२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

वीरगन्जमा १६ गतेदेखि निषेधाज्ञा जारी

वीरगन्जको मुख्य बजार क्षेत्र घण्टाघर । तस्बिरः रितेश त्रिपाठी

जिल्ला प्रसाशन कार्यालय पर्साले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै बैशाख १६ अर्थात आउदो बिहीबार बिहान ४ बजेदेखि एक हप्ताको लागि निषेधाज्ञा घोषणा गरेको छ। नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि पर्सा जिल्लामा १ साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए।  

‘विश्वब्यापी महामारीको रुप लिईरहेको कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको हुँदा उक्त संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि’ भनी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले गरेको निर्णय अनुसार संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) मा उल्लेखित अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रसाशन कार्यालय पर्साद्वारा जारी सूचनामा भनिएको छ।  

जारी आदेश अनुसार निषेध आदेश कायम रहेको अवधिमा तोकिएका अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्किन नपाईने, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ् पुल, सपिङ् मल, हाटबजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्ने नपाइने र विवाह, ब्रतबन्धजस्ता सामाजिक कार्यको हकमा जिल्ला प्रशासन कार्यालय पर्साबाट अनुमति लिएर स्वास्थ्य प्रोटोकलको पालना गरी बढीमा १५ जनासम्मको उपस्थितीमा गर्न पाइने लगायतका आदेश जारी गरिएको छ।

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवम् सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायतका ढुवानीका सवारी साधन, आइसोलेसन एवम् होल्डिंग सेन्टर यवस्थापनमा प्रयोग हुने सवारी साधन र अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त (पास) सवारी साधनबाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातमा पनि रोक लगाइएको आदेशमा भनिएको छ।

वीरगन्जको मुल प्रवेश बिन्दु इनर्वा नाका बोहकका नाकाबाट प्रवेश गर्न तथा अन्य सीमाबाट आवागमन गर्न रोक पूर्ण रुपमा रोक लगाइएको छ। इनर्वाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य चाँज र प्रक्रिया पुर्‍याएर आइसोलेसन वा होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने भनिएको छ। अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी र सञ्चरकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवतजावत गर्नुपर्ने आदेशमा जनाइएको छ।  

पर्सामा अहिले ९ सय ११ जना सक्रिय संक्रमित रहेका छन्। यसमध्ये ८ सय ६० जना होम आइसोलेसनमा रहेका छन्। ३७ जना नारायणी अस्पताल र १४ जना नारायणी बयोधा अस्पतालमा उपचाररत भर्ना छन्। वीरगन्जमामा पर्साका चार र बाराका एक जना गरी कोरोना भाइरसबाट संक्रमित ५ जनको २ दिनभित्र मृत्यु भएको छ। कोरोनाको दोसो लहर सुरु भएको भनिएको अवधिमा अर्थात चैतयता कोरोना संक्रमणका कारण वीरगन्जमा बिभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १६ पुगेको छ। यसमा १२ जना पर्साका छन्। मृतक १६ जनामध्ये अरु ३ बारा जिल्लाका र एक जना सर्लाहीका हुन्।

प्रकाशित: १४ वैशाख २०७८ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App