१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दर्जन बढी संस्था दसैंअघि लाभांश बाँड्दै

काठमाडौं — चार वाणिज्य बैंकसहित एक दर्जन कम्पनीले दसैंअघि वार्षिक साधारणसभा सकेर लाभांश वितरण गर्ने भएका छन् । दसैंअघि १५ बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा गर्न लागेका हुन्।अधिकांशले असोज २३ गते साधारणसभा गर्दैछन् । साधारणसभा गर्ने संस्थाको मुख्य एजेन्डा लाभांश, गाभ्ने÷गाभिने र सेयर संरचना परिवर्तन गर्ने रहेको छ । साधारणसभा बोलाउनेमा एनएमबी क्यापिटल र नबिल क्यापिटल पनि छन् । दुवैले असोज २३ मा साधारणसभा डाकेका छन् । एनएमबीको साधारणसभाले गत वर्षको नाफाबाट ५२ लाख ६३ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । नबिलको भने खासै महत्वपूर्ण एजेन्डा छैन ।

वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले साधारणसभा सिटिजन्स् बैंक इन्टरनेसलले बोलाएको छ । योसँगै एभरेस्ट बैंक, सानिमा बैंक र नेपाल एसबिआइ बैंकले पनि साधारणसभा डाकिसकेका छन् ।

असोज २२ मा हुन लागेको सिटिजन्स्को साधारणसभाले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले गत वर्ष ३९ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्ष बैंकको नाफा २२ करोड ४९ लाख थियो । बैंकले साधारणसभामा संस्थापक सेयर ७० बाट ५१ प्रतिशतमा झार्ने प्रस्ताव पनि लैजाँदै छ । उसले मर्जरमा जाने प्रस्ताव पनि पारित गर्दैछ । अघिल्लो वर्षको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशतको अनुपातमा नगद लाभांश बाँडेको थियो ।

एभरेस्ट बैंकको असोज २३ मा हुने साधारणसभाले ६० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दैछ । उसले ५० प्रतिशत नगद लाभांश र १०.५३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ । गत वर्ष १ अर्ब ४७ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्ष १ अर्ब ९ करोड थियो । बैंकले गत वर्ष लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ रुपैयाँ नगद लाभांश दिएको थियो ।

त्यसै गरी नेपाल एसबिआइले असोज २३ मा गर्न लागेको साधारणसभाले ७.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्नेछ । बैंकले गत वर्ष ७७ करोड ५९ लाख रुपैयाँ नाफा गरेको थियो । उसले अघिल्लो वर्ष ४८ करोड नाफा गरेको थियो । गत वर्ष १२.५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सानिमा बैंकले असोज २४ मा साधारणसभा गर्दैछ । साधारणसभाले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिनेछ । गत वर्ष ३० करोड ४९ लाख रुपैयाँ नाफा गरेको बैंकले अघिल्लो वर्ष १२ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्ष ५.५ प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यस्तै युनिलिभर नेपाल लिमिटेडले असोज १८ मा साधारणसभा गर्नेछ । कम्पनीको सभाले ७ सय ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । महालक्ष्मी फाइनान्सले असोज २० मा गर्ने साधारणसभाले १३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । सभाले संस्थापक र सर्वसाधारण गरी दुई सञ्चालक चयनसमेत गर्नेछ ।

बागमती डेभलपमेन्ट बैंकले असोज २० मा गर्न लागेको साधारणसभाले ७.३७ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ भने त्यही दिन हुन लागेको गरिमा विकास बैंकको साधारणसभाले पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर प्रस्ताव पनि पारित गर्दैछ । सभाले अर्को संस्थासँग गाभ्ने÷गाभिने प्रस्ताव अनुमोदन गर्दैछ ।

एकता विकास बैंकको असोज १९ मा हुने सभाले मर्जर प्रस्ताव पारित गर्नेछ । एभरेस्ट फाइनान्सको असोज २३ मा हुने सभाले संस्थापकबाट चार र सर्वसाधारणबाट दुईजनालाई सञ्चालक समितिमा चयन गर्नेछ । सभाले १५ प्रतिशत बोनस सेयर अनुमोदन गर्दै मर्जर प्रस्ताव पनि पारित गर्नेछ ।

राइजिङ डेभलपमेन्ट बैंकको असोज २३ मा हुने साधारणसभाले १४.०५ प्रतिशत नगद लाभांश र सात प्रशित बोनस सेयरसहित मर्जर प्रस्ताव अनुमोदन गर्दैछ । फस्र्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको पनि त्यही दिन हुने सभाले १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । असोज २३ मै हुने कैलाश विकास बैंकको सभाले नौ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयरसँगै मर्जर प्रस्ताव अनुमोदन गर्दैछ ।

प्रकाशित: ६ आश्विन २०७० ००:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App