१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ल्हासाबाट सिधै रसुवागढीसम्म सामान आउन थाले

नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउन चिनियाँ पक्षले ल्हासाबाट रसुवागढी नाकासम्म सिधै सामान पठाउन थालेको छ। बीचमा भण्डारण गरेर राख्दा विभिन्न समस्या आएको भन्दै पछिल्लो समय नाकासम्मै पठाउन थालेका हुन्। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा सामानको ओभरस्टक हुन नदिन ल्हासाबाट सिधै रसुवागढी ल्याउन थालिएको चिनियाँ व्यापारीले बताएका छन्। केरुङमा भण्डारण गरेर राख्दा गोदाम शुल्क तिर्नुपर्ने, लोडअनलोड गर्नुपर्ने, गाडी भाडा बढी तिर्नुपर्ने, आयातमा बढी समय लाग्ने लगायत समस्या थियो।  

ल्हासाबाट सिधै आउन थालेपछि व्यापारीले अर्डर गरे बाहेकका सामान आउन छाडेको छ। पछिल्लो समय नेपाली व्यापारीले माग गरेका सामान मात्र आउन थालेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। यसअघि नेपाली व्यापारीले माग गरेभन्दा बढी सामान आउने र ती सामान केरुङमा रहेका गोदाममा भण्डारण गरेर राख्ने गरिएको थियो।  

पहिले केरुङसम्म नेपाली गाडी जाने र त्यहाँबाट सामान लोड गरेर आउने गरेकोमा अहिले छ्यासमिस सामान आउँदा समस्या भएको नेपाली व्यापारी बताउँछन्। चीनमा मनाइने बसन्त चाड सकिएसँगै चिनियाँ सामानको आयात बढेको रेग्मीको भनाइ छ। ‘अहिले दैनिक सातवटासम्म गाडीमा सामान आइरहेको छ,’ उनले भने, ‘यसले व्यापारीलाई केही राहत मिलेको छ।’

लामो समयसम्म नाकाबाट आयात बढ्न नसक्दा नेपाली व्यापारी समस्यामा परेका थिए। दैनिक पाँचवटा चिनियाँ गाडीमा सामान आउने र नेपाली व्यापारी तथा व्यवसायी केरुङसम्म जान नपाउँदा आयात प्रभावित हुँदै आएको थियो। कोभिड–१९ सुरु हुनुअगाडि चीनबाट दैनिक सयभन्दा बढी नेपाली कन्टेनरले सामान ल्याउँथे। गत जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भए पनि आयात बढ्न नसक्दा नेपाली व्यापारी समस्यामा परेका थिए। २०७१ मंसिरदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट हिउँ पर्ने समय, चीनतर्फ हुने निर्वाचन र ल्होसारको समयमा आयात निर्यात रोकिँदै आएको छ। कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन समेत प्रभावित हुँदै आएको छ।  

चीनबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामान, टेलिकमका सामग्री र फलफूल आयात हुन्छ। नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत निर्यात हुने गरेको छ। कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

प्रकाशित: ५ चैत्र २०७७ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App