१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बिपी राजमार्गमा दिउँसो ४ बजेदेखि ट्रक चलाउन दिन माग

सिन्धुली ट्रक व्यवसायी संघले बिपी राजमार्गमा राति मात्र मालबाहक गाडी चल्न पाउने नियम संशोधन गर्दै दिउँसो ४ बजेदेखि नै चल्न दिनुपर्ने माग गरेको छ। दुर्घटना न्यूनीकरण गर्न भन्दै सरकारले यो राजमार्गमा रातिको समयमा मात्रै ट्रक चलाउन अनुमति दिएको छ।  संघको चौथो वार्षिक साधारणसभाका अवसरमा व्यवसायीले उक्त माग अघि सारेका हुन्।

बिपी राजमार्ग साँघुरो र घुमाउरो भएकाले दुर्घटनाको जोखिम हुने भन्दै सरकारले विहान ५ बजेदेखि राति ९ बजेसम्म यात्रुबाहक सवारी साधन र बाँकी समय मालबाहक चलाउने निर्णय गरेको छ। रातको समयमा मात्रै मालबाहक गाडी चलाउनुपर्ने बाध्यताले दुर्घटना झन् बढ्न सक्ने खतरा भएकाले ट्रक चलाउने समय थप हुनुपर्ने संघका अध्यक्ष तारा दाहालले बताए।  

‘राजमार्गमा ४ बजेपछि सवारीको चाप नहुने भएकाले त्यसपछि ट्रक चल्न पाउनुपर्छ,’ उनले भने, ‘राति ९ बजेपछि मात्रै चल्ने निर्णय सरकारले तत्काल सच्याउनुपर्छ।’ उनले रातिमात्रै चल्नुपर्दा व्यवसायीलाई मार परेको बताए। यस्तै, संघका पूर्वउपाध्यक्ष रोमबहादुर देवकोटोले बिपी राजमार्गको सिन्धुली–खुर्कोट–नेपालथोक खण्डमा रातिको समयमा मात्र ट्रक चलाउन दिने निर्णयले व्यवसायीलाई मर्का परेको बताए। उनले विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै राजमार्गमा सवारीको चाप हुने भएकाले बाँकी समय ट्रक सञ्चालनको लागि समेत खुला हुनुपर्ने बताए।  

संघको अधिवेशनले तारा दाहाल (दिपक) लाई पुनः अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ। उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः बिष्णु थापा, सूर्यबहादुर श्रेष्ठ र श्यामकुमार श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा मित्र थापा, जिवनकुमार श्रेष्ठ र हिमाल पहरी चयन भएका छन्। 

प्रकाशित: २ वैशाख २०७८ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App