी गर्न नसक्दा हामी चुकेका छौ । यसको घाटा सबैतिर छ ।’

अहिलेको बन्दले निजी क्षेत्र कोमामा पुगेको उनले बताए । ‘२०२२ सम्म व्यवसाय पुरानै आकारमा आउने आँकलन थियो । तर अब त्यो आशा पनि हरायो,’ उनले भने, ‘पहिलो चरणको लकडाउनपछि व्यवसाय पुरानै आकारमा आउन थालेको थियो । पर्यटन क्षेत्रमा पनि आन्तरिक पर्यटकको आउजाउले केही सहज भएको थियो । तर, अब पर्यटन मात्र नभई सबै क्षेत्र डामाडोल हुने अवस्था आयो ।’ कोरोनाका कारण व्यवसायी सधैंका लागि बिस्थापित हुने चिन्ता पलाएको उनले बताए । ‘पोहोरको भन्दा फरक अवस्था अहिले देखिएको छ । व्यवसाय त नोक्सानमा छ नै ज्यानै जोगाउन हम्मेहम्मे हुने अवस्था आएको छ,’ पोखरेलले भने । 

प्रकाशित: २२ वैशाख २०७८ ०९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App