५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नयाँ वर्ष माहोल: सडकमा चहलपहल, होटलमा सुनसान

दुई वर्ष अघिसम्म नयाँ वर्षका बेला पोखरामा आन्तरिक पाहुनाको घुइँचो लाग्थ्यो। विद्यार्थी, क्लब, आमा समूह, विभिन्न संघ–संस्थाबाट घुम्न आउनेले गर्दा भीड बढ्थ्यो। यही बेला पर्यटकीय सिजन पनि पर्ने भएकोले विदेशी पनि प्रशस्त आउँथे। विदेशीको भीडमा आन्तरिक थपिँदा यहाँका होटल र रेस्टुरेन्टलाई अतिथि सत्कार गर्न समेत धौ धौ हुन्थ्यो।  

तर कोरोना संक्रमणले पोहोर र यसपालिको नयाँ वर्ष खल्लो छ। पोहोर त यो बेला लकडाउन नै थियो। यसपालि लकडाउन त छैन, पाहुना पनि भने जति छैनन्। कोरोना त्रास फेरि बल्झिँदा आन्तरिक पर्यटकको आगमन घटेको हो। विदेशीको ठप्प जस्तै छ। खुलमखुला हिँडडुल गर्न नपाए पनि पर्यटकीय क्षेत्रमा भित्रिएका सीमित आन्तरिक पाहुनाले केही चहलपहल बढाएको व्यवसायी बताउँछन्।

कोरोना त्रास बढेको भन्दै सरकारले यही बेला भीडभाडमा नजान र सर्तकता अपनाउन अनुरोध गर्दा आन्तरिक पर्यटकले घुमघाममा निस्कने आँट नगरेको व्यवसायी बताउँछन्।

कोरोना त्रास बढेको भन्दै सरकारले यही बेला भीडभाडमा नजान र सर्तकता अपनाउन अनुरोध गर्दा आन्तरिक पर्यटकले घुमघाममा निस्कने आँट नगरेको व्यवसायी बताउँछन्। फाट्टफुट्ट समूह र केही व्यक्तिगत तथा परिवारसहित घुम्न आए पनि त्यसले पोखरालाई उत्साही बनाउन सकेको छैन।  

आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी)का गण्डकी संयोजक अग्नि कँडेल भन्छन्, ‘बेलुकीपख लेकसाइडमा केही चहलपहल बढेको देखिन्छ। तर यी पाहुना सबै बाहिरबाट आएका होइनन्। स्थानीय पाहुना लेकसाइडमा झर्दा चमक बढेको देखिएको हो।’ उनका अनुसार नयाँ वर्षको समय आन्तरिक पाहुनाको हो। विदेशी पाहुना नियमित आउँदै गर्दा नयाँ वर्ष मनाउने बहानामा पोखरा भित्रिएका आन्तरिक पाहुनाबाट पर्यटनले यति बेला गज्जबको लाभ लिने गरे पनि यसपालि अवस्था सहज नभएको उनले बताए। लेकसाइडको सडकमा बेलुकीपख चहलपहल देखिए पनि होटलमा उति सारो पाहुना नभएको उनले सुनाए।  

‘अघिल्लो महिनासम्म पोखरामा यो बेला आन्तरिक पाहुनाको आगमन केही बढेको थियो। अहिले नयाँ वर्ष मनाउन आउने आस थियो,’ कँडेलले भने, ‘तर यही बेला कोरोना त्रास बढेको छ। सरकारले सचेत हुन आग्रह गरिरहेको छ।’ कोरोना त्रास नभए नयाँ वर्ष मनाउन आन्तरिक पाहुना पर्याप्त आउने उनको बुझाइ छ।  

नयाँ वर्षमा पोखरामा आन्तरिक पाहुना आकर्षित गर्न विभिन्न कार्यक्रम आयोजना हुन्थे। तर कोरोना त्रासका कारण पोहोर र यसपटक महोत्सव जस्ता कार्यक्रम आयोजना भएन। केही होटल र रेस्टुरेन्टले आन्तरिक रूपमा पाहुना आकर्षित गर्न कार्यक्रम राखे पनि ती सीमित ठाउँमा मात्र हुनेछन्। अरू बेला खुलमखुला आयोजना हुने कार्यक्रम अहिले छैन। ‘संक्रमणको त्रासले व्यवसायी नै त्रसित हुनु परेको छ,’ कँडेलले भने।

नेपाली नयाँ वर्षमा आन्तरिक पाहुना तान्न पश्चिमाञ्चल होटल संघले फेवा नव वर्ष महोत्सव गथ्र्यो। अहिले महोत्सव गर्ने अवस्था नरहेको संघका अध्यक्ष विकल तुलाचन बताउँछन्। फेवा नयाँ वर्ष महोत्सव छोट्ट्याएर गर्ने तयारी संघले गरे पनि कोरोना संक्रमणको कारण गर्न नसकेको उनले बताए। ‘सडक महोत्सवको नयाँ रूप दिएर गर्ने योजना थियो। अहिले संक्रमण बढेकोले रोकिएको छ,’ तुलाचनले भने।  

अरू बेला पार्कभित्र हुने महोत्सवलाई यसपटक केही फरक ढंगमा सडकमा आयोजना गर्ने तयारी भए पनि गर्न सक्ने अवस्था नरहेको उनले बताए। उनका अनुभवमा यो बेला पोखरामा आन्तरिक पाहुनाको आगमन राम्रै हुन्थ्यो। यो बेला ६० प्रतिशत आन्तरिक र बाँकी भारतीय र तेस्रो मुलुकको पाहुना आउँदा पोखराका होटलको अकुपेन्सी ९० प्रतिशत हाराहारी हुन्थ्यो।  

अर्का पर्यटन व्यवसायी नरेश भट्टराई दुई साताअघि आन्तरिक पाहुनाको चहलपहल केही बढी भए पनि एकाएक घटेको बताउँछन्। त्यसो हुनुमा अहिलेको कोरोनाको त्रास र खराब मौसम कारण रहेको उनले सुनाए। उनका अनुसार पोखरामा अहिले रहेका आन्तरिक पाहुना पर्याप्त छैन। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल लेकसाइडमा केही चहलपहल थपिए पनि दुई साताअघिको तुलनामा खस्किसकेको बताउँछन्। कोरोनाको दोस्रो लहरको हल्लासँगै व्यवसायमा गिरावट आएको उनले बताए।

प्रकाशित: १ वैशाख २०७८ ०५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App