११ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखरा–काठमाडौं हवाई सम्पर्क पाँच दिनदेखि विच्छेद

वायु प्रदूषणले पोखरालाई काठमाडौंसँग जोड्ने हवाई सम्पर्क पाँचदिनदेखि पूर्णरूपमा टुटेको छ। शुक्रबार अबेरपछि पोखरा–काठमाडौंका उडान रोकिन थालेका थिए। शनिबारदेखि बुधबारसम्म पोखरा–काठमाडौं रुटमा एउटै उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ।  

६ दिनको यो अवधिमा पोखरा विमानस्थलबाट मात्र १४१ वटा उडान रद्द भएका छन्। त्यसले विमानस्थल मात्र नभई पोखराको पर्यटन र हवाई क्षेत्रलाई समेत आर्थिक रूपमा नोक्सान पुर्‍याएको छ। बुधबार बिहान खुलेको पोखराको मौसम केही समयपछि बिग्रँदा दिनभर उडान हुन नसकेको विमानस्थलले बताएको छ। विमानस्थल प्रमुख बिक्रमराज गौतमका अनुसार बुधबार बिहान मौसम खुल्दा पोखरा–जोमसोम हवाई उडान भएपनि पछि मौसम बिग्रदाँ थप उडान हुन नसकेको बताए।  

उनका अनुसार बुधबार बिहानपख ५ हजार मिटर भिजिविलिटी रहेको पोखराको मौसम पछि घट्दै जाँदा मध्यान्हपछि एकहजार मिटरमा झरेको थियो। पोखरा–जोमसोम उडान बिहान ६ बजे नै सुरु हुन्छ। दिउँसोमा हावा चल्ने भएकोले बिहान १० बजेपछि सामान्यतया पोखरा–जोमसोम उडान हुँदैन।  

‘भिजिविलिटी पुग्दा पोखरा–जोमसोम ६ वटा उडान भएको थियो। तर पोखरा–काठमाडौं रुटमा उडान भने उडान हुन सकेन,’ उनले भने, ‘पोखरा–जोमसोम रुटमा भन्दा पनि फरक अवस्था पोखरा–काठमाडौं रुटमा रह्यो।’ उनका अनुसार बुधबार पोखरा–जोमसोम रुटमा समिट एयरले २ र तारा एयरले ४ गरि ६ वटा उडान भएका थिए। ‘पोखरा–जोमसोम उडान त भयो, तर काठमाडौंका लागि भने एउटै पनि उडान हुन सकेन,’ गौतमले भने, ‘काठमाडौंबाट पोखराका लागि आएको जहाज पनि बीचबाटैबाट फर्किनुप¥यो। बिहान केहीबेरका लागि खुलेको मौसम पछि पुन बिग्रियो।’

काठमाडौंबाट बिहान उडेको बुद्धको जहाज पोखरा आउनै थाल्दा मौसम खराबीले अवतरण गर्न नसकेको उनले बताए। ‘बिहानको भिजिविलिटी ठिक थियो। पोखराबाट हवाई उडान हुन पाँचहजार मिटरको भिजिविलिटी आवश्यक पर्छ,’ गौतमले भने, ‘तर पनि बुद्धको जहाज यहाँ अवतरण गर्न सकेन। एकाएक भिजिविलिटी घट्यो।’  

बिहान ७ः२५ मा बुद्धको जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो। तर, पोखरा नजिकै गगनगौंडाको आकाशमा आइसकेपछि भिजिविलिटी नपुगेको भन्दै जहाज काठमाडौं नै फर्केको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले बताए। उनका अनुसार गगनगौंडामाथिको आकाशमा आइसकेको जहाजले अवतरणका लागि प्रयास गरेपनि ड्याम्मै तुवाँलोले छेकेपछि काठमाडौं डाइभर्ट भएको बरालले बताए।  

‘४५ सय फिटमा झरेको जहाजले अगाडि केही नदेखेपछि डाइभर्ट हुनुपरेको थियो। ४५ सय फिट भन्दा तल झर्न मिल्दैन,’ बरालले भने, ‘ड्याम्मै तुवाँलोले छेकेपछि डाइभर्ट गर्नुको विकल्प भएन।’ पोखराबाट जोमसोमको रुट फरक पर्नु, सानो जहाज र उत्तरतिरको विहानको भिजिविलिटी राम्रो हुँदा उडान सम्भव भएपनि काठमाडौं रुटमा भने भिजिविलिटी नपुगेको उनले बताए। बुधवार बुद्धका नौवटा उडान भए पनि भिजिविलिटी नपुग्दा उडानको सम्भावना नरहेको बरालले बताए।  

मध्यान्हपछि पोखराको भिजिविलिटी २५ सय मिटरमा ओर्लेको भएपनि दिउँसो झनै घटेको थियो। विमानस्थलले बताएको छ। गत शुक्रबारदेखि पोखरा–काठमाडौं रुटमा कुनै पनि उडान हुन सकेको छैन। दैनिक दुईदर्जन हाराहारीमा पोखरा–काठमाडौं रुटमा विभिन्न हवाई कम्पनीले उडान गर्दै आएका थिए। पाँचदिन हवाई सेवा बन्द हुँदा विमानस्थललाई मात्र १५ लाख हाराहारीमा नोक्सान पुगेको विमानस्थल प्रमुख गौतमले बताए। त्यसबाहेक हवाई कम्पनी र पर्यटनमा पारेको असर झनै ठूलो रहेको उनले बताए।

प्रकाशित: १९ चैत्र २०७७ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App