coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उदयपुर र खोटाङ जोड्ने धाब्लाङ पुल अलपत्र

३ वर्षमा १५ प्रतिशत काम

उदयपुर–खोटाङ सीमा जोड्ने धाब्लाङमा निर्माणाधीन पुलस्थल । तस्बिरः महेश्वर

उदयपुर र खोटाङ जोड्ने त्रियुगा नगरपालिका १४ साउने धाब्लाङस्थित सुनकोसी नदीमा निर्माणाधीन पक्की मोटरेबल पुलको म्याद सकिन ३ महिना मात्र बाँकी हुँदा काम भने अलपत्र अवस्थामा छ। नेपाली सेनाको ‘एनए ०५७’ कल साईनको हेलिकोप्टर चढेर आएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ भदौ ३१ गते धुमधामका साथ सिल्यान्यास गरेको पुलको म्याद आउँदो असारमा सकिन लागे पनि काम भने निराशाजनक अवस्थामा छ।  

निर्माण थालेको पौने ३ वर्ष पुग्दा अहिलेसम्म पुलको काम १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन। ३ वर्ष बित्न लाग्दासम्म उत्साहजनक काम नभएपछि निरास उदयपुर र खोटाङे जनप्रतिनिधिले छिटो काम गर्न दबाब दिँदै पटकपटक प्रशासन, पुल सेक्टर कार्यालय, विभाग र मन्त्रालयसम्मको ध्यानाकर्षण गराईसकेका छन्। तर, उनीहरुको आग्रहलाई निर्माण कम्पनीले बेवास्ता गरेकाले ३ वर्षमा बनिसक्नुपर्ने पुल अझै ८–१० वर्ष लाग्ने चिन्ता स्थानीयलाई छ।  

सदरमुकाम त्रियुगाको साउने धाब्लाङ र खोटाङको दक्षिणी गाउँपालिका बाराहापोखरीलाई सोझो यातायातले जोड्ने उक्त पुल अत्यन्त महत्वपूर्ण नाका हो। तर, निर्माण कम्पनीले अत्यन्त लापरबाही गरेकाले काम धेरै ढिला भएको त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष कुरुङ राईको गुनासो छ। आफ्नो वडामा बन्दै गरेको पुलको काम ढिला भएको विषयमा पटकपटक जनताले प्रश्न उठाएपछि निर्माण कम्पनीलाई चाँडो काम सक्न आग्रह गर्दा चासो नदिएको उनी बताउँछन्।  

हालसम्म नदी वारि र पारि २ वटा पिल्लर ठड्याउने काम सकिएको पुलको बीचका २ वटा पिल्लर गाड्न बाँकी छ। पानीभित्र पिल्लर गाड्न वेल (इनार) प्रविधि अपनाउनु पर्ने हुनाले काम ढिला भएको निर्माण व्यवसायीलाई उद्धृत गर्दै पुलको रेखदेख गर्ने जिम्मा पाएको पुल सेक्टर नं. १ धरानका प्रमुख (डिई) कैलाश देवले बताए। काम छिटो गर्न पटकपटक ठेकेदारलाई पत्राचार गर्दै आएको तर, कहिले मेसिन बिग्रेको र कहिले अन्य बहाना गरेर ढिला गर्ने गरेको उनले बताए। १५ दिनअघि मात्र स्थलगत निरीक्षण गर्न जाँदा वेल पिल्लर बनाउने मेसिन बिग्रेको भन्दै केहीदिनभित्र काम सुचारु गर्ने कम्पनीले बताएको डिई देवले सुनाए।  

पुल बनाउने जिम्मा रसुवा–स्वच्छन्द–पप्पु जेवी काठमाडौंले पाएको छ। मूल्य अभिबृद्धि कर (भ्याट)सहित २५ करोड २५ लाख लागत हेको उक्त पुल ३ स्पामको बनाउने इस्टीमेट छ। नदी नियन्त्रण क्षमताको दायाँबायाँ ५ सय मिटर राखेर दुईवटा नदीबीचमा गाड्नुपर्ने कामलाई मुख्य चुनौति ठानेर ठेकेदारले ढिला गरेको डिई देवको भनाइ छ। अहिलेसम्म ३ करोड हाराहारी भुक्तानी लिईसकेको पुलको काम १५ प्रतिशत मात्र भएको र आउँदो असारमा म्याद सकिने भएकाले अझै कति समय लाग्छ भन्ने यकिन नभएको उनी बताउँछन्। चाँडो काम गर्न ठेकेदारलाई पटकपटक निर्देशन दिईसकेको बताउँदै डिई देवले ठेकेदारले पछिल्लो समय छिटो काम गर्ने प्रतिबद्धता जनाएको बताए।

पुल सम्पन्न भएपछि गाईघाटबाट खोटाङका दक्षिणी भेगका बिभिन्न स्थानीयतहहरु सडक यातायात सञ्जालसँग जोडिने छन्। गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गसँग साउनेमा जोडिएको ५ किलोमिटर कच्ची सडकले धाब्लाङलाई जोडिसकेको छ। प्रदेश सरकारमार्फत सो सडक ग्राबेल र स्तरोन्नति कार्य भईरहेकाले आउदो वर्षभित्र कालोपत्रे बनाउने योजनासहित निर्माण भईरहेको छ।  

उता खोटाङतर्फ बाराहपोखरी गाउँपालिकाको साउनेचौर हुदै धाब्लाङसम्मको कच्ची सडक यसअघि नै निर्माण भएर सञ्चालनमा आईसकेको स्थानीय मुकेश राईले बताए। उनका अनुसार पुल बनेपछि २ जिल्लाबासीलाई यातायात आउजाउमा धेरै सहज हुनुका साथै गाउँमा उत्पादित कृषि उपज बिक्री वितरण गर्न सजिलो हुने भएकाले स्थानीयको आयआर्जनमा टेवा पुग्नेछ। यसले दुवै जिल्लाबासीको आर्थिक र व्यापारिक गतिबिधि बढाउने अपेक्षा जनताको छ।  

पुल निर्माण समयमा भईनसक्दा उदयपुर र खोटाङ जिल्लाबासी जनता झोलुंगे पुल र डुंगा चढेर जोखिम यात्रा गर्न बाध्य भएको बाराहापोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले बताए। उनका अनुसार पुल निर्माण चाँडो गर्न सके उदयपुर हुँदै गाउँपालिका हुँदै सदरमुकाम दिक्तेलसम्मको आउजाउ यात्रा सहज हुनेछ। त्यसैगरी उक्त पुल बनेपछि खोटाङको ऐतिहासिक तथा पर्यटकीयस्थल बाराहापोखरीको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने अधिृकत वनले बताए। साथै बाराहापोखरी आसपासका छिमेकी गाउँपालिका र भोजपुरसम्म आउजाउ गर्न सो पुल मुख्य नाका सावित हुने वनको भनाइ छ।

प्रकाशित: १७ चैत्र २०७७ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App