६ वैशाख २०७८ सोमबार
अर्थ

सडकले फेरिँदै ललितपुरको दुर्गम दक्षिणी क्षेत्र

कान्तिलोकपथसँगै जोडिएको लेले–चन्दनपुर हुँदै चौघरेसम्म जोडिने २२ फिट फराकिलो कालोपत्रे सडक।

धेरैलाई लाग्छ, ललितपुर राजधानी हो। यो भूगोल सुविधायुक्त छ। ललितपुरको रिङरोड र आसपासको विकासले काठमाडौंलाई पनि पछि पारेको छ। तर, सहरीकरणका हिसाबले सुगम मानिएको ललितपुरमा कर्णालीभन्दा पनि विकट ठाउँ छन्, जसको अवस्था धेरैलाई थाहै छैन। सहरमा बस्नेले कल्पनै गर्न नसक्ने पछौटेपनले ललितपुर जिल्लाको लगभग आधा भूभाग ओगटेको छ। जसलाई ललितपुरको कर्णाली पनि भन्ने गरिन्छ।  

शिक्षा, सडक, स्वास्थ्यजस्ता अत्यावश्यकीय विषयमा हेपिएको दक्षिण ललितपुर पछिल्लो समय भने फेरिएको छ। सडक सञ्जाल गाउँगाउँ पुगेपछि ललितपुरको झन्डै ५० प्रतिशत भूभागका मानिस सहरसँग नजिक भएको अनुभूति गर्न थालेका छन्। कान्तिलोक पथ सडकखण्ड निर्माण कार्यपछि दक्षिण ललितपुरको दुर्गम मानिने ठुलादुर्लुङ पनि विकासमा बामे सर्न थालेको छ। गाउँमा उत्पादित कृषि सामग्री सहरमा आउन थालेको छ भने सहरबाट पनि गाउँसम्म यातायात सुचारु भएको छ। ललितपुरको सातदोबाटोदेखि झन्डै डेढ सय किमि टाढा रहेको यो ठाउँका स्थानीय सडककै कारण आफूहरूको जीविका फेरिएको बताउँछन्। 

‘सडक नहुँदासम्म हामी दुई दिनको बाटो हिँडेर चापागाउँ र पाटनसम्म पुग्थ्यौं तर अहिले सडकले हामीलाई सजिलो बनाएको छ,’ स्थानीय श्याम तामाङले भने, ‘सडक बनेपछि हाम्रो क्षेत्र सहरसँग नजिक भयो।’ चौडा सडकले दक्षिण ललितपुरमा सहरी सुविधा पनि पुगेका छन्। वाग्मती, कोन्ज्योसोम र महांकाल गाउँपालिका क्षेत्रमा सामुदायिक स्वास्थ्य चौकी निर्माण भएका छन्। सामुदायिक विद्यालय व्यवस्थापन गर्न भौतिक संरचना पनि निर्माण भएको छ भने गाउँमा उत्पादन भएका कृषि वस्तु सहरसम्म ल्याउन सहज भएको छ। 

कान्तिलोकपथ सडक निर्माणका लागि ६३ वर्षअघि ट्र्याक खोलिएको थियो। दशकौंपछि निर्माण कार्य टुंगिन लागेको यो सडकले उपत्यकालाई प्रदेश राजधानी हेटौंडासँग नजिक गराउने छ। यो सडकले ललितपुरका दुर्गम दक्षिणी–पूर्वी भेग र मकवानपुरका उत्तरी भेगका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन देखिएको छ। कृषि उपत्पादनलाई बजारसम्म ल्याउन थालिएको छ। ललितपुरको सातदोबाटो–चापागाउँ दोबाटो हुँदै सुनाकोठी, चापागाउँ, टीकाभैरव, तीनपाने भन्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, वाग्मती नदी, बगुवा, ठिंगन, मकवानपुरको आलेभन्ज्याङ, बुद्धचोकसम्म जम्मा ९० किमिको यात्रापछि पुग्न सकिन्छ।

२०१३ सालदेखि सुरु यो सडक पूर्ण स्वदेशी लगानीमा निर्माण भइरहेको छ। सडकको अधिकांश भाग कालोपत्रे भइसकेको छ। योजनाकअनुसार बाँकी करिब १० किलोमिटरको कालोपत्रे तथा ‘रिटेनिङ वाल’ निर्माणलगायत काम छिट्टै सकिने योजना राखिएको छ। आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाले यसै वर्ष योजनाको काम सक्नेगरी काम भइरहेको बताए। ‘काम निरन्तर भइरहेको छ, वर्षाको समयमा पहिरोका कारण काम गर्न नपाएपछि योजनाका काममा केही ढिलाइ पनि भएको हो,’ उनले भने।  

२०१३ सालमा सुरु भएर सुस्ताएको योजनालाई सरकारले पछिल्लोपटक आव २०६५/६६ देखि प्राथमिकतामा राखेको थियो। तर पर्याप्त बजेट विनियोजन भए पनि अहिलेसम्मको काम गराइको अनुपात हेर्दा योजना समयमा सकिने नभएपछि बजेट थप गरिएको थियो। योजनाका लागि ३ अर्ब ३१ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजनाप्रमुख झाका अनुसार यो आव (साउनयता) मा विनियोजित १७ करोड ५० लाख बजेटमध्ये ५ करोड ५२ लाख खर्च भएको छ। 

