८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का सम्झौता

सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ। नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तराष्ट्रिय टेन्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनबीच मंगलबार ३७ करोड ७९ लाख ५५ हजार रूपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो। एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ।  

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए। उनले हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिने जानकारी दिए।  

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिने छन्। यसबाट ठूला बससहित तीनवटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ। तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ। ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ। सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन्।

चार्जिङ स्टेसन मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरूमा राखिने छ। काठमाडौं उपत्यकामा ७ वटा चार्जिङ स्टेसन राखिने छ। प्रदेश १ मा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन रहने छन्। प्रदेश २ को पर्साको वीरगन्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी ७ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन्। बागमती प्रदेशको धादिङको मलेखुमा २, बिपी राजमार्गको सिन्धुलीमा २, मकवानपुरको हेटौंडामा २, चितवनको भरतपुरमा २ तथा मुग्लिन र कुरिनटारमा ४ र काभे्रको बनेपामा १ वटा गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन्। गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङ्जामा १–१ र कास्कीको पोखरामा ३ गरी ६ वटा चार्जिङ स्टेसन रहनेछन्।  

लुम्बिनी प्रदेशमा ८ वटा चार्जिङ स्टेसन रहने छन्। बाँकेको नेपालगन्जमा १, दाङको भालुवाङ र दाङमा १–१, रूपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट र सुनवलमा २ गरी ८ वटा चार्जिङ स्टेसन रहने छन्। कर्णाली प्रदेशमा सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा चार्जिङ स्टेसन रहने छन्। कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १–१ गरी सुदूरपश्चिममा ३ वटा चार्जिङ स्टेसन रहनेछन्। 

प्रकाशित: २ वैशाख २०७८ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App