६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सडकमा कंक्रिट ढलान: लागत महँगो भए पनि टिकाउ

सडक पूर्वाधार विकासको मेरुदण्ड हो। विकसित मुलुकले सडक बनाउँदा कालोपत्रेको विकल्पमा कंक्रिट ढलान गर्न थालेको दशकौं भयो। हजारौं माइल लामा हाइवे पनि सबै कंक्रिट ढलान गरेर बनाइएका छन्। गुणस्तरीय सडकका धेरै फाइदा देखेर विकसित मुलुक कंक्रिट ढलानबाट सडक निर्माण गर्न लागेका हुन्।

नेपालमा भने अझै कसैको यसतर्फ जाने सोच बनेको देखिँदैन। छिटफुट रूपमा निजी क्षेत्रले यसतर्फ जानुपर्ने आवाज भने उठाउन थालेको छ। तर योजना अझै बन्न सकेको छैन। सडक बनाउने जिम्मेवारी पाएको भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीहरू कंक्रिट ढलानका धेरै फाइदा भए पनि बजेट अभावमा सुरु गर्न नसकेको बताउँछन्।

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणको गृहकार्य गरिरहँदा सडक निर्माणको अहिलेको मोडालिटी परिवर्तन गर्नुपर्ने माग सरोकारवालाले गरेका छन्। कालोपत्रेको तुलनामा कंक्रिट सडक टिकाउ हुने भएकाले ढलान सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन्। ‘विकसित मुलुकले कंक्रिट सडक निर्माण अघि बढाएका छन्,’ मुरारकाले भने, ‘सरकारले ढलान सडक निर्माण गर्न नीतिगत निर्णय गर्नुपर्छ।’

विगतमा सिमेन्टलगायत कच्चा पदार्थ विदेशबाट आयात गर्नुपरेको अवस्थामा कालोपत्रे सडक निर्माण भए पनि अहिले मुलुक सिमेन्टमा आत्मनिर्भर भएकाले बिटुमिनलाई विस्थापित गरेर ढलानमा जानुपर्ने उनको धारणा छ। ‘लागत महँगो भए पनि कंक्रिट सडक टिकाउ हुन्छ,’ मुरारकारले भने, ‘कालोपत्रेको ठाउँमा सिमेन्ट प्रयोग गरेर कंक्रिट बनाउनुपर्छ।’

बिटुमिन विदेशबाट आयात गर्नुपर्ने भएकाले ढलान गर्दा स्वदेशी कच्चा पदार्थ सिमेन्ट प्रयोग हुने उनले बताए। ‘लागत महँगो भए पनि कंक्रिटले सडकको आयु बढाउँछ,’ मुरारकाले भने, ‘कंक्रिटमा गए वर्षैपिच्छे मर्मत गर्नुपर्ने झन्झटको अन्त्य हुन्छ।’

कालोपत्रे सडकको तुलनामा ढलान सडकको आयु लामो हुने, धेरै टिक्ने, मर्मतसम्भार खर्च कम लाग्ने, सवारीसाधन गुड्दा तथा पानीले नबिग्रने, सवारीसाधनमा इन्धन खपत कम हुने र सवारी दुर्घटना कम हुने इन्जिनियरहरू बताउँछन्। अहिले सडकमा रोडा, बालुवा, बिटुमिन, सिमेन्ट प्रयोग गरेर कालोपत्रे गरिन्छ। कच्चा तेललाई प्रशोधन गर्ने क्रममा हलुका ग्याँस, पेट्रोल, मट्टीतेल, डिजेलजस्ता पदार्थ निकालिसकेपछि त्यसबाट बचेको कालो लेदो पदार्थ बिटुमिन हो। यसलाई सडक पिच गर्ने क्रममा प्रयोग गरिन्छ। 

बिटुमिन प्रयोग गरेर बनाइने सडकको सतह लचिलो हुने भएकाले छिटो भत्किने हुन्छ। सरकारले अहिले कमजोर माटो वा धरातल भएको सानो क्षेत्रफलमा मात्र सडक ढलान गर्दै आएको छ। ढलान गरेर बनाएको सडक सतह कम लचिलो र कडा हुने भएकाले तुलनात्मक महँगो भए पनि टिकाउ धेरै हुन्छ। सडकलाई पूर्वाधार विकासको सूचकका रूपमा लिने भएकाले सडक निर्माणमा विशेष ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।

कालोपत्रे सडकको तुलनामा कंक्रिट सडक टिकाउ हुने सडक विभागका अधिकारी बताउँछन्। विकसित मुलुकमा अधिकांश ठूला सडक कंक्रिट बनाउन थालेकाले नेपालमा पनि आवश्यकता खड्किएको सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले बताए। ‘लागत बढी हुने भएकाले हामीले कंक्रिट सडक निर्माणलाई ध्यान दिन सकेका छैनौं,’ नेपालले भने, ‘कंक्रिट सडकको आवश्यकता बढ्दै गएको छ।’ अहिले कमजोर धरातल भएको ठाउँ र साना व्यक्तिगत सडकमा ढलान गर्ने गरेको बताए।

कालोपत्रे सडकको आयु करिब २० वर्षको मात्र हुन्छ। तर त्यसको तुलनामा लागत ४०/५० प्रतिशत बढी भए पनि ढलान सडक ४०/५० वर्ष टिक्ने प्रवक्ता नेपालले बताए। यसबारे नीतिगत रूपमा बहस नै सुरु गर्नुपर्ने उनको धारणा छ। ‘धेरै टिकाउ हुने भए पनि लागत धेरै पर्ने भएकाले जान सकेका छैनौं,’ नेपालले भने, ‘अब सोच्नुपर्छ।’

