१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

उपत्यका छाड्नेको लर्काे

काठमाडाैं गोंगबुस्थित नयाँ बसपार्कमा मंगलबार गाउँ फर्किन बस चढ्दै गरेकी एक यात्रु। तस्बिर: माेनिका मल्ल/ नागरिक

उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि निषेधाज्ञा घोषणा गरेसँगै यहाँबाट बाहिरिने यात्रुको लर्काे लागेको छ। मंगलबार विहानैदेखि काठमाडौं उपत्यका छाड्ने यात्रुको भीड थियो। यातायात व्यवसायीले मंगलबार मात्रै एक लाखभन्दा धेरै यात्रुले उपत्यका छाडेको दाबी गेका छन्।  

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा विहानैदेखि उपत्यका छाड्ने यात्रुको चाप अत्याधिक देखिन्थ्यो। नयाँ बसपार्कको व्यवस्थापन तथा सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रबन्ध निर्देशक सुनिल कुँवरले मंगलबार विहानैदेखि उपत्यका छाड्ने यात्रुको संख्या अत्यधिक भएको बताए।

‘उपत्यकामा निषेधाज्ञा घोषणा भएसँगै मंगलबार विहानैदेखि यात्रुको भीड थियो। तर यात्रुले पर्याप्त सिट पाएर जान पाइरहेका छैनन्,’ उनले भने, ‘सरकारले मंगलबार र बुधबार उपत्यकाबाहिर जानको लागि दुई दिन समय दिएकाले पनि बाहिरिने यात्रुको चाप बढेको हो।’ प्रबन्ध निर्देशक कुँवर अघिल्ला दिनमा भन्दा मंगलबार बाहिरिने यात्रुको संख्या दोब्बर बढेको बताउँछन्। ‘अघिल्ला दिनमा भन्दा अहिले यात्रुर सवारी दुवैको संख्या ह्वात्तै बढेको छ,’ उनले भने, ‘बसपार्क आएका सबै यात्रुले सिट पाएका छैनन।’ ल्होत्सेले मंगलबार बेलुका ७ बजेसम्म बसपार्कबाट करिब पाँच सय बस बाहिरिएको बताएको छ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेसँगै अरू दिनको तुलनामा काठमाडौंबाट घर फर्किनेको संख्या बढेको बताउँछन्। ‘अन्य दिनको तुलनामा मंगलबार उपत्यकाबाट बाहिरिनेको संख्या बढिरहेको छ,’ उनले भने, ‘यति नै गए भन्ने तथ्यांक अहिलेसम्म आइसकेको छैन।’  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दुई लाखभन्दा धेरै यात्रु बाहिरिएको दाबी गरे। ‘दशैंमा भन्दा पनि धेरै यात्रु मंगलबार बाहिरिएका छन्,’ उनले भने, ‘सरकारले छोटो अवधि दिएकाले अघिल्लो वर्षको तुलनामा अझै समस्या देखिनेछ।’ महासंघका महासचिव सिटौलाले सरकारले आन्तरिक उडान चल्नेर सार्वजनिक यातायात बन्द गर्ने विभेदकारी निर्णय गरेको दाबी गरे। ‘कोरोना के सार्वजनिक यातायातबाट मात्रै सर्ने ? हवाई यातायातबाट नसर्ने भन्ने कहाँ लेखेको रैछ,’ उनले भने, ‘हवाई व्यवसायीले सार्वजनिक यातायात बन्द भएको मौका छोपेर भाडा दोब्बर बनाएका छन्। त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण परिरहेका छन्।’  

महासचिव सिटौलाले सरकारले उपत्यका छाड्ने यात्रुको लागि समय अत्यन्तै छोटो दिएको गुनासो गरे। उनले भने, ‘अझै एक दुई दिन थप गरिएको खण्डमा यात्रुहरू सहज ढंगले आफ्नो गाउँघरमा फर्किन पाउँथे होला। गत वर्षको लकडाउनमा जस्तै फेरि समस्या आउने उत्तिकै सम्भावना छ।’

प्रकाशित: १५ वैशाख २०७८ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App