२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

वित्तीय संस्थाको कर्जा लगानी जिडिपी नजिक

पछिल्लो साता वाणिज्य बैंकहरूले २६ अर्ब रूपैयाँ अर्ब लगानी गरेपछि कुल कर्जा लगानी ३३ खर्ब ८८ अर्ब रूपैयाँ पुगेको छ। बुधबार नेपाल बैंकर्स संघले प्रकाशित गरेको विवरण अनुसार फागुन १४–२१ सम्म २७ वाणिज्य बैंकहरूले १३ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २६ अर्ब रूपैयाँ लगानी गर्न सफल भए।

बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीलाई विस्तार गर्दै गएपछि कर्जा लगानी देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) को हाराहारीमा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको जिडिपी ३७ खर्ब ६७ अर्ब रूपैयाँ थियो। तर केही दिनअघि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार जिडिपीको आकार ४० खर्ब रूपैयाँ नजिक पुगेको छ।  

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्यबाहेक अन्य विकास बैंक तथा वित्तीय संस्थाले करिब साढे चार खर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्। वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाले गरेको सबै लगानी जोड्ने भने कुल कर्जा जिडिपीको आकारभन्दा थोरै कम हुन आउँछ।  

कोरोना महामारीका कारण आर्थिक वृद्धिदर कम भएको अवस्थामा बैंकहरूले कर्जा लगानी भने आक्रामक रूपमा बढाएका छन्। जसले गर्दा कर्जा लगानी निरन्तर बढिरहेको हो। फागुन लागेयता निक्षेपको तुलनामा कर्जा लगानी दोब्बरले भएको छ। फागुनमा वाणिज्य बैंकहरूले ३६ अर्ब रूपैयाँ निक्षेप संकलन गर्दा ७० अर्ब रूपैयाँ कर्जा लगानी गरे। कर्जा लगानी बढ्दै जाँदा आर्थिक गतिविधि वृद्धि हुन सघाउने धेरैको भनाइ छ।  

कोरोना महामारीका कारण गत वर्षको आर्थिक वृद्धि दुई प्रतिशतले ऋणात्मक छ। ऋणात्मक हुन पुगेको आर्थिक गतिविधि बढाउन आर्थिक क्रियाकलाप बढाउन आवश्यक हुन्छ। आर्थिक क्रियाकलाप वृद्धिका लागि उत्पादनमूलक र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी आवश्यक पर्छ। पछिल्लो समयमा कर्जा लगानी वृद्धि गर्दै गएका वित्तीय संस्थाले यतिखेर कुन क्षेत्रमा त्यस्तो लगानी वृद्धि गरेका छन् भन्ने यकिन भने हुन सकेको छैन।  

तैपनि केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत प्राथमिकता क्षेत्रमा जाने कर्जालाई २५ बाट ४० प्रतिशत पु¥याएका कारण कर्जा लगानी उत्पादनमूलक क्षेत्रमा गएको अुनमान गरिएको छ। राष्ट्र बैंकले कृषि, पर्यटन, जलिविद्युत् जस्ता क्षेत्रमा लगानी गर्न प्राथमिकता तोकेको छ। तर कतिपय बैंकर भने यतिखेर केही बैंकले उत्पादनमूलक क्षेत्रभन्दा सेयर कर्जामा बढी लगानी गरेका छन्।  

अहिलेको अवस्थामा जतिसक्दो बढी उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट विस्तारै कर्जाको माग बढ्दै जाँदा अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढेको बताउँछन्। कर्जा लगानी उत्पादनमूलक क्षेत्रमा जाँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ।

बैंकर्स संघका अनुसार फागुन २१ सम्म २७ वाणिज्य बैंकहरूले ३८ खर्ब २३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन्। बैंक तथा वित्तीय संस्थाले लगानीलाई तीव्र पार्दै लिएपछि विस्तारै तरलता अभाव हुने सम्भावना देखिएको बैंकरहरू बताउँछन्।  

‘केन्द्रीय बैंकले कोरोना प्रभावित व्यवसायीलाई पुनर्कर्जा दिने व्यवस्था नमिलाएको भए यतिखेरसम्म तरलता अभाव भइसक्ने थियो,’ उनले नागरिकसँग भने, ‘पुनर्कर्जाको व्यवस्थाले एकातिर तरलता अभाव हुन पाएको छैन भने अर्कोतर्फ व्यवसायीलाई सस्तो दरमा कर्जा पाउन सहज भइरहेको छ।’  

यतिखेर बैंक तथा वित्तीय संस्थासँग करिब ६० अर्ब रूपैयाँ तरलता रहेको बताइन्छ। पछिल्लो तीन साताकै गतिमा लगानी हुने हो भने अर्को महिनासम्म तरलता बाँकी नरहने बैंकरहरू बताउँछन्।  

राष्ट्र बैंकका प्रवक्ता भट्ट हालसम्म ८५ अर्ब रूपैयाँ पुनर्कर्जामा गइसकेको बताउँछन्। चालु आर्थिक वर्षमा पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब रूपैयाँको पाँच गुणासम्म पुनर्कर्जा दिने लक्ष्य राखिएको छ।  

पुनर्कर्जाको व्यवस्थाले कोरोना प्रभावित व्यवसायीलाई सस्तो ब्याजमा लगानी जुटाउन सहज भइरहेको बताइन्छ। राष्ट्र बैंकले एक प्रतिशत ब्याजमा बैंक तथा वित्तीय संस्थालाई उपलब्ध हुने पुनर्कर्जा व्यवसायीले तीनदेखि पाँच प्रतिशत ब्याजमा प्राप्त गर्छन्।

प्रकाशित: २७ फाल्गुन २०७७ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App