४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो

चीनबाट आयात भएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै । तस्बिरः हिमनाथ/नागरिक

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ । स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ ।  

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ मा रसुवागढी नाका हुँदै आयात भएका १ सय ६३ थान खाद्य सामग्रीको नमुना परीक्षण गरिएको हो । नाकाबाट सामग्री आउने क्रम बढेसँगै परीक्षणमा पनि वृद्धि भएको हो । आएका सामग्रीमध्ये भदौ १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७ र चैतमा ६७ वटा सामग्रीको नमुना परीक्षण गरिएको कार्यालयले जनाएको छ ।  

चालु आर्थिक वर्ष २०७७÷७८ मा रसुवागढी नाका हुँदै १ सय ६३ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ । गएको साउनदेखि चैत मसान्तसम्म १ सय ६३ टन खाद्य सामग्री आयात भएको हो । कार्यालयका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ ।  

तथ्यांक अनुसार पूmल तथा सागपात ३५ टन, खाद्यान्न दलहन तथा अन्य ५४ टन, मसलाजन्य ३.४ टन, दुधजन्य ६.८, मासुजन्य ३.४, चियाजन्य १२.५ र सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका सामग्री ४१.१ टन आयात भएको हो ।

नाकाबाट सामग्री आउने क्रम बढेकाले परीक्षण बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए । उनका अनुसार आएका सामग्री सबै मापदण्ड अनुसारका छन् । ‘यो भन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउथे’, उनले भने, ‘अहिले मापदण्ड पूरा भएका सामग्री मात्र आएका छन् ।’  

चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि हालसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात भएको कार्यालयले जनाएको छ ।  

कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । कोभिड–१९ भन्दा पहिले दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए ।  

अहिले कोभिड–१९ का कारण चिनियाँ सीमित गाडीले रसुवासम्म सामग्री ल्याएर झार्ने काम गरिरहेका छन् । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: १६ वैशाख २०७८ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App