१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटनमा ‘लक’ खुल्यो, व्यापार अझै ‘डाउन’

कोरोना संक्रमण रोक्न एक वर्षअघि लकडाउन सुरु भयो। लकडाउनअघि नै पर्यटन क्षेत्र ओरालो लाग्न थालिसकेको थियो। विभिन्न मुलुकले हवाई उडान रोक्दा विदेशी आउन छाडिसकेका थिए। लकडाउनपछि त विदेशी आगमन शून्यमै झर्‍यो। २०२० को मार्चपछि पर्यटन क्षेत्रले विदेशी पाहुनाको मुख देख्न पाएको छैन। झण्डै ६ महिना त कोही पनि विदेशी नेपाल भित्रिएनन्।

लामो समय ‘लक’ रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै त गयो, तर सोचेजस्तो व्यापार छैन। पर्यटनमा ‘लक’ (ताला) मात्र खुलेको, व्यापार अझै ‘डाउन’ (ओरालो) कै अवस्थामा रहेको व्यवसायी बताउँछन्। सानो आकारको आन्तरिक पाहुनाको भरमा व्यापार उकालो लाग्ने अवस्था नरहेको उनीहरू बताउँछन्।  

‘अहिले होटलको लक खुलेको छ,’ होटल बाराहीका महाप्रबन्धक राजकुमार केसीले भने, ‘व्यापार डाउन नै छ। आन्तरिक पाहुनाको भरमा व्यवसाय उकासिन सक्दैन।’ उनका अनुसार अहिले पोखराका चल्तीका होटलमा पनि ५–६ कोठाका दरले आन्तरिक पाहुना छन्।  आन्तरिक पाहुनाको चहलपहल हुन थालेको बेला कोरोनाको त्रास थपिएकोले सीमित आउजाउ पनि रोकिने सम्भावना बढ्दै गएको उनले बताए। 

कोरोनाको त्रास नथपिए यो बेला धेरै भारतीय पाहुना आउने व्यवसायीको अपेक्षा थियो। अब त्यो आस पनि व्यवसायीले मारिसकेका छन्। केसीले भने, ‘भारतमा कोरोनाको त्रास बढ्दै गएको छ। नेपाल–भारत नाका पनि खुलेको छैन। तत्काल भारतीय पाहुना आउने अवस्था देखिन्न।’अर्का व्यवसायी तथा टुकी रिसोर्टका सञ्चालक पुष्पराज चालिसेले पनि होटलको ढोकामा लागेको लक मात्र खुलेको व्यापार हुन नसकेको बताए। 

उनका अनुसार आन्तरिक पर्यटको चहलपहलले शुक्रबार र शनिबारको पोखरा केही फरक अवस्था देखिन थालेको थियो। कोरोनाको त्रास थपिँदै जाँदा त्यसमा पनि पूर्णबिराम लाग्ने हो कि भन्ने चिन्ता पलाएको उनले बताए। आन्तरिक पाहुनाले गर्दा पोखराका होटल सीमित कर्मचारीको भरमा चल्न थालेका थिए। होटलहरूले कम्तीमा २० प्रतिशत कामदारलाई काममा बोलाएका थिए।  

होटलको सञ्चालन खर्च धान्न कम्तीमा ५० प्रतिशत अकुपेन्सी हुनुपर्छ। नाफा कमाउन ५० प्रतिशतबाट उकालो लाग्नुपर्ने व्यवसायी बताउँछन्। पर्यटन व्यवसायी समेत रहेका समाजशास्त्री दिनेश प्रसाई पर्यटन उद्योग उकास्न भारतीय, चिनियाँ र अरू मुलुकका पाहुना आउनुपर्ने बताउँछन्। आन्तरिकको भरमा ढोका खोल्न सकिने र नाफा कमाउन विदेशी चाहिने उनले बताए।  

व्यवसायीका अनुसार आन्तरिक पाहुनाका कारण अहिले पोखराका होटलको अकुपेन्सी करिब १५ प्रतिशत हाराहारी छ। गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको आँकडा अनुसार लकडाउन अवधिमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रले दैनिक १४ करोड रूपैयाँको घाटा बेहोरेको थियो। असोजपछि आन्तरिक पाहुना आउन थालेर घाटा थोरै कम भएको प्रदेशका पर्यटनमन्त्री विकास लम्साल बताउँछन्। कोरोना खोपले पर्यटन क्षेत्रलाई चलायमान बनाउन खोजे जस्तो देखिए पनि ढुक्क हुने अवस्था नरहेको उनले बताए। 

प्रकाशित: १५ चैत्र २०७७ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App