हाल मकवानपुरतर्फको ९ किमि कालोपत्रेको काम सकिने चरणमा छ भने ४ किमि नाली निमार्ण कार्य पनि भइरहेको छ। ललितपुर खण्डतर्फ बेस निर्माण र ६ किमि कालोपत्रे गर्ने कार्य भइरहेको छ। सम्झौताअनुसार २०७८ भदौमा म्याद सकिन्छ। तर कोभिडको समयमा निर्माण कार्य रोकिएकाले ६ महिना म्याद थप्नुपर्ने योजना प्रमुख झाले जानकारी दिए। उनले योजनाको कार्य अन्तिम चरणमा पुगेको दाबी गरे।  

वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कान्तिलोकपथ ठूलो सडकखण्ड भएकाले यसले दक्षिण ललितपुरलाई सहरसँग जोडेको बताए। उनले भने, ‘बाटोकै कारण अहिले यो क्षेत्र सम्पन्न बनेको छ, सहरसँग दूरी टाढा भए पनि सडकले नजिक तुल्याएको छ, अहिले सुविधासम्पन्न स्वास्थ्य चौकी भट्टेडाँडास्थित वाग्मती गाउँपालिकाको कार्यालयसँगै बनेको छ।’ उनका अनुसार मोटर बाटो नभएको बेला दुई दिनसम्म हिँडेर उपचारका लागि बिरामी पाटन अस्पताल ल्याउने गरिन्थ्यो। 

पछिल्लो समय दक्षिण ललितपुर सडकसँगै फेरिँदै छ । दक्षिण ललितपुरमा अति विकट मानिने प्युटार, ठूलादुर्लुङ र कालेश्वर क्षेत्रका गाउँमा मोटरबाटो पुगेको छ । कान्तिलोकपथ हुँदै जोडिएका सहायक सडकले ग्रामीण क्षेत्रलाई सहज बनाएको छ। त्यस्तै, कान्तिलोकपथसँगै जोडिएको लेले–चन्दनपुर हुँदै चौघरेसम्म जोडिने २२ फिट फराकिलो सडक कालोपत्रे भएको छ। कोन्ज्योसोम गाउँपालिकासँग जोडिएको यो सडकले दक्षिण ललितपुरको दलचोकी, भट्टेडाडा,  प्युटार, आश्रङलगायत दक्षिण ललितपुरका अधिकांश भेगलाई समेटेको छ।

४ करोड लागतमा कालोपत्रे भएको यस सडकले दक्षिण ललितपुरमा उत्पादित कृषि सामग्री बजारसम्म ल्याउन सहज हुने कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिन्ताङले बताए। उनले भने, ‘दक्षिण ललितपुर अझै पनि धेरै क्षेत्रमा पछि परेको छ, सडकका कारण हामी जनप्रतिधिलाई पनि काम गर्न सहज भएको छ, हाम्रो चासो शिक्षा, स्वास्थ्य र सडकमै बढी छ।’ उनका अनुसार हालै निर्माण भएको लेले–चन्दनपुरले वाग्मती र महांकाल गाउँपालिकालाई पनि समेट्छ। यो सडक बनेपछि ठूलार्दुलुङ पुग्ने दुईवटा सडक भएका छन्।

कान्तिलोकपथ र लेले–चन्दनपुर सडकका कारण दक्षिण ललितपुरमा उत्पादित कृषि सामग्री बजारसम्म ल्याउन सजिलो भएको अध्यक्ष सिन्ताङले जानकारी दिए। उनले दक्षिण ललितपुरलाई सडक सञ्जालले जोडेपछि मात्रै अन्य क्षेत्रको विकास हुन सक्ने बताए। ‘दक्षिण ललितपुर अवसर र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो,’ उनले भने, ‘पर्यटक तान्न सक्ने आधारहरू धेरै छन्, यसले सडक निर्माणले दक्षिण ललितपुरलाई सम्पन्न पार्दै छ।’  

वाग्मती प्रदेश सांसद लालकुमारी पुनले दक्षिण ललितपुरलाई सडकसँगै विकास गरिने बताइन् । उनले प्रदेश सरकारको सहयोग ग्रामीण क्षेत्रमा सडक निर्माण भइरहेको जानकारी दिइन्। उनले भने, ‘विकासको पहिलो सर्त सडक नै हो, सडकले मात्रै सुविधा र अन्य विकास दिन सक्छ, त्यसकारण दक्षिण ललितपुरलाई अन्य विकासका काममा अग्रणी बनाउनका लागि कान्तिलोकपथ र लेले–चन्दनपुर सडकले मुख्य भूमिका खेलेको छ।’

उनले वर्षाको बेला पहिरो गएर कान्तिलोकपथ भत्किएपछि दक्षिण ललितपुरवासी सहर आउजाउ गर्न नपाएकाले लेले–चन्दनपुर सडक निर्माण भएको बताइन्। यो सडक कान्तिलोकपथको वैकल्पिक मार्गसमेत रहेको उनको भनाइ छ।कान्तिराजपथ बनेपछि साँघुरो–घुमाउरो ८५ किलोमिटरको दक्षिणकाली–सिस्नेरी–हेटौंडा, २ सय २३ किमिको मुग्लिङ–नारायणगढ–हेटौंडा र एक सय ५८ किमिको त्रिभुवन राजपथको जोखिमपूर्ण यात्राको बाध्यता हट्नेछ।

प्रकाशित: २५ चैत्र २०७७ ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?