१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

घोराही उपमहानगरको कोरोना खर्च झन्डै तीन करोड

क्वारेन्टिन व्यवस्थापनका नाममा झुटो प्रतिवेदन तयार पारेको घोराही उपमहानगरपालिकाले कोरोना रोकथामका लागि झन्डै ३ करोड रकम खर्च गरेको प्रतिवेदन तयार पारेको छ। प्राप्त सूचनाअनुसार उसले नेपालमा कोरोना संक्रमण सुरु भएदेखि क्वारेन्टिन र आइसोलेसन कायम रहँदासम्म २ करोड ८० लाख ७० हजार ८ सय ३७ रूपैयाँ खर्च गरेको जनाएको छ।

उसको प्रतिवेदनअनुसार आव २०७६/७७ अन्तर्गत २०७६ चैतदेखि २०७७ असार मसान्तसम्मको कुल खर्च २ करोड ४७ लाख ८९ हजार २ सय ९ रूपैयाँ खर्च भएको जनाएको छ। उसले यो अवधिमा सबैभन्दा बढी औषधि सामग्री, स्वास्थ्य उपकरण खरिद र शव व्यवस्थापनमा ५१ लाख ६० हजार ९ सय ७६ रूपैयाँ खर्च भएको जनाएको छ। यो रकमले मास्क ग्लोब, स्यानिटाइजर, पिपिई तथा स्यानिटाइजिङ वस्तु खरिद, थर्मल गन, आरडिटी, किट, पिसिआर परीक्षणका लागि आवश्यक सामग्रीलगायत स्वास्थ्य सामग्री तथा उपकरण खरिद गरेको जनाएको छ। यसैगरी यही रकम खर्चमा दुईजनाको शव व्यवस्थापन पनि गरिएको उल्लेख गरिएको छ। यो अवधिमा दाङमा कोरोनाका कारण दुईजनाको मृत्यु भएको थियो।

यसैगरी अस्पताल निर्माण तथा व्यवस्थापन शीर्षकमा १७ लाख ८० हजार रूपैयाँ खर्च भएको उपमहानगरले जनाएको छ। यसअन्तर्गत यो उपमहानगरले कोरोना विशेष अस्पताल निर्माण गरेको जनाएको छ भने भइरहेका अस्पतालको व्यवस्थापन सुधार वा संरचनाको मर्मतसम्भार गरिएको उल्लेख छ। प्रयोगशाला निर्माण वा स्तरोन्नतिका लागि ५ लाख ५४ हजार ५ सय ९० रूपैयाँ खर्च भएको जनाइएको छ। क्वारेन्टिन निर्माण, क्वारेन्टिनमा प्रयोग हुने सामग्री खरिदमा २२ लाख ३४ हजार १ सय ३९ रूपैयाँ खर्च भएको उल्लेख छ। क्वारेन्टिनमा बस्नेको खाना खर्च शीर्षकमा ४ लाख ४२ हजार ४ सय ६ रूपैयाँ खर्च भएको जनाइएको छ। जबकि यो उपमहानगरले कुनै पनि क्वारेन्टिनमा खाना व्यवस्थापन गरेको थिएन। यसैगरी क्वारेन्टिन व्यवस्थापनका नाममा तौलिया, टुथपेस्ट, चप्पल तथा पलङ खरिद गरिएको भनेर यो उपमहानगरले झुटो प्रतिवेदन तयार पारेको छ।

आइसोलेसन निर्माण वा तयारी तथा आइसोलेसन व्यवस्थापन शीर्षकमा १५ लाख ५५ हजार १ सय ४४ रूपैयाँ खर्च भएको जनाएको यो उपमहानगरले आइसोलेसन खाना खर्चमा १६ लाख ४० हजार ४ सय २१ रूपैयाँ खर्च गरेको जनाएको छ। क्वारेन्टिन वा आइसोलेसनमा बसेकाहरूको औषधि खर्चमा २० हजार २ सय १२ रूपैयाँ खर्च गरेको जनाएको उपमहानगरले १८ लाख २० हजार ७ सय ४७ रूपैयाँको राहत वितरण गरिएको जनाएको छ। यसैगरी कोरोना रोकथाममा खटिएकाहरूको जोखिम भत्ताबापत ८५ लाख १७ हजार ३ सय ५६ रूपैयाँ खर्च भएको जनाएको उपमहानगरले ९ लाख ८१ हजार २ सय रूपैयाँ यातायातमा खर्च भएको जनाएको छ। यीबाहेक यो उपमहानगरले आव २०७६/७७ मा ८२ हजार १९ रूपैयाँ अन्य शीर्षक राखेर खर्च भएको उल्लेख गरेको छ।

यो उपमहानगरले आव २०७७/७८ अन्तर्गत २०७७ साउनदेखि कात्तिकसम्म ३२ लाख ८१ हजार ६ सय २८ रूपैयाँ खर्च गरेको आफ्नो खर्च विवरणमा उल्लेख गरेको छ। यो अवधिमा अस्पताल निर्माण तथा व्यवस्थापन शीर्षकमा ७ लाख ८० हजार, क्वारेन्टिन निर्माण तथा क्वारेन्टिनमा बसेकाको खाना खर्चबापत ३ लाख ३८ हजार ९ सय ४ रूपैयाँ खर्च भएको जनाइएको छ। आइसोलेसन निर्माण वा तयारी तथा व्यवस्थापनका लागि १ लाख ७५ हजार ५ सय ९७ रूपैयाँ खर्च भएको जनाएको उपमहानगरले आइसोलेसनमा बसेकाहरूको खाना खर्चबापत १९ लाख ५७ हजार १ सय २७ रूपैयाँ खर्च भएको जनाएको छ। यातायात खर्चबापत ३० हजार रूपैयाँ खर्च भएको उपमहानगरले जनाएको छ।

दुई आवअन्तर्गत २०७६ चैतदेखि २०७७ कात्तिकसम्म २ करोड ८० लाख रूपैयाँ कोरोना रोकथामका लागि खर्च गरेको जनाएको उपमहानगरले यो खर्च अस्वाभाविक नभएको बताउँछ। उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले भने, ‘बाहिर बसेर हेर्नेहरूलाई जे लागे पनि उपमहानगरले गरेको खर्च अस्वाभाविक हुँदै होइन, काम गर्दाखेरि काम गर्नेहरूलाई मात्र वास्तविकता थाहा हुन्छ।’

प्रकाशित: २८ फाल्गुन २०७७ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App