१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रसुवागढी भन्सारमा लक्ष्यको २८ प्रतिशत

रसुवा भन्सार कार्यलय। तस्बिर: हिमनाथ/नागरिक

चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिक बितिसक्दा पनि रसुवागढी नाकाबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको छ। कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले पटकपटक नाका बन्द गर्दा र खुलेको बेला पनि थोरै मात्र सामान पठाउँदा राजस्व प्रभावित भएको हो।  

गत जेठदेखि चिनियाँ गाडीले सामान आयात गरिरहेका छन्। चिनियाँ गाडीले ल्याएको सामान नेपाली गाडीमा ल्याई भन्सार जाँचपास गरेर छोड्ने बाहेक अरू क्रियाकलाप अघि बढेको छैन। जसका कारण नेपाली व्यापारी समस्यामा परेका छन् भने रसुवा भन्सारको राजस्व संकलन लक्ष्य पनि प्रभावित भएको छ।  

रसुवा भन्सार कार्यालयले दोस्रो चौमासिकसम्ममा लक्ष्यको २८ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ। साउनदेखि फागुन मसान्तसम्ममा सात अर्ब ४८ करोड ५५ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा दुई अर्ब नौ करोड ६५ लाख मात्र संकलन भएको छ।  

चालु आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको राखेकोमा हालसम्म १८.५ प्रतिशत मात्र संकलन भएको कार्यालयले जनाएको छ। रसुवागढीबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको हो। कोभिड–१९ का कारण एक वर्षयता रसुवागढी नाकाबाट आयात घटेको छ।  

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ मसान्तसम्म रसुवा भन्सारले लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको छ। नाकाबाट न्यून सामान आउने र आएका पनि भन्सार छुट हुने खालका हुँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। ‘पहिले दिनमा सय भन्दा बढी गाडीमा सामान आउँथ्यो,’ उनले भने, ‘अहिले दैनिक सातवटा चिनियाँ गाडीले मात्र ल्याउँछन्।’  

गत जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भए तापनि आयात बढ्न सकेको छैन। चिनियाँ पक्षले केही दिनयता दैनिक सातवटा गाडीमा सामग्री ल्याएर नेपालतर्फ झारिदिने गरेका छन्। केही महिना पहिले रसुवा र जिलोङ काउन्टीका स्थानीय अधिकारीबीच भएको छलफलले दैनिक आठ गाडीमा सामान आउने सहमति भएको थियो।  

कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन पनि प्रभावित भएको हो। कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख, आव ०७३/७४ मा दुई अर्ब ९२ करोड १८ लाख, आव ०७४/७५ मा चार अर्ब ५९ करोड २३ लाख, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा आठ अर्ब २७ लाख राजस्व संकलन गरेको थियो।  

चीनबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका र टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

प्रकाशित: ८ चैत्र २०७७ ०३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App