४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लघु, घरेलु र साना उद्यमलाई वित्तीय सहयोग जुटाउने सहमति

नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसनबीच वित्तीय कर्जा लगायत सेवा प्रवाहमा सहजीकरण गर्ने सहमति भएको छ। यस्तो सहयोग लघु, घरेलु, साना तथा मझौला उद्यमका लागि दिइने छ। सहमतिमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरे।  

समझदारी अनुसार एसोसिएसनका सदस्य विकास बैंकलाई लघु, घरेलु साना तथा मझौला उद्योगको माग अनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापनसम्बन्धी जानकारी दिन कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमूलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्ने, उपयुक्त वित्तीय सेवाहरूको छनोट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने, कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगलाई प्रवाह गरिने कर्जालाई प्राथमिकतामा राखी प्रविधिमैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाइने छ।

महासंघ उपाध्यक्ष श्रेष्ठले एसएमइजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले सम्बोधन गर्ने विश्वास व्यक्त गरे। मुलुकभित्रको कुल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमइजहरूकै भएकाले यो समझदारीले एसमएमइजहरू फस्टाउन विशेष सहयोग पुग्ने बताए।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिबी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहत महसुस गर्ने र यो सहकार्य मुलुकभित्र एसएमइजको विकासमा कोशेढुंगा हुने विश्वास प्रकट गरे।  

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायत सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र महासंघबीचको सहकार्यलाई परिणाममुखी बनाउने प्रतिबद्धता जनाए। 

प्रकाशित: २३ चैत्र २०७७ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App