ढलान सडकको सतह एकनास हुने भएकाले पनि सवारीसाधन गुडाउन सजिलो र आरामदायी हुन्छ। बिटुमिनले बनेको सडकमा घाम र पानी बिग्रिने सम्भावना बढी हुन्छ। चर्को घाममा बिटुमिन पग्लिएर सडक चिप्लो हुँदा दुर्घटनाको जोखिम पनि हुन्छ।

कालोपत्रे सडकको आयु १० देखि २० वर्ष र ढलान सडकको आयु ३० देखि ४० वर्ष हुने बताइन्छ। कालोपत्रे सडकको पिच छिटो भत्किने भएकाले मर्मत लागत पनि बढी हुन्छ। निर्माण गर्दा ढलानको लागत बढी भए पनि दीर्घकालीन रूपमा कालोपत्रेभन्दा ढलान सडकको लागत र मर्मत संहार ३० प्रतिशत सस्तो हुने इन्जिनियरहरू बताउँछन्।  अध्ययनअनुसार कालोपत्रे सडकभन्दा कंक्रिटको सडकमा १४ प्रतिशत कम इन्धन खपत हुने देखिएको थियो।

बिटुमिन स्वदेशमा निर्माण नहुने भएकाले विदेशबाट खरिद गर्नुपर्छ। सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७६/७७ मा ७ अर्ब ६१ करोड रूपैयाँको १ लाख ८५ हजार ३ सय ४५ मेट्रिक टन बिटुमिन आयात भएको भन्सार विभागले जनाएको छ। भारत, साउदी अरेबिया, युएई, इरान, सिंगापुरलगायत मुलुकबाट बिटुमिन आयात हुने गरेको छ। ठूलो परिणाममा बिटुमिन विदेशबाट आयात हुँदा व्यापार घाटा छ। बिटुमिन खरिद गर्न डलरमा भुक्तानी गर्नुपर्छ। यसले व्यापार सन्तुलन बिग्रिन्छ।

सडक निर्माणमा कालोपत्रे प्रयोग गर्ने प्रविधि धेरै पुराना हो भने ढलान गर्ने प्रविधि आधुनिक हो। सवारीसाधनको चाप बढेकाले कालोपत्रेको सट्टा ढलान गर्नुपर्ने दबाब बढ्न थालेका विभागका अधिकारी बताउँछन्। सिमेन्ट र कच्चा पदार्थ स्वदेशमा नै उत्पादन हुने भएकाले कालोपत्रको सट्टा ढलान गर्नुपर्ने माग उठिरहेको छ।

विगतमा सिमेन्ट आायत गर्नुपर्ने अवस्थामा बिटुमिन प्रयोग गरेर सडक कालोपत्रे गर्नु स्वाभाविक भए पनि अब ढलान गर्नुपर्ने इन्जिनियर बताउँछन्। कंक्रिट सडक निर्माण गर्दा स्वदेशी कच्चा पदार्थ प्रयोग हुने भएकाले सरकारी निकायले पनि सोच्नुपर्ने बेला आएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन्। ‘अब कंक्रिट सडक बनाउनुपर्छ,’ थापाले भने, ‘कालोपत्रेभन्दा कंक्रिट सडक टिकाउ पनि हुन्छ।’

कंक्रिटको सडक बनाउन सके आन्तरिक उत्पादन स्वदेशमा नै प्रयोग हुने र पैसा विदेश जान रोकिने बताए। ‘कंक्रिट सडकको आयु ३० वर्ष हुन्छ,’ उनले भने, ‘सुरुमा धेरै लगानी भए पनि मर्मत खर्च हुँदैन। मुलुकलाई फाइदा हुन्छ।’ व्यापार घाटा कम गर्न पनि सघाउ पुग्ने उनले बताए।

थापाका अनुसार ६४ वटा सिमेन्ट उद्योग छन्। सिमेन्ट उत्पादन क्षमता १८ लाख टन क्षमता पुगेको छ। क्लिंकर १२ लाख टन क्षमता छ। आर्थिक वर्ष २०७८/७९ मा सिमेन्ट उद्योगको क्षमता २५ लाख टन पुग्ने भएकाले सिमेन्टको खपत बढाउन ढकाल आवश्यक भएको बताए। ‘उत्पादन क्षमताको आधा मात्र प्रयोग भएको छ,’ थापाले भने।

मुलुक सिमेन्टमा आत्मनिर्भर भएर निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ। उत्पादन क्षमताका आधारमा खपत नभएर उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। सडक ढलान गर्ने हो भने स्वदेशमा नै उत्पादन भएको सिमेन्ट प्रयोग हुने थापाले बताए।

मुलुकमा ३४ हजार ३ सय ४७ किलोमिटर सडक रहेको छ। १५ हजार २ सय ५४ किलोमिटर कालोपत्रे सडक, १५ हजार २ सय ५४ किलोमिटर खण्डास्मिथ, ९ हजार २ सय ५१ किलोमिटर कच्ची सडक रहेको छ। स्थानीय स्तरमा ६१ हजार ३ सय ९५ किलोमिटर सडक रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

प्रकाशित: १८ चैत्र २०७७ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App