१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

चाँगुनारायणमा मेयर उद्यमशीलता विकास योजना सुरु

देशभरकै नगरपालिकामध्ये भक्तपुरको चाँगुनारायणले मेयर उद्यमशीलता विकास योजना ल्याएको छ। योजना अन्तर्गत नगरपालिका क्षेत्रका स्थानीय युवालाई बिनाधितो, बिनाब्याज तीन लाख रूपैयाँसम्म ऋण दिने योजना छ।  

पहिलो चरणमा वडा नं १ देखि १० सम्मका तीन सय युवालाई ऋण दिने योजना रहेको नगरपालिकाले जनाएको छ। चाँगुनारायणका मेयर सोम मिश्रले बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले यो कार्यक्रम ल्याएको बताए। उनले यस्तो कार्यक्रम ल्याउने चाँगुनारायण देशकै पहिलो नगरपालिका रहेको दाबी पनि गरेका छन्। कार्यक्रम सफल हुँदै गए अर्काे आर्थिक वर्षमा कार्यक्रम विस्तार गर्दै थप नयाँ युवालाई ऋण दिने योजना रहेको उनले सुनाए।  

योजनाका लागि नगरपालिकाले निर्देशिका पनि तयार पारेको छ। नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका २०७७ र सहुलियतपूर्ण कर्जामा उद्यम, व्यवसायका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि २०७७ तयार पारिसकेको छ। योजना अनुसार ऋण लिन चाहने नगरपालिका क्षेत्रका युवालाई आह्वान पनि गरिसकेको छ। आह्वान अनुसार आवेदन दिने युवामध्ये तीन सयको छनोट पनि नगरपालिकाले गरिसकेको छ। छानिएका युवालाई तालिम पनि दिएको छ। तालिम सोमबार समापन भएको छ। युवाहरूमा कामको सम्भाव्यता, बजार व्यवस्थापन, अरू व्यापार व्यावसायबारे थप ज्ञान सिकाई व्यवसायी बन्न उत्प्रेरणा दिने हेतुले तालिमको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।  

ऋण नेपाल बैंकबाट दिइने नगरपालिकाले जनाएको छ। त्यसको लागि बैंकसँंग सम्झौता भइसकेको छ। कर्जाको ब्याज नगरपालिकाले तिरिदिने व्यवस्था मिलाइएको छ। ऋणमा जमानी पनि नगरपालिका बस्ने व्यवस्था छ। ऋण पाँच वर्षभित्र तिरिसक्नु पर्नेछ। कृषि तथा व्यापार व्यवासाय गर्नेका लागि यो व्यवस्था गरिएको हो। ऋण पाएकाले भक्तपुर जिल्ला केन्द्रित भएर काम गर्नुपनेछ।

योजनाका विशेषज्ञ सबिन लामिछानेले छानिएका युवालाई उद्यम कसरी गर्ने ? के गर्ने ? लगानी कति ? लगायत कुरा सिकाएको जनाए। तालिमको लागि नगरपालिकाले राष्ट्रिय युवा परिषद् र नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्दै आएको उनले बताए।  

तालिमका लागि एक हजार १२ जना युवाको आवेदन परेको थियो। अभिमुखीकरण कार्यक्रमबाट तीन सय ९० छानिएका थिए। छानिएकामध्ये तीन सयजनालाई उद्यमी बनाउने लक्ष्य नगरपालिकाको छ। कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएका, विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गर्दै उद्यमी बनाउन नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम सुरु गरेको जनाएको छ।

प्रकाशित: १० चैत्र २०७७ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App