२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

स्याउ खेती बिमामा किसानको आकर्षण

मौसममा आधारित स्याउ खेती बिमा गर्न कर्णालीका किसान हौसिएका छन्। मौसमका कारण स्याउमा हुने क्षतिपूर्ति पाउन थालेपछि किसान उत्साहित हुँदै स्याउ खेतीको बिमा गर्न थालेका हुन्।  

यो वर्ष कर्णालीका किसानले साढे २ करोड रूपैयाँ बराबरको बिमा रकम भुक्तानी पाएका छन्। खराब मौसमले गर्दा स्याउ फलेन। किसानले बिमा गरे। क्षतिपूर्ति स्वरूप बिमा रकम पाए। ‘स्याउ खेती बिमा सुरु भएपछि हामीलाई निकै फाइदा पुगेको छ,’ पातारासी गाउँपालिकाका स्याउ किसान अधिराज बिष्टले भने।

तत्कालीन कर्णालीका जुम्ला, कालिकोट र मुगुका १ हजार ३ सय ९१ किसानले २ करोड ५५ लाख रूपैयाँ क्षतिपूर्ति रकम पाएका छन्। प्रतिविरुवा ४२ रूपैयाँमा बिमा गरेका किसाले प्रतिविरुवा २ सय ७० रूपैयाँका दरले रकम प्राप्त गरेका हुन्।  

जुम्लाका ७ सय ४७ जना किसानले ४९ हजार विरुवाको बिमा गराएका थिए। प्रतिविरुवा २ सय ७० रूपैयाँका दरले १ करोड ३३ लाख बिमा रकम प्राप्त गरेको बताइएको छ। जिल्लामै सबैभन्दा बढी ७ सय विरुवाको बिमा पातारासीका किसान अधिराज विष्ट गराएका थिए। उनले १ लाख ८९ हजार भुक्तानी पाएका छन्।

असिना, पानीबाट हुने क्षतीबाट आजित भएका किसान वर्षेनी स्याउको बिमा गर्दै आएका छन्। बिमा कम्पन्नीले पनि गाउँगाउँमा पुगेर स्याउ खेती बिमा बारेमा किसानलाई जानकारी गराउँदै आएका छन्। स्याउ उत्पादनमा गिरावट आउँदा निराश बनेका किसान बिमा रकम पाउँदा भने खुसी भएका छन्।  

कर्णालीमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले स्याउ बिमा गरिरहेको छ। कालीकोट जिल्लाका ३ सय २६ जना किसानले २ हजार ६ सय विरुवाको मौसममा आधारित स्याउ बिमा गराएका थिए। यहाँका किसानले ७० लाख २० हजार क्षतिपूर्ति रकम भुक्तानी पाएको इन्स्योरेन्स कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले जानकारी दिए।

यस्तै मुगु जिल्लाका ३ सय १८ जना किसानले १ हजार ९ सय विरुवाको बिमा वापत ५१ लाख ३० हजार भुक्तानी पाएको उनले बताए। आगामी दिनमा साविक कर्णालीका पाँचै जिल्लाका गाउँगाँउमा बिमाको पहुँच विस्तार गर्ने लक्ष्य रहेको उनले बताए। स्याउ फल्ने बेला परेको असिनाले बढी क्षति भएको थियो। कोरोनाका कारण केही ढिला क्षतिपूर्ति वितरण गरिएको शिखर इन्स्योरेन्सका प्रदेश इन्चार्ज पाण्डेले बताए। 

प्रकाशित: १६ चैत्र २०७७ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App