२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पप्पुले बकैयामा बनाएको पुलः निर्माण पूरा नहुँदै भत्किने अवस्थामा

चार वर्ष पहिले नै निर्माण सम्पन्न भइसक्नु पर्ने बकैया नदीको एउटा पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको छ । रौतहट सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने बकैया नदीमा निर्माणाधीन पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको हो ।

२०७१ असार २९ मा ठेक्का सकार गरेर २०७४ असार २५ भित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेमा पप्पु कन्स्ट्रक्सन करिब पचास प्रतिशत काम गरेर अधुरै अवस्थामा छोडेको छ । १४ करोड ९३ लाखमा ठेक्का सकार गरेको पप्पुले ठूलो दलबलसहित तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासित शिलान्यास गराउँदै निर्धारित समयभित्रै काम सम्पन्न गर्ने वचनबद्धता प्रकट गरेको थियो । समयमा पुल निर्माण हुन नसक्दा निरन्तर जीर्ण बन्दै गएको पुल भत्किने अवस्थामा पुगेको स्थानीयले गुनासो गरेका छन् ।  

पुलमा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएकोले पुलबाट सिमेन्ट झर्न लागेको तथा पुलमा प्रयोग गरिएको फलामे डन्डीमा खिया लागेर बर्बाद भइरहेको छ । अधुरो पुल निर्माणको लागि सम्बन्धित निर्माण कम्पनीले उचित ध्यान नदिँदा निर्माण नहुँदै पुल भत्किने खतरा रहेको स्थानीयबासीले चिन्ता व्यक्त गर्न थालेका छन् ।  

गौर नगरपालिका ४ का वडाध्यक्ष भुवनेश्वर साहीले जिल्ला प्रशासन कार्यालय, प्रदेश तथा केन्द्र सरकारको सम्बन्धित मन्त्रालय र निकायलाई जति गुहार्दा पनि कसैले काम सम्पन्न गराउनतिर चासो नदिएको गुनासो गर्दै आउँदो वर्खायाममा पनि स्थानीयबासी डुंगाको अति नै कठिन र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेको बताउँछन् । निर्माणाधीन पुललाई हेर्दै स्थानीयबासी सरकारलाई सराप्दै डुंगामा वारपार गर्न बाध्य हुने निश्चित रहेको वडाध्यक्ष साहीको भनाइ छ ।

गौर ४ टिकुलिया गाउँका स्थानीयको अधिकांश खेतबारी बकैया नदीभन्दा पश्चितिर नै रहेको छ । बिहानदेखि बेलुकासम्म स्थानीयबासी घाँस लिन तथा खेतबारीको काम गर्न नदी पारि नै जाने गरेका छन् । हिउँदमा बाँसको लचका बनाएर नदी वारपार गर्ने गरेका स्थानीयबासी वर्खायाममा डुंगाको सहारामा कहालीलाग्दो किसिमले वारवार गर्न बाध्य हुन्छन् । केही वर्षपहिले कैयौँ जनाको मृत्यु यही निर्माणाधीन पुलको पिल्लरमा डुंगा ठोक्किएर भएको थियो ।

निर्माणाधीन पुलको बिमबाट आफैं गिटीहरु झरिरहेको देखिएकोले गुणस्तरहीन सामग्रीको प्रयोग गरेर पुलको निर्माण गरिएको स्पष्ट भएको स्थानीयको आरोप छ । गुणस्तरहीन सामग्रीको प्रयोग गरी निर्माण गरिएको पुलको संरचना भत्काएर नयाँ संरचना बनाउन पनि स्थानीयले माग गरेका छन् ।

पुल निर्माण भएपछि ईशनाथ, राजपुर, परोहा तथा मौलापुर नगरपालिका बासिन्दालाई पनि सदरमुकाम गौर आवतजावत गर्न सजिलो हुने देखिएको छ ।

अन्तिमपटक पुलको निर्माणको लागि थप गरिएको म्याद २०७८ असार समान्तसम्म रहेको भनी निर्माण कम्पनीले केही निर्माण सामग्री खसालिएको छ । समय घर्किसकेकोले कुनै पनि हालतमा निर्माण कार्य सम्पन्न हुन नसक्ने स्थानीयको गुनासो रहेको छ । स्थानीय राजकुमार ठाकुरले पुलको निर्माण समयमा नै भए लाखौँ नागरिकलाई सजिलो हुने बताएका छन् ।

प्रकाशित: १७ वैशाख २०७८ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App