coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

धरानमा ‘सेक्ष एभडेन्चर पार्क’

कोभिड–१९ ले एक वर्ष नेपालको पर्यटन क्षेत्रलाई ठप्प बनायो। यसबीच थुप्रै व्यवसायी पेसाबाट पलायन हुन बाध्य भए। अहिले अरू पेसा व्यवसाय चल्न थाले पनि पर्यटनमा उत्साह जगाउने गरी चहलपहल सुरु भएको छैन।

कोरोनाले थला परेको र पर्यटन गतिविधि शून्यप्रायः भएको यही समयमा धरान वडा नम्बर २० स्थित कालीमाटी भन्ने ठाउँमा भने करोडौं लगानीमा सेक्षको एभडेन्चर पार्क निर्माण भइरहेको छ। योजनाअनुसार नै काम अघि बढ्यो भने नयाँ वर्ष २०७८ वैशाख १ गते यो सेक्ष एडभेन्चर पार्कको पहिलो चरणको उद्घाटन हुनेछ। लामो समय ठप्प भएको पर्यटनलाई आशा जगाउने गरी धरानको पर्यटनसम्बद्ध संस्था सेक्ष ट्राभलिङका सञ्चालकद्वय वासुदेव बराल र एलिना मगरले पार्क निर्माण गरिरहेका हुन्।

धरान उपमहानगरपालिकाले वडा नम्बर २० लाई कृषि तथा पर्यटन गाउँ पनि घोषणा गरिसकेको छ। यही वडामा करोडौं लगानीमा एडभेन्चर पार्क बन्न थालेपछि स्थानीय एवं जनप्रतिनिधिले पनि विकास भित्रिने र पर्यटकको आगमन बढेर जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षा गरेका छन्। पार्कमा पहिलो चरणमा ५ करोड रूपैयाँको पर्यटकीय संरचना निर्माण भइरहेको छ। ‘पहिलो चरणमा ५ करोड रूपैयाँ लगानी छ। वैशाख १ गते निर्माण कार्य सकेर सुरुआत गर्ने लक्ष्य लिएका छौं,’ बराल भन्छन्।

पहिलो चरणमा पार्कमा स्काई साइकल, मिनी जिपलाइन, ह्याङगिङ ब्रिज र रेस्टुरेस्ट निर्माण हुनेछ। बीचमा खोल्सामा पनि भएकाले दुई डाँडामा दुवैतिर टावर राखेर स्काई साइकल चलाइनेछ। त्यसका लागि बीचमा डोरीको व्यवस्था हुनेछ। ओहोरदोहोर गर्दा ३ सय मिटर स्काई साइकलको दूरी हुनेछ भने एकैचोटि २ जनाले डोरीमा साइकल कुदाउन पनि सकिने बरालले बताए।

यस्तै, खोलामाथि नै २ सय मिटरको मिनी जिपलाइन पनि निर्माण हुनेछ। ह्याङगिङ ब्रिज र रेस्टुरेस्ट पनि तयार गरेपछि पार्क सञ्चालन हुने बरालले बताए। ‘पार्क सुरु भएको ४ महिनापछि ग्लास ब्रिज (सिसाको पुल) पनि बनाउने योजना छ। यो पुल २ सय फिट लामो र ६ फुट चौडा हुनेछ,’ उनले भने, ‘त्यसको उचाइ ५० फिट जति हुनेछ। पुलमा जतिसुकै मान्छेको लोड भए पनि फुट्दैन।’

ग्लास ब्रिज बनेको एक वर्षपछि इन्डोर चिल्ड्रेन पार्क बनाउने योजना छ भने त्यसको एक वर्षपछि जंगल रिसोर्ट बन्नेछ। त्यहाँ १६ वटा कोठा भएको रिसोर्ट हुनेछ। रिसोर्टबाट धरानको दृश्यावलोकन गर्न सकिन्छ। साथै, हरेक बिहान पाहुनालाई जंगल हुँदै चिन्डेडाँडा, टोड्केस्थित भ्युटावर हुँदै पुनः पार्कसम्म आइपुग्ने आधा घण्टाको ट्र्याक पनि बनाइने बरालले बताए। दोस्रो चरणको निर्माण कार्य सकिँदासम्म १० करोड रूपैयाँ लगानी हुने अनुमान छ।  

पार्कका लागि २ बिघा जग्गा सेक्षले खरिद गरेको छ भने सामुदायिक वन र उपमहानगरपालिकाबाट थप डेढ बिघा जग्गा उपलब्ध भएको छ। उक्त डेढ बिघा जग्गामा भौतिक संरचना निर्माण नगरी घेराबारा गरेर वृक्षरोपण गरी संरक्षण गर्ने व्यवसायीद्वयको भनाइ छ। सेक्षकी प्रबन्ध निर्देशक एलिना मगरले धरान–२० पर्यटनको हबको रूपमा विकास हुँदै गएकाले लगानी गरेको बताइन्। उनले कोभिडको त्रास बिस्तारै कम हुँदै गएकाले मानिसहरू घुमफिर गर्न चाहिरहेको कारण नयाँपन हुने गरी पर्यटनमा लगानी गर्नसके सुरक्षित हुने उनले बताइन्। ‘लकडाउनले गुम्सिएर बसेका मानिस बाहिर निस्कन चाहिरहेका छन्, उनीहरूलाई मनोरञ्जन हुने र आकर्षित गर्ने गरी लागनी गर्न सकियो भने व्यवसायीको लगानी पनि सुरक्षित हुनेछ,’ उनले भनिन्।

धरान–२० का अध्यक्ष मणिराम राई आफ्नो वडामा कृषि र पर्यटनको प्रचुर सम्भावना भएको बताउँछन्। सेक्ष एडभेन्चर पार्कले स्थानीयलाई रोजगारी साथै जीविकोपार्जनमा पनि टेवा पुग्ने उनले बताए। ‘यहाँ कृषि र पर्यटनको धेरै सम्भावना छ। नगरले पनि कृषि र पर्यटन गाउँ घोषणा गरेकाले लगानी भित्र्याउन सके स्थानीयलाई पनि धेरै फाइदा पुग्छ,’ अध्यक्ष राईले भने, ‘यहाँ होमस्टे छ, प्याराग्लाइडिङ पनि हुन्छ। प्रसिद्ध धार्मिकस्थल विष्णुपादुका, सुलिकोट, सिद्धपोखरी पनि यही छ।’

प्रकाशित: ४ चैत्र २०७७ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App