२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रेलमार्ग सञ्चालनमा ल्याउन माग

विराटनगर स्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी)सम्म रेल सेवा सञ्चालन गर्न पूर्वका उद्योगी व्यवसायीले माग गरेका छन्। भारतको कोलकाता हल्दिया र बिशाखापटम बन्दर्गाहबाट सोझै ढुवानी गर्ने गरी विराटनगरस्थित एकीकृत जाँच चौकीसम्म रेल सेवा सञ्चालनमा ल्याउन उद्योगी व्यवसायीहरूले माग गरेका हुन्।  

औद्योगिक कच्चा र तयारी वस्तुको ढुवानी तथा पारवहनमा हुँदै आएको खर्च घटाउन रेलमार्गलगायतका दीर्घकालिन महत्वका संरचनाको विकास तथा सञ्चालन जरुरी रहेको उद्योगी व्यवसायीहरूले बताएका छन्। उद्योगीहरुले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमार्फत् उत्पादन लागत घटाउने क्षेत्रको विकास र सञ्चालनका लागि विशेष सम्बोधन हुनुपर्ने माग पनि गरेका छन्।  

विराटनगर एकीकृत जाँच चौकीसम्म रेलबाट कार्गो निकासी पैठारी हुनसके त्यसले उत्पादन लागत घटाउने भएकाले आगामी आर्थिक वर्षदेखि रेल सेवा सञ्चालनको माग गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको साझा संस्था उद्योग संगठन मोरङले संस्थागत रुपमै सरकारसँग आग्रह गर्न पहल सुरु गरेको जनाएको छ। द्धिपक्षीय कार्गाेमध्ये सिमेन्टजन्य सामाग्री र रेलबाट पैठारी हुने मालबस्तु भारतको बथनाहसम्म ल्याउने गरिएको छ। त्यसपछि ट्रकबाट विराटनगर एकीकृत जाँच चौकीसम्म पैठारी हुँदै आइरहेको छ। विलेट क्वायल जस्ता औद्योगिक मालबस्तु जोगबनीसम्म रेलमा ल्याउने र त्यहाँबाट पुनः टेलरमा विराटनगर एकीकृत जाँच चौकीसम्म लैजाने गरिएको छ।

जहाँसम्म ल्याएपछि भन्सार बिन्दु हुँदै नेपालमा पैठारी गरिने यस्ता औद्योगिक कच्चा पदार्थको ढुवानीका लागि आईसीपीसँगै निर्माण भएको रेल–वे स्टेशनसम्म ल्याउनका लागि सरकारले पहल गरिदिनुपर्ने उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताए। आयात गरिएका बस्तुहरू भारतका दुई रेल–वे स्टेशनमा अनलोड भएपनि पुनः ट्रक र लरीमा लोड गरेर भन्सार बिन्दु हुँदै नेपाल भित्र्याउँदा ढुवानी खर्च अत्याधिक हुने गरेको छ’, प्याकुरेलले भने, ‘सोझै एकीकृत भन्सार जाँचचौकीसम्म लैजाने व्यवस्था भए समय र लागत दुबै घट्नै थियो।’  भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म रेलमार्गको काम करिब अन्तिम चरणमा रहेको छ। त्यसलाई सञ्चालनका लागि आवश्यक बाँकी काम पूरा गर्न सरकारले भारतसँग पहल गरिदिनुपर्ने उद्योगीहरुको माग छ। आईसीपीसम्म रेलको कार्गो आउन सक्ने अवस्था भए औद्योगिक एवम् व्यापारिक मालवस्तुको निकासी पैठारी कम लागतमा संभव हुने भएकोले यो बिन्दुसम्म कार्गो रेल सञ्चालन आवश्यक रहेको अर्का उद्योगी नन्दु राठीले बताए।  

नेपाल भारत सहयोग अन्तर्गत बथनाहदेखि विराटनगरको (कटहरी महेशपुर)सम्म निर्माण हुने क्रममा रहेको रेल्वे परियोजना जग्गा मुआब्जा विवादको कारण रोकिएको छ। उद्योगीहरुले निर्माण सम्पन्न भईसकेको क्षेत्रमा कार्गो रेल सञ्चालनमा ल्याउँदै बाँकी कामका लागि सरकारले पहल लिनुपर्ने माग गरेका हुन्।

प्रकाशित: १४ वैशाख २०७८ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App