३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

व्यावसायिक कागती खेती गर्दै सरकारी अधिकृत

यहाँको तीनपाटन गाँउपालिका वडा नम्बर १ मा व्यावसायिक कागती खेती सुरु गरिएको छ। कागती खेतीमा राम्रो आम्दानीको सम्भावना भएको भन्दै जिल्लास्थित एक सरकारी कर्मचारीले व्यावसायिक कागती खेती सुरु गरेका हुन्। विष्णुमाया कृषि अग्र्यानिक फर्म नामक कृषि कम्पनी दर्ता गरी उनले सोही फर्ममार्फत एक हजार कागतीका बिरुवा हुर्काएका हुन्। 

सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गा घिमिरे व्यावसायिक कागती खेतीमा जुटेका हुन्। ‘कृषि कर्म गर्न धेरै लगानी गर्नु पर्दैन,’ उनले भने, ‘थोरै लगानी मिहिनेत धेरै गर्न सके कृषिबाट सफलता पाइन्छ।’ उनले झन्डै १२ लाख रूपैयाँ लगानी गरेर व्यावसायिक कागती खेती सुरु गरेका हुन्। ‘मेरो विहान बेलुका फुर्सदको समयलाई सदुपयोग गर्दै व्यावसायिक कागती खेती गर्न थालेको हुँ,’ उनले भने, ‘तीनजना कर्मचारी राखेर काम गर्दै आएको छु। 

उनी कार्यालय बिदा हुनेबित्तिकै आफ्नो कागती फर्ममा पुग्छन् र कागती गोडमेल गर्न थाल्छन्। मैले झन्डै एक बिघा जमिनमा एक हजार कागतीका बिरुवा लगाएको छु। तीमध्ये पहिलो चरणमा सातसय ५० बोटले उत्पादन दिने बेला भएको छ। बाँकी बिरुवा मरेकाले पुनः थप गरी एक हजार नै उत्पादन दिनयोग्य बिरुवा बनाउने उद्देश्य राखेको छु।’  

उनले कागती फर्ममा नियमित एकजनालाई रोजगारी समेत दिएका छन्। मासिक १० हजार तलब र खान, बस्ने सुविधा दिएर कागती फर्मको हेरचाह गर्न एकजना राखेको उनले बताए। ‘बिरुवा रोपेको तीन वर्षसम्म त उसै नियमित तलब खुवाए अब कागतीले फल उत्पादन दिन थालेको छ,’ कर्मचारी पाल्न गाह्रो हुँदैन।  

कागतीको आयु करिब ५० वर्ष हुने भएकाले व्यावसायिक कागती खेती गरिएको बताए। ‘सामान्यतया एक बोट कागतीमा तीन सय दानासम्म फल लाग्ने अनुमान गरेको छु। त्यसका आधारमा मेरो वार्षिक तीन लाख कागतीका फल हुन्छन्,’ उनले भने, ‘आम्दानी राम्रो हुन्छ।’  

कागतीका बोट हुर्काउन भने निकै संषर्घ गरेको उनी बताउँछन्। करिब तीन सय मिटर तलबाट पानीको लिफ्ट गरी सिँचाइ गरेको उनको भनाइ छ। ‘सुक्खा पाखोमा हरियाली बिरुवा त्यसमाथि कागतीको बोट हुर्काउन निक्कै हम्मे पर्‍यो,’ उनले भने, ‘हामी पूर्ण रूपमा अग्र्यानिक उत्पादनमा छौं। उनले बोटबिरुवालाई चाहिने मल उत्पादनका लागि फर्मभित्र केही राँगा समेत पालिएको बताए। कागतीको बजार र बजारभाउ समेत राम्रो भएकाले कागती खेती उपयुक्त ठानेको उनले बताए।

प्रकाशित: १६ वैशाख २०७८ